१ नम्बर प्रदेशको सरकार पनि ढल्ने निश्चित « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

१ नम्बर प्रदेशको सरकार पनि ढल्ने निश्चित

प्रकाशित मिति :  १६ भाद्र २०७८, बुधबार १९:००


-आशिका लम्साल

नेकपा एमाले त्यागेर १० जना सांसदले बुधबार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेपछि भर्खरै नियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य प्रत्यक्ष रुपले अल्पमतमा पर्नुभएको छ ।

अर्को कुनै चमत्कार भए मात्र उहाँले आगामी एक महिनाभित्र विश्वासको मत पाउनु हुनेछ । प्रदेश १ मा बहुमतमा रहेको एमालेको बहुमत सरकारको सांसद संख्या ५१ बाट स्वतः ४१ मा झरेको छ । मुख्यमन्त्री आचार्यलाई बहुमतका लागि ४७ जना सांसदको बहुमत चाहिन्छ ।

नेपाली काँग्रेस,माओवादी,एकीकृत समाजवादी,जनता समाजवादी, लोकतान्त्रिक मञ्च कसैले पनि साथ नदिने बताइसकेका र गठबन्धनको सरकार बनाउने सहमति भइसकेकाले आचार्य नेतृत्वको सरकार अब छिट्टै ढल्ने निश्चित भएको हो ।

आज एमाले त्यागेर भोजपुरका राजेन्द्र राई,खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु, मोरङकी कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे,सावित्री रेग्मी, पाँचथरका गणेश काङबाङ, उदयपुरकी सुनिताकुमारी चौधरी, संखुवासभाका सरिता थापा र पदमकुमारी गुरुङ एकसाथ विराटनगरस्थित निर्वाचन कार्यालय पुगेर दिउँसो सनाखत गर्नुभएको हो ।

प्रदेश १ मा अब एमालेको ४१, काँग्रेसको २१, माओवादी केन्द्रको १५, एकीकृत समाजवादीको १०, जनता समाजवादीको ३, संघीय लोकतान्त्रिक मञ्चको १ र राप्रपाको १ सांसद भएका छन् ।

पहिले नेपाल समूहमा रहेर पछि मध्यमार्गी धारमा रहनुभएका भीम आचार्य निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुनुभएको हो । यसअघि उहाँ २०७४ माघ २६ गते एमाले संसदीय दलको निर्वाचनमा २ मतले शेरधनबाट पराजित भएपछि मुख्यमन्त्री हुनबाट बञ्चित हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !