​मन्त्रालय छाड्दै बोका काट्दै

मन्त्रालयमा मन्त्री नहुँदा कर्मचारीको रजाइँ कसरी चल्छ भन्ने कुरा सिञ्चाई, स्वास्थ्य र उद्योगतिर हेरे पुग्छ । साउन लागेकै छैन, सहसचिवहरु बोलबमतिर निस्किएका छन् । केही विभागीय प्रमुख भ्रमण, अनुगमन, निरीक्षणजस्ता नाममा असार मसान्तअघि बजेट सिध्याउने दौडाहामा छन् ।

सिञ्चाई सचिव रामानन्द यादव, सहसचिव दानध्वज बस्नेत, जलउत्पन्न प्रकोप महानिर्देशक मधुकर राजभण्डारी, सिञ्चाई विभागका महानिर्देशक राजेन्द्र अधिकारी हुन्, धार्मिक भ्रमणको नाममा निस्किएका । यो टोली शुरुमा जुरेको पहिरो र भूकम्पले क्षतिग्रस्त तातोपानी गयो । नाका निरीक्षणको नाममा त्यहाँ गए पनि त्यस्तो कुनै क्षेत्राधिकार उनीहरुलाई प्राप्त छैन । न त मन्त्रालय वा विभागको केही कार्यक्रम नै थियो । तातोपानीबाट दोलखा पुगे । भीमसेन मन्दिर परिक्रमा गरिवरी बोका पनि काट्न भ्याए । वास्तवमा घुम्नु नै हो र कामै गर्छु भन्ने हो भने यो मध्यवर्षामा सिञ्चाईका हाकिमको लागि कुकुरले खाइनभ्याउने काम छन् । 

किनभने, मन्त्रालयमातहतका कार्यक्रम सुस्त गतिमा चलेका छन् । राष्ट्रिय गौरवको आयोजना भनिएको कैलालीस्थित रानीजमरा सिञ्चाई आयोजना, बाँकेको सिक्टाजस्ता आयोजना प्रयोजनहीन छन् । किसानहरुले सिञ्चाई नपाएर धान रोप्न सकिरहेका छैनन् । आयोजनाले १० प्रतिशत पनि लक्ष्य पूरा गर्न नसक्नुको कारण हो, मन्त्रीको दबाब र सचिवको लोभअनुसार आयोजना प्रमुख पठाइनु । मन्त्रीले बिगारे भनौँ भने अहिले मन्त्री नभएको बेला सचिव, सहसचिवहरु के गरिरहेका छन् भन्ने हेरे पुग्छ । सिक्टा आयोजना प्रमुखमा सहसचिवको दरबन्दी हो । तर, मन्त्री र सचिवले उपसचिव रमेश बस्नेतलाई कामु दिएर चलाएका छन् । उतिबेला मन्त्रीलाई कारक देखाउने सचिवले अहिले मन्त्री नभएको बेला एउटा सहसचिव पठाए केही बिगिँ्रदैन थियो । तर, यी बस्नेत पहिला रानीजमरा आयोजनामा असफल भइसकेका । त्यहाँ पनि सहसचिवकै दरबन्दीमा निमित्त चलाएका । सुनसरी–मोरङ सिञ्चाई आयोजनामा पनि यस्तै पावर लगाएर बसेका । 

उता, निवर्तमान सिञ्चाई मन्त्री दीपक गिरीको निर्देशनमा दाङमा ६७ करोडको काम भयो । तर, अहिलेसम्म भुक्तानी पुगेको छैन । त्यहाँका हाकिम केदार श्रेष्ठले उतिबेला मन्त्रीलाई ठिक्क पार्न कसैको कुरा नसुनी काम गरे, गराए । तर, अहिले रकम निकासा नहुँदा रुवाबासी गर्दैछन् । ताकेताका लागि काठमाडौं आए । हाकिमहरुलाई भने । ‘त्यसबेला मन्त्रीको जीहजुरी गर्दैमा ठीक भयो । हाम्रा कुरा सुनेनौ । अहिले नगर, यताबाट बजेट निकासा गर्न सकिँदैन भन्दा म रिस्क लिन्छु भन्ने’ भन्दै उनी दिनहुँ सहसचिवहरुको गाली खाँदै फर्किरहेका छन् । रकम निकासाका लागि अर्थमा कागजात पुगेको छ । अर्थबाट सम्बन्धित मन्त्रालय र मन्त्रालयमार्फत सम्बन्धित जिल्लाको कोलेनिका हुँदै जिल्लास्थित कार्यालयमा रकम पुग्नुपर्छ । तर, अर्थले आइतबार घाम लाग्यो भनेर, सोमबार पानी प¥यो भनेर टारिरहेको छ । अर्थात् नियतै नदिने बनाएर फाइल अड्काइरहेको बताइन्छ । 

उता अहिलेसम्म स्थिर रहेको पानीको बहाव थोरैमात्र बढ्यो भने फेरि पनि दार्चुला सदरमुकाम जलमग्न हुने खतरा छ । यो सूचना सिंहदरबारलाई छ पनि । तर, साउनको बोलबम असारमै लाग्ने हाकिम भएपछि रोकथामको उपाय निस्कियोस् कसरी ?

यस्तै हालत छ, उद्योगमा पनि । सचिव, सहसचिवहरु काठमाडौंमा छैनन् । भर्खरै बिनियोजित बजेट निकासा, योजना र कार्यान्वयनका कुरामा लाग्नुपर्नेसँगै असार मसान्तअगावै पुरानो हिसाब राफसाफ पार्न छाडेर हाकिमहरु घुम्न हिँड्दा मन्त्रालय अस्तव्यस्त छ । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.राजेन्द्र पन्तदेखि सबैजसो महाशाखाका प्रमुखहरु पनि काठमाडौं बाहिरै छन् । सहसचिव सनत केसी, कप्रका प्रमुख बलदेव गौतम पनि मन्त्री नभएको मौका छोप्दै जिल्लातिर घुम्न गएका छन् । अर्थबाट पनि चारवटा टोली विदेश जाने तरखरमा छ ।

टिप्पणीहरू