आज काँग्रेसको कतै धर्ना,कतै पत्रकार सम्मेलन

आज काँग्रेसको कतै धर्ना,कतै पत्रकार सम्मेलन

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअगावै बाँडिएको क्रियाशील सदस्यतामा अनियमितता भएको आरोप लगाउँदै आएको रौतहट काँग्रेसले आज पनि पार्टी कार्यालयमा धर्ना जारी राखेको छ । बिहान ९ बजेदेखि शुरु भएको उक्त कार्यक्रम साँझ ५ बजेसम्म हुनेछ ।

आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारीको घोषणा गरेका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले १४ औं महाधिवेशनको सन्दर्भमा पत्रकार भेटघाट गर्न लागेको भन्दै दिउँसो साढे २ बजे युनियन हाउस, अनामनगरमा कार्यक्रम राखेको बताइएको छ ।

यता अनेरास्ववियु (क्रान्तिकारी) कोटेश्वर बहुमुखी क्याम्पस, कमिटीले दशौं क्याम्पस सम्मेलन गरिरहेको छ । कोटेश्वर बहुमुखी क्याम्पस, जडिबुटीमा उक्त कार्यक्रम भएको हो ।

नेपाली काँग्रेस नागार्जुन नगरपालिका ९ नं. वडा कार्य समितिले महाधिवेशन तयारीको लागि छलफल गरेको छ । परिकार पार्टी प्यालेस (सालिक चोक नजिक) मा बिहान ८ बजेदेखि छलफल भएको बताइएको छ ।

उता नेपाल वायुसेवा निगमका तीन वटा कर्मचारी युनियनले गर्दै आएको धर्ना कार्यक्रम आज पनि जारी छ । निगमको केन्द्रीय कार्यालय प्राङ्गणमा बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म धर्ना र नाराबाजी हुने जानकारी दिइएको छ ।

आज संसदको दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक डाकिएको छ । दिगो विकासको ११ बजे र विधायन व्यवस्थापनको साढे ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बैठक डाकिएको हो ।

नेपाल ल क्याम्पसको डिनको कार्यालयमा विभिन्न विद्यार्थी संगठनले र समाजवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति,रेक्टर र रजिस्ट्रारको कार्यालयमा गरेको तालाबन्दीलाई आज पनि जारी राखेका छन् ।

टिप्पणीहरू