सडक छ सवारी चल्दैन, यात्रु पैदल हिंडेरै आउजाउ

सडक छ सवारी चल्दैन, यात्रु पैदल हिंडेरै आउजाउ

सडक छ, गाडि चल्दैन । यात्रुहरु जोखिम मोलेर पैदल हिड्न बाध्य छन् । यो कथा धेरै टाढाको नभएर काठमाडौँसँगै जोडिएको जिल्ला काभ्रेपलाञ्चोकको कोशिपारी क्षेत्र अन्तर्गत अरनिको कोशीपूर्व सडकको हो ।

यो सडक वि.सं. २०५० साल वैशाख १ गतेदेखि खन्न शुरु गरिएको हो । दोललघाटबाट सडक छिचोल्न शुरु गरेको २८ वर्ष पूरा भैसक्दा पनि अहिलेसम्म स्तरोन्नती हुन् नसक्दा गाडी गुड्ने अवस्था बनेको छैन । अहिले कोशीपारी भुम्लु र चौरीदेउराली गाउँपालिकाका सबै वडाहरुमा सडक सन्जालले जोडेको त छ, तर ति सडकहरुमा गाडि भने गुड्दैनन् । हिउँदको समयमा धुलाम्य र वर्षादको समयमा हिलाम्य हुने समस्याको कारण त्यस भेगका बासिन्दा र यात्रु आजित भैसकेका छन् । दोललघाटबाट सल्ले, चौवाससम्म एउटै सडक र त्यसपछि दुति नाग्रे, माझिफेदा, मादन कुँडारी, रामेछापको शैलुङ, डोरखानी, गुराँसेलगायतका ठाउँसम्म पुग्ने अलग–अलग सडक खनिएका छन् । तर, एउटै पनि गाडी गुड्न लायक छैनन् ।

(धुलाम्मे सडक)

भुम्लु गाउँपलिकाको कोलातीदेखि चौरी-देउराली गाउँपालिकाको पोखरीचौरीको अरनिको माध्यमिक विद्यालयसम्मको २६ किलोमिटर सडक केही समय पहिला कालोपत्रे भएको छ । सोही सडक हुँदै हिउँदको समयमा रामेछापको गुँरासेसम्म दैनिक यात्रुवाहक बस चल्ने गरेको पनि वर्षाको समयमा भने चौरी देउरालीको पालिका भवनसम्म जाने गरेको स्थानीय बताउछन् ।

काभ्रे जिल्लाको साविकको ९९ गाविसमध्ये १७ गाविस अहिलेको चौरी-देउराली र भुम्लु गाउँपालिका कोशीपारी क्षेत्रमा पर्छ । बत्तीमुनिको अध्यरो भनेझैं त्यो क्षेत्र अहिले पनि विकासोन्मुख अवस्थमा छ । बल्लतल्ल सडक बनेपनि मापदण्ड अनुसार छेउ कुनामा पानीको नाली नबन्दा सामान्य वर्षामा समेत गाडी गुड्न सक्दैन । सडकको माटो बगाएर खाल्डा–खुल्डी पर्ने र ठाउँ–ठाउँमा भत्किने हुँदा सवारी संचालनमा समस्या हुने गरेको छ । त्यस्तै, हिउँदको समयमा धुलाम्मे सडकको धुलोले मानिसको रुप नै चिन्न नसक्ने अवस्था हुने गरेको यात्रुहरुको गुनासो छ ।

(साँगुराे सडक)

विकासका पूर्वधारबाट वञ्चित त्यस क्षेत्रलाई तत्कालीन श्रम राज्यमन्त्री गोविन्दनाथ उप्रेतीले सडकको सञ्जालमा जोडन शुरु गरेका थिए । त्यसयता झण्डै तीन दशक समय बितिसक्दा पनि छ अहिलेसम्म भुम्लुटार गाउँपालिकाको पिपलटारसम्म ९ किमी बाहेक अरु बाटोको स्तरोन्नती हुन सकेको छैन । पिपलटारदेखि माथि सल्ले, भुम्लु, चौवास हुँदै लौरे देउराली, बाङथली नाग्रे दुतिसम्मको बाटोमा त एक्लै हिंड्नसमेत डरलाग्दो अवस्था छ । सडक खाल्डा–खुल्डी र हिलाम्मे छ भने दायाँ बायाँ मसिनो बोटविरुवाहरुले ढाकेको छ । झट्ट हेर्दा ग्रामिण सडक जस्तोसम्म पनि नदेखिने अवस्था भए पनि सम्बन्धित निकायले चासो नदेखाएको चौरी देउराली गाउँपलिका वडा नम्वर १ का वडासदस्य चन्द्र तितुङ बताउछन् । गाउँ-गाउँमा सिंहदरवार पुगेको कुरा धेरै सुनिए पनि गाउँको बन जिल्लाको मातहतमा रहेको र साँगस्वतीदेखि बाङथलीसम्मको बाटो मर्मतमा बन विभागले अवरोधको गरेको कारण भने जस्तो सडक बन्न नसकेको उनको गुनासो छ ।राजधानी नजिकैको सडकको यो दुर्दशा ठूला राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायत सरोकारवालाहरुले नदेखेका भने होईनन्। तर त्यस क्षेत्रको सडक स्तरोन्नती उनीहरुको प्राथमिकतामा परेको छैन । त्यस क्षेत्रबाट निर्वाचित भएर धेरै नेताहरु राज्यको माथिल्लो निकायमा पुगे तर कसैले पनि दिर्घकालीन विकासमा ध्यान दिन सकेनन् । काभ्रे कोशीपूर्वको सडक त्यो अवस्था हुँदासम्म संघीय र प्रदेश सांसदहरु मुकदर्शक बनेका छन् । विकट भनिने ठाउँहरुमा पक्की सडक बनिसक्दा राजधानीसंगै जोडिएको जिल्लाको सडकको स्तरोन्नती हुन नसक्नुमा को जिम्मेवार ? चासो र चिन्ताको विषय बनेको छ ।

(हिलाम्मे सडक)

कोशीपारीका दुई गाउँपलिकाबाट निर्वाचित जनप्रतिनिधि गुमानध्वज कुँवर, दिननाथ गौतम र त्यस भेगबाट प्रतिनिधित्व गर्ने सांसदले सम्बन्धित निकायलाई खबरदारी गर्दै कोशीपारीलाई विकासको अनुभूति दिलाउने पहल गर्न ढिला भैसकेको छ । हिउँदको धुलो र वर्षादको हिलोबाट मुक्त बनाएर १२ महिना सवारी संचालन गर्न मिल्ने गरी सडकको स्तरोन्नती हुनु त्यहाँका जनताको पहिलो आवश्यकता बनेको छ ।

पक्की सडक भए स्थानीय उत्पादन बजारसम्म सजिलै पुग्ने हुँदा त्यस भेगका जनताको जीवनस्तर उठाउन मद्धत पुग्ने रेडियो क्रान्तिका संचालक क्रान्ति लामा बताउछन् । कोशीपारीको विकासका लागि सडक नै पहिलो पूर्वाधार भएकोले सम्बन्धित निकायले चासो दिनुपर्ने उनको भनाई छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आकषर्णको केन्द्र बन्न सक्ने कोशिपारीको सडकको ट्रयाग खनिएको तीसौं वर्ष पुग्न लाग्दासमेत सम्बन्धित निकाय मौन रहनु दु:खद भएको बताउंदै अखिल नेपाल यातयात मजदुर संघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपक केसी हरेक वर्षको वजेट बालुवामा पानी भैरहेको बताउछन् । कोशीपारीको बाटोको लागि त्यस क्षेत्रका सांसदहरुले चासो नदिएको उनको गुनासो छ ।

बर्षौ बित्दासम्म बाटोको स्तरोन्नती नहुनुमा स्थानिय जनप्रतिनिधिको पनि लापरवाही रहेको उनको भनाई छ । बजेटअनुसार काम भए-नभएको अनुगमन गर्ने निकाय नहुँदा आर्थिक अनियमिता समेत हुने गरेको स्थानीयहरु बताउने गर्छन् । सम्बन्धित निकायले छानविन गरेर बजेटअनुसार गुणस्तरिय सडक बनाउनुपर्नेमा उनीहरुको जोड छ ।

टिप्पणीहरू