सभामुखलाई सेक्न कानुनी सुर

सभामुखलाई सेक्न कानुनी सुर

हठात चालु संसद् अन्त्य र दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध मुख्य विपक्षी दल नेकपा एमालेले आगामी दिनमा आक्रामक हुने छाँटकाँट देखिएको छ ।

आगामी दिनमा संसद् शुरु हुनासाथ एमालेले सभामुखको तटस्थतामाथि प्रश्न उठाउने र सभामुख अग्नि सापकोटाले मुख्य विपक्षी दलको चित्त बुझाउन नसके संसद् अवरुद्ध गर्ने तयारी एमालेको छ ।

एमालेले सभामुखको पछिल्लो कदमविरुद्ध सदन, सडक र न्यायिक तीनै मोर्चाबाट प्रतिवाद गर्ने जनाएको छ । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले यसै साता सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जाने जानकारी दिएका छन् ।

यससँगै एमाले विभाजनको घटना अब राजनीतिकबाट कानुनी अध्यायतर्फ अगाडि बढ्ने भएको छ । पछिल्लो संसद् विघटनको पक्षमा बहस गरेका अधिवक्ता टीकाबहादुर कुँवरले रिटको ड्राफ्ट तयार भइरहेको जानकारी दिए ।

उनका अनुसार सकेसम्म यसै साता सर्वोच्च जाने तयारी छ । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलको नेतृत्वमा रिटका विविध विषयउपर छलफल भइरहेको बुझिएको छ ।

टिप्पणीहरू