छाताको कुरा

राजपाले चुनाव लडे पनि छाता चिह्नचाहिँ नपाउने भएको छ । वास्तवमा राजपाले चुनावै लड्न नचाहेको चाहिँ होइन । तर, छाता चिह्न नपाइने भएकाले जाँगर मर्दै गएको हो । चुनावमा आए पनि छाता चिह्नचाहिँ नदिने भनिएकोमा राजपा आक्रोशित बनेको छ । आफूलाई जाबो एउटा चुनाव चिह्न त नदिने यो राज्यले छुट्टै मधेस प्रदेश झन् के देला र ? यसैमा राजपालाई झनै रिस उठेको छ ।

राजपाका एक विशिष्ट नेताज्यूसँग यसबारे कुरा भएको थियो । उहाँले भन्नुभयो, ‘अब यो राज्यप्रति हाम्रो कुनै विश्वास रहेन । हामीलाई जाबो एउटा छातासम्म पनि दिएन ।’

छाता नपाएकोमा उहाँ आक्रोशित हुनुहुन्थ्यो । अझै भन्नुभयो, ‘वर्षाको मौसम छ, छाता त चाहिन्छ नै । अब आफ्नो देशको राज्यले छाता नदिएपछि विदेशबाट भए पनि छाता त ल्याउनैप¥यो । आफू छाता नदिने, अनि हामीलाई विदेशी छाता ओढेर हिँडेको आरोप लगाउने ?’
‘हो नि, तपाईंहरूलाई भारतीय छाताभित्र बस्न गएको आरोप छ । साँच्चै तपाईंहरू भारतीय छाताभित्रै हुनुहुन्छ ?’ मैले प्रश्न गरेँ ।

‘आफ्नो देशले छाता नदिएपछि अर्काको छातामा बस्न परेन ? चुपचाप पानीमा रुझेर बस्ने ?’ नेताज्यूले उत्तरको सट्टा पुनः प्रश्नको वर्षा गर्नुभयो । 

टिप्पणीहरू