गालीमै पाइने मायालु गुनासो

गालीमै पाइने मायालु गुनासो

‘हामीलाई किन गाली गर्नुभएको ?’ साँझ परेपछि घनश्याम भुषालले फोनमा यस्तो गुनासो गर्दा माधवले हाँसीहाँसी जवाफ दिनुभयो, ‘तपाईंहरुले गर्न हुने, मैले नहुने ?’ यसरी घनश्यामको मन दुखेको र माधवको हाँसो छुटेको प्रसंग थियो, भदौ १३ गते आइतबार पेशागत महासंघ ललितपुरले आयोजना गरेको कार्यक्रममा बोलिएका कुरा । माधवले पार्टी विभाजनको काम अहिले अलग हुने दोस्रो तहका नेताहरुबाटै शुरु भएको बताउनुभएको थियो, ‘पार्टी फुटाउन विधान बनाएका र नयाँ पार्टीसमेत दर्ता गरिसकेका दोस्रो तहका नेताहरु केपी ओलीजस्तो बेइमानसँग जाँदा अचम्म लागेको छ ।’

उहाँले थप्नुभयो, ‘मलाई धकेलेर अगाडि बढ भन्नेहरू नै पछाडि हेर्छु त कोही छैनन् !’ एकता प्रयास जारी राख्ने नाममा माधव नेपालद्वारा गठित एकीकृत समाजवादीमा सहभागी नभएका एमाले उपमहासचिव घनश्याम भुषाललाई लागेछ, माधवले गाली गर्नुभयो । तर, माधवले ‘गाली हैन, गुनासो हो । यत्ति गुनासो त मलाई पनि गर्ने मौका दिनुस् न !’ भनेपछि घनश्याम आफैँ हाँस्न थाल्नुभयो ।

यसपछि ‘बूढालाई सम्झाउनुप¥यो’ भन्नका लागि घनश्यामको फोन गयो, बेदुराम भुषाललाई । तर, व्यस्तताका कारण बेदुरामको फोन उठेन । घनश्यामहरुले आफू निकटस्थ कार्यकर्तासँग भन्नुभएको छ, माधवले प्राविधिक कुरा मात्रै उठाउनुभयो । जस्तो कि, ‘केपीले ठाउँ दिएनन्, घर न घाटको बनाए !’ माधव कमरेडले ती कुरा पनि राजनीतिक रुपमा उठाउनुपथ्र्यो । तर, अझै पनि त्यस्तो गर्नुभएको छैन ।’

त्यसखेमामा जारी चर्चाअनुसार, ‘केपी ओलीबाट विधिको शासन चलेन । त्यो भनेको जवजविरोधी काम हो । ओलीले विधि उल्लंघन गर्नुभयो, अर्थात् जवज प्रतिकूलका गतिविधिमा उहाँ तल्लिन हुनुभयो भनेर जानुपथ्र्यो ।’ केपीका कारण नेपाली जनताले ७० वर्ष लामो संघर्षबाट हासिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, त्यही जगमा हासिल भएको संविधान, त्यसका आधारमा निर्मित संघीय संसद र ०७४ मा प्राप्त दुई तिहाई नजिकको जनमत पनि गुम्ने स्थिति भयो भन्ने कुरा राखेर अघि बढ्नुपथ्र्यो ।

पार्टी, सहयोद्धाभन्दा आसेपासेलाई बोक्ने कारण उहाँ वामपन्थी रहनुभएन भन्ने कुरा उठाउन उहाँ चुक्नुभएको बताइन्छ । ‘एमाले आज पनि क्रान्तिकारी पार्टी हो । तर, केपीको विचार–सिद्धान्तमा त्यो रहेन । उहाँबाहेकको एमाले हुनुपर्छ । अहिले केन्द्रीय कमिटीले जोसुकैलाई अध्यक्ष चुनोस्, तर केपीबाहेक हुनुपर्छ भनेर उहाँ अगाडि जानुपर्ने राय माधवलाई कसैले दिए हुन्थ्यो भन्दैछ घनश्यामको टोली । यी सबै कुरा गरेर, ‘यदि त्यसो नहुने हो भने अलग दलको विकल्प छैन । हामी त्यही कारण विद्रोहमा सामेल भएका हाैँ’ भन्नेमा कुरा लैजानुपथ्र्यो । तर, ‘केपीले ठाउँ दिएनन्, कुर्सी छाड्नुभन्दा भाँचिदिन्छु भन्नुभयो’ जस्ता एउटै रटान लगाइरहँदा साथमा भएका मान्छे पनि दिक्दार हुने चिन्ता ती नेताले व्यक्त गरेका छन् ।

हुन पनि नेकपाकालमा केपी ओली कति हठपूर्वक चल्नुभयो भने, सचिवालयका ९ मध्ये ३ एकातिर हुँदा पनि पार्टीले भनेको केही नमान्ने ! वामपन्थी हैन, रामपन्थी भएर अगाडि बढ्ने । हुँदाहुँदा गत हप्ता पत्नी राधिका शाक्यको जन्मदिनमा ‘म भाग्यमानी’ भन्दै नाच्नुभयो । प्रश्न उठेको छ, ‘कम्युनिष्ट नेताले भाग्यवादी कुरा गर्न मिल्छ र ?’

अर्कातिर, माधवबाट अलग भएका ‘मध्यपन्थी’ ले ‘फुटाउनु गल्ती हो’ भन्ने कुरालाई सूत्र बनाएका छन् । उनीहरुले ‘अन्तर्विरोध हुँदैमा फुट्नुहुँदैन’ भन्ने आधारमा एकता खोजिरहेका छन् । तर, त्यो अन्तर्विरोध मित्रतापूर्ण थियो कि शत्रुतापूर्ण ? यो कोणबाट चर्चा चलेको छैन ।

मध्यपन्थमा लागेका दोस्रो पुस्ताका नेताहरु अहिले दुई किसिमले बाँडिएका छन् । रघु पन्त, घनश्याम भुषालहरु मौनप्रायः छन् । उनीहरु सहकर्मी र कार्यकर्ताको खासै सम्पर्कमा आएका छैनन् । भीम रावल अन्तर्वार्ता र भाषणमा माधवको चर्कै आलोचक बनेका छन् । सुरेन्द्र पाण्डे र योगेश भट्टराईहरु चाहिँ जिल्ला–जिल्लामा फोन गर्दै ‘अहिले उता नलाग्नु है’ भनेर आफ्नो उपस्थिति जनाइरहेका छन् । सुरेन्द्रले आफ्नै निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य भएका कृष्ण खनाललाई पनि जोगाउन सकेनन् । उनले १२ भाइ प्रदेशसभा सदस्यसहित हिजैदेखि एकीकृत समाजवादी रोजिसकेका छन् ।

टिप्पणीहरू