कोसँग मिल्ने, कसलाई निल्ने

स्थानीय तह निर्वाचन २०७४ को पछिल्लो मतपरिणाम आएको ३० दिनभित्र गरिने जिल्ला समन्वय समिति निर्वाचनका विषयमा ललितपुरमा कांग्रेस एकल र अरू सबै मिल्दा बराबर हुने अवस्था छ । सभापतिको आकांक्षासहित उम्मेदवारी दिएका हस्तीहरू वडामै पत्तासाफ भएपछि राप्रपाबाट माओवादी हुँदै कांग्रेस प्रवेश गरेका अम्मरबहादुर खड्काको सम्भावना बलियो भएको छ । सहसचिव सरहको तलब सुविधा पाइने, गाडी तथा पिए सुविधासहित भएको र अन्तर तह समन्वयबाहेक खासै काम गर्नु नपर्ने जिल्ला समन्वय समितिको मतपरिणाम थोरै यताउता पार्न सके वामपन्थीहरूबीच तालमेल गर्न सकिने सम्भावनाउपर पनि छलफल भएको बुझिएको छ । 

ललितपुरको स्थानीय तह निर्माणदेखि एमाले एकातिर र बाँकी सबै दल एकातिर भएर विभिन्न अभियान अगाडि बढेका छन् । माओवादी केन्द्रका धेरै नेताले आफ्नो सहयोगमा कांग्रेसले हरेक अभियान जिते पनि उसबाट केही फिर्ता नपाएकाले जिल्ला समन्वय समितिमा एमालेलाई सघाउनुपर्ने तर्क अघि सारेका छन् । यसरी एमाले र माओवादी केन्द्र मिल्दा ६÷६ बराबर हुन्छ । माओवादी नेता पम्फा भुसाल र राजकाजी महर्जन हाबी रहेको ललितपुरमा तत्कालीन वैद्य समूहमा रहेका यिनै दुई नेताको कारण ०७० को निर्वाचनमा कांग्रेसलाई जिताइएको थियो । उनीहरूले स्थानीय तह निर्वाचनमा पनि ललितपुरबाट चिरिबाबु महर्जनलाई मेयरमा जिताउन ठूलै योगदान गरेका छन् । त्यसबापत जिल्ला समन्वय समितिको सभापति पाउने आश्वासनअनुसार माओवादीले पुराना नेता ठक्कर शर्मालाई उम्मेदवार बनाएको पनि हो । शर्माको पराजयपछि कांग्रेसले अरूलाई सभापति मान्न नमान्दा उपसभापति र सदस्यहरू लिएर गठबन्धन गर्नसक्ने सम्भावना रहेको कांग्रेस नेताले बताएका छन् । 

एमालेले एकल उम्मेदवारी दिँदा वा मिलेर जाँदा पूर्वजिविस सदस्य गम्भीर राणालाई उठाउने सम्भावना छ । माओवादी केन्द्रले सघाए निश्चित जित्ने एमाले उम्मेदवारहरू बताउँछन् । यो निर्वाचनमा वर्षमान पुनः अनन्तका विश्वासपात्र मानिने कोन्ज्योस्योमका प्रमुख गोपी सिङतान र उपप्रमुख मिङ्मा लामा नै निर्णायक मानिएका छन् । 

टिप्पणीहरू