मन्त्रीको राजीनामापछि मुख्यमन्त्री शाक्य अप्ठेरोमा

मन्त्रीको राजीनामापछि मुख्यमन्त्री शाक्य अप्ठेरोमा

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले आज बिहान पदबाट राजीनामा दिनुभएको छ । मन्त्रीको राजीनामापछि एमाले संस्थापन पक्ष र मुख्यमन्त्री शाक्य निकै अप्ठेरोमा पर्नुभएको अड्कल लगाइएको छ ।

हिजो बागमती प्रदेशका एमाले सभासद्मध्ये १२ जनाले नेकपा एकीकृत समाजवादी रोज्दै सनाखत गरेको र लगत्तै आफ्नै क्याबिनेटका सामाजिक विकासमन्त्री खनालको राजीनामाले शाक्यलाई अप्ठेरोमा धकेलेको हो । भदौ २ गते मुख्यमन्त्री बन्नुभएका शाक्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था उत्पन्न भएको छ । एमालेका सांसदमध्ये स्पष्टसँग १२ जनाले आफ्नो रोडम्याप तयार गरेकाले उहाँले विश्वासको मत पाउने सम्भावना लगभग बन्द भएको छ ।

खनाल हालै दर्ता भएको माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । राजीनामाबारे स्पष्ट पार्दै खनालले भन्नुभयो,‘मैले अर्कै दल रोजेकाले मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ ।’

खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफूले एमालेको नेपाल समूह नछाड्ने पूर्वजानकारी नै गराउनुभएको बताइन्छ । खनालको राजीनामा र एक दर्जन सांसदले एमाले छाडेको अवस्थामा नयाँ सरकार गठनको चर्चा हुन थालेको छ । संघीय सरकारमा गठबन्धनको राजनीति अघि बढेको सन्दर्भमा बाग्मती प्रदेशको नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता तथा प्रदेश सभासद राजेन्द्र पाण्डेको सम्भावना सबैभन्दा धेरै देखिएको हो ।

प्रदेशको १ सय ९ सदस्यीय सभामा एमालेका ५६ जना सदस्यमध्ये १२ जनाले एकीकृत समाजवादी रोजेपछि ४४ जनामा सीमित भएको छ । सरकार गठनको निम्ति ५५ जना आवश्यक पर्छ । सभामा नेपाली काँग्रेसका २२ र माओवादी केन्द्रका २३ जना सांसद छन् । त्यसमा एकीकृत समाजवादीको १२ जोड्दा ५६ जना पुग्नेछ ।

टिप्पणीहरू