मेरो चरित्रहत्या गर्न खोजियो : मन्त्री कुर्मराज शाही

मेरो चरित्रहत्या गर्न खोजियो : मन्त्री कुर्मराज शाही

कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूले कसैलाई पनि यौन दुर्व्यवहार नगरेको बताउनु भएको छ । मन्त्री शाहीले आज पत्रकार सम्मेलन गर्दै आफूलाई षड्यन्त्रपूर्वक उक्त विषय जोडेर बदनामको प्रयास गरिएको उल्लेख गर्नुभएको हो ।

सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पारिएको मन्त्रीले यौन दुर्व्यवहार गरेको भनिएको भिडियोलाई उहाँले प्रविधिको दुरुपयोग गरेर सुनियोजित तवरले फैलाइएको हल्ला हो भन्नुभएको छ, ‘दोषी भए कारबाही भोग्न तयार छु । तर, अनावश्यक ढंगले मेरो हुर्मत लिने प्रयास भएको छ ।

उहाँले आफूमाथि राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले पछिल्ला हल्ला र हर्कत गरिएको आरोप लगाउनुभएको छ । यति ठूलो र गम्भिर आरोप लगाईएको उल्लेख गर्दै उहाँले आफूलाई मन्त्री पद प्यारो नभएको र दोषी देखिए तत्काल राजीनामा दिन तयार रहेकाले सामाजिक सञ्जालमा फैलाइएको भिडियोको ल्याब टेष्ट गर्न आग्रह गर्नुभएको छ ।

उहाँको भनाई छ, ‘पीडित भनिएकी महिलाले समेत आफूमाथि यौन दुव्र्यवहार नभएको पटक पटक बताइ सक्नुभएको छ । तर, मेरो चरित्रहत्या गर्ने उद्देश्यले राजनीतिक रुपमा यी सबै गतिविधि भइरहेका छन् ।’

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि आफूमाथि पटक पटक राजनीतिक हमला भएको तर केही नलागेपछि बिरोधीहरु चरित्र हत्यामा लागेको उहाँले निश्कर्ष निकाल्नुभएको छ ।

उहाँले केही सञ्चारमाध्यमले नियोजित ढंगले गलत समाचार लेखेर विषयलाई उछालेको र आफूले कुनै पनि सञ्चारकर्मीलाई धम्की नदिएको समेत पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

टिप्पणीहरू