रोल्पामा देखिएका रमिता

  • उमा केसी

परिदृश्य : १

देशभर प्रमुख प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेले रोल्पामा भने मित्रताको हात बढाएका छन् । माडी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा गोपाल घर्ती र उपाध्यक्ष पदमा एमालेका प्रेम घर्तीको उम्मेदवारी परेको छ । सो गाउँपालिकामा माओवादी केन्द्रले नन्दबहादुर पुनलाई अध्यक्षमा उठाएको छ ।

परिदृश्य : २

केही दिनअघि पार्टी परित्याग गरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरीले नेकपा मालेको चुनाव चिह्न हँसिया तारा चिह्नअन्तर्गत त्रिवेणी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । उच्च माविको प्राचार्यबाट राजीनामा दिई माओवादी सशस्त्र युद्धमा सहभागी भएका गिरीले गाउँपालिकाको उम्मेदवार हुन पार्टीमा पटक–पटक कुरा राख्दासमेत पूर्वलडाकु गंगाप्रसाद घर्तीलाई टिकट दिइएपछि असन्तुष्ट बनेका हुन् । गिरीसँग कांग्रेसका कमल बुढा, एमालेका शान्तकुमार ओली र माओवादी केन्द्रका गंगाप्रसाद घर्तीले प्रतिस्पर्धा गर्ने छन् ।

परिदृश्य : ३

कहिले शून्य मतदान त कहिले सतप्रतिशत भोट एउटै पार्टीलाई दिने गरेको थवाङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार अमित घर्तीले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसकी श्रीकुमारी रोकाको उम्मेदवारी परेको छ । नेकपा रोल्पाका जिल्ला सचिव दलबहादुर खत्रीले आइतबार प्रेस विज्ञप्तिमार्फत दलाल संसदीय व्यवस्थामा उम्मेदवारी दर्ता गर्ने पनि दलाल नै भएकाले आफ्नो पार्टीको संलग्नता र चासो नभएको स्पष्ट पारेका छन् । 

कांग्रेस रोल्पाका सभापति अमरसिं पुनले भने थवाङी जनतासँग कांग्रेसले सहकार्य गरी स्थानीय युवा अमित घर्तीलाई अध्यक्षमा सहयोग गरी आफ्नो पार्टीले उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । विप्लव नेतृत्वको पकड क्षेत्र मानिने थवाङमा एमालेले हितबहादुर रोकालाई उठाएको छ भने माओवादी केन्द्रबाट वीरबहादुर घर्तीले उम्मेदवारी दिएका छन् ।

परिदृश्य : ४

जिल्लाको एक मात्र नगरपालिकामा समेत माओवादी केन्द्रका नेता खड्कबहादुर सिंहले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी जनयुद्धमा लामो समय बिताएका सिंह तत्कालीन गाविस उपाध्यक्ष हुन् । सिंहसँगै कांग्रेसवाट पूर्वसांसद लेखनाथ आचार्य, एमालेबाट मीना शर्मा र माओवादी केन्द्रबाट पूर्णबहादुर केसीले प्रतिस्पर्धा गर्ने भएका छन् । मुख्य राजनीतिक दलले महिला उम्मेदवारलाई उपाध्यक्ष मात्रै दिएकोमा नगरपालिकामा भने एमालेले प्रमुख पदमै महिला उम्मेदवार उठाएको हो । 

थबाङ गाउँपालिकामा २ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी थवाङ गाउँपालिका–३ बाट रामकुमारी कामी र वडा नं.४ वाट माया विक निर्विरोध भएका हुन् ।

टिप्पणीहरू