नेपाली एअरबस उडाउने क्याप्टेन नै ‘ग्राउण्डेड’

नेपाली एअरबस उडाउने क्याप्टेन नै ‘ग्राउण्डेड’

-द्रव्य शाह

मुलुकको ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजहरू ग्राउण्डेड हुने गरेका समाचार त्यति नौला होइनन् । सानादेखि ठूला विमानहरू प्रायः प्राविधिक कारण देखाउँदै ग्राउण्डेड हुने गरेका छन् । तर यसपटक निगमका एअरबस उडाउने दुई जना क्याप्टेनलाई भने तोकिएको उचाईमा विमान नउडाएका कारण १० दिन ‘ग्राउण्डेड’ अर्थात् विमान उडानमा रोक लगाइएको छ ।

क्याप्टेन भावना गिरी पन्त र क्याप्टेन अरविन्दराज पहारी अघिल्लो साता नयाँ दिल्ली जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाज ल्याण्ड गर्ने बेला तोकिएको उचाईको पालना नगरेपछि कारबाहीमा परेका हुन् । स्रोतका अनुसार उनीहरूले जहाजलाई निर्धारित स्थानदेखि नै तोकिएको उचाईमा झार्दै रन वेसम्म लैजानुपर्नेमा विमानस्थल नजिकै पुगेपछि मात्र एक्कासी तल ओरालेका थिए ।

उक्त कार्य अन्तर्राष्ट्रिय हवाई उडान सुरक्षा विपरित भएको देखिएपछि इन्दिरा गान्धी विमानस्थलको एअर ट्राफिक कन्ट्रोलरले तत्काल विमानलाई ‘ओभरसुट’ गर्न निर्देशन दिएको थियो । सम्भवतः त्यो दिन विमानलाई पाइलटहरूको योजनाबमोजिम नै ल्याण्ड गर्न दिइएको भए रन वेमा विमान तोकिएको दूरीभन्दा टाढा पुगेर ठूलो दुर्घटना हुने सम्भावना पनि हुन्थ्यो भनिएको छ ।

त्यसैले एक्कासी विमानलाई ओभरसुट गरेर माथिल्लो उचाईमा लैजान त्यहाँको एअर ट्राफिक कन्ट्रोलरले निर्देशन दिएको बताइन्छ । रनवे नजिकै आइपुगिसकेको विमानलाई तत्काल आकाशतिर लैजानुलाई ओभरसुट भनिन्छ । ओभरसुटका कारण पन्त र पहारीले विमानलाई नयाँ दिल्लीको आकाशमा एक फन्को लगाएर पुनः निर्देशनबमोजिम सुरक्षित ल्याण्ड गर्नु परेको थियो ।

उनीहरूलाई त्यस दिन नयाँ दिल्लीमा हवाई उडान सुरक्षा विपरित कार्य गरेको भन्दै भदौ ४ गतेदेखि जहाज उडाउन प्रतिबन्ध लगाइएको थियो । तर १० दिनपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न शर्तसहित उडान भर्न अनुमति दिएको छ ।

प्राधिकरण स्रोतका अनुसार उनीहरूमध्ये क्याप्टेन भावनाले अब ५ वटा सेक्टरको उडान प्रशिक्षक पाइलटको प्रत्यक्ष सुपरीवेक्षणमा मात्र गर्नुपर्नेछ । त्यसपछि मात्र उनीमाथिको पछिल्लो कारबाही फुकुवा हुने भनिएको छ ।

त्यसैगरी अरबिन्दले पनि आगामी ५ वटा सेक्टरको उडान प्रशिक्षक पाइलट वा लाइन ट्रेनिङ क्याप्टेनको मातहत र प्रत्यक्ष सुुपरीवेक्षणमा मात्र गर्नुपर्ने भन्दै प्राधिकरणले उनलाई दिएको रिलिज लेटरमा स्पष्टसँग लेखेको छ ।

के भएको थियो नयाँ दिल्लीको आकाशमा ?

काठमाडौंबाट नयाँ दिल्लीको लागि उडेको निगमको न्यारो बडी विमान तोकिएको हवाई रुट हुँदै त्यहाँको विमानस्थल क्षेत्रको आकाशमा पुगेको थियो । विमान २६ सय फिटको उचाईमा पुगेपछि दिल्ली टावरले अवतरणको लागि अनुमति दिएको पाइलटहरूले समेत बताएका छन् । उनीहरूले उडानपछि पेश गरेको रिपोर्टमा सबै विवरण उल्लेख भएको प्राधिकरण स्रोतले बताएको छ ।

तर,७ माइल टाढाबाट अवतरणको लागि अप्रोच लिँदै गर्दा २६ सय फिटको उचाईको विमान विमानस्थलबाट मुश्किलले साढे २ माइलसम्म आइपुग्दा पनि त्यत्ति नै उचाईमा थियो । २ माइलको दूरीमा त्यो सबै उचाई घटाएर विमान अवतरण गर्नु सुरक्षाको दृष्टिकोणले घातक भएपछि विमानलाई ओभरसुट गर्नु परेको पाइलट र दिल्ली टावरको भनाई रहेको बुझिएको छ ।

तर, टावर र पाइलटहरूबीच त्यसपछि काठमाडौंसम्मको उडानमा भएको कुराकानी ओभरराइट भएपछि प्रमाण फेला पार्न गाह्रो भएको छ । दिल्लीस्थित एअर ट्राफिक कन्ट्रोलर वा पाइलटमध्ये कसको गल्ति भन्ने कुनै पनि प्रमाण फेला नपरेपछि बाध्य भएर विमानको ब्ल्याक बक्समा रहेको डाटा र कुराकानीको विश्लेषण गरिएको बताइन्छ । निगमको प्रारम्भिक छानबिन प्रतिवेदनमा सोबारे उल्लेख गरिएको प्राधिकरण उच्च स्रोतले बताएको छ ।

स्रोतका अनुसार पाइलट दुबैले एअर ट्राफिक कन्ट्रोलरको निर्देशन प्राप्त नभएकाले आफूहरूले विमानलाई २६ सय फिटको उचाईमा उडाइरहनुपरेको जिकीर लिएका छन् । तर,नयाँ दिल्ली टावरले दिएको अनौपचारिक जानकारीअनुसार पाइलटहरूले साढे ७ माइल टाढाबाट विमानलाई अवतरणको निम्ति निर्देशन दिएपछि गर्नुपर्ने आवश्यक हवाई उडान मापदण्डको पालना नगरी एउटै उचाईमा विमान उडाएर विमानस्थल नजिकै ल्याएका हुन् ।

कस्ता हुन् पाइलट पन्त र पहारी ?

पाइलट भावना नेपालका तीन चार वटा आन्तरिक वायुसेवा कम्पनीमा काम गरेर तोकिएको उडान घण्टा पूरा गरेपछि क्याप्टेन बनेकी हुन् । उनी निगममा करार सेवामा छिन् ।

यसअघि गत फेब्रुुअरी २८ मा पनि उनले उडाएको निगमको विमान नयाँ दिल्ली विमानस्थलमा अवतरण गर्ने क्रममा यस्तै समस्या भएको बताइन्छ । त्यतिबेला पनि उनलाई स्पष्टीकरण सोधेर पछि चेतावनी दिइएको थियो । तर अहिले फेरि उही गल्ति दोहोरिएको छ ।

अहिले प्राधिकरणले उनलाई आगामी दिनमा सुरक्षित उडानसम्बन्धी तालिम प्रत्येक ६ महिनामा अनिवार्य रुपमा लिन निर्देशन दिएको छ । यस पटकको कमजोरीलाई अन्तिम मौका भन्दै प्राधिकरणले पन्तलाई गम्भीर रुपमा सचेत गराएको बुझिएको छ । प्राधिकरण स्रोतले भनेको छ, ‘अब गल्ति गर्ने छुट उनलाई छैन ।’

पहारी भने निगमको स्थायी पाइलट हुन् । उनले पनि तोकिएको मापदण्ड बराबरको उडान पूरा गरिसकेका छन् ।

टिप्पणीहरू