इखले तताउँछ भन्थे– हो रहेछ

भनिन्छ, ‘हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर आएको हुन्छ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौं, चिच्याउँछौं, ‘डिप्रेस’ हुन्छौं । तर, हाम्रैअगाडि रहेका अरू तीनवटा खुला ‘द्वार’ देख्दैनौं । एउटा हात नचलेकै कारण देखाएर बल्लतल्ल पाएको मास्टरीको जागिरबाट निकालिँदा संगीता पन्त झण्डै–झण्डै डिप्रेसनको शिकार भइन् । तर, आत्मबल गुमाइनन् । गाउँघरमा सुनेकी थिइन्, अग्रजबाट– ‘विष नभएको सर्प । इख नभएको मान्छे काम छैन ।’ जागिरबाट निकालिएपछि एकप्रकारको ‘इख’ थियो केही गरेरै देखाउने । दिमागमा तत्कालै क्लिक भयो ‘एउटा हात नचले नि, शरीर चल्छ, दिमाग चल्छ, मन चल्छ । त्यही जागिरबाट निकालिएको चोटले आज उनको जीवन कायापलट भएको छ । परिचय फेरिएको छ, देश–विदेशमा उद्यमी समाजसेवी महिलाको रूपमा । तर, संगीताले यो स्थानसम्म पुग्नका लागि गरेको संघर्ष । जिन्दगीमा खाएका हण्डर–ठक्कर बेहिसाब छ । 

सात वर्षकै उमेरको एउटा घटना जीवनभर बिझाइरहने दिन बन्न पुग्यो । बालापनमा खेल्दाखेल्दै लडिन् । शुरुमा बायाँ हात नराम्ररी दुख्यो । कुहिना फुटेको आशंकामा गोरखाको मिसन अस्पतालमा प्लास्टर त भयो । तर, कुठाउँमा परेछ । जोर्नी खुस्किएको प्लास्टर कुहिनामा गरियो । त्यसपछाडि हात चल्नै छाड्यो । डाक्टरबाट पार नलागेको उपचार धामीझाँक्री । वैद्यले कसरी पार लगाउन सक्थ्यो ? औषधिले काम नगरेपछि झारफुकले पनि छोएन । उपचारका लागि भौंतारिँदाभौंतारिँदै तीन महिनापछि वीर अस्पताल आउँदा मात्रै थाहा भयो– हातको जोर्नी नै खुस्किएको रहेछ । उपचार त भयो तर निको भएन । उपचारकै सिलसिलामा दिल्ली, पटनासम्म पुगिन । तर २० को १९ भएन । बायाँ हात झन् झन् सुक्दै गयो । एकातिर यो पीडा थियो त्योमाथि समाजको टोकसो । उनीहरू मायाको भावले होइन, दयाका भावले हेर्थे । माया । दया फरक चिज रहेछ । भन्थे– बिचरीलाई पूर्वजन्मको श्राप लागेछ । मुटु चिमोट्ने यस्ता बज्र धेरैपटक कानमा बर्सिए । यद्यपि, आफूलाई सम्हाल्दै अगाडि बढिन् । देब्रे हातको चाल रोकियो तर पढाइ रोकिएन । गाउँबाटै एसएलसी पास गरिन् ।

०५७ सालमा एसएलसी सकेर गोरखाबाट काठमाडौं आउँदा एउटै सपना थियो, ‘माष्टर बनेर गाउँ फर्किने । मनभरि यही सपना बोकेर काठमाडौं आइन् । दाजुभाउजूसँगै बस्न थालिन् । सरस्वती कलेजमा भर्ना भइन् । प्रमाणपत्र तह सकिएपछि जागिरको खोजीमा लागिन् । अनेक हण्डर । ठक्करबाट बसुन्धरास्थित एउटा बोर्डिङ स्कुलमा पढाउने काम पाइन् । त्यो बेला खुशीको सीमा थिएन तर उक्त खुशी १८ दिनबाट १९ दिन टिकेन । त्यहाँका प्रिन्सिपलले भूमिका बाँध्दै भनिन्, ‘बहिनी, तपाईं स्मार्ट हुनुहुन्छ, राम्रो पढाउनुहुन्छ । सबै ठीक छ । तर, हामीले निरन्तरता दिन सकेनौं !’ त्यो दिन बल्ल ब्यँुझिइन्, जागिरको चक्करमा लागेर आफ्नालागि मात्रै हुन्छ, मेरो जीवन चल्छ, अब मैले मेरा लागि होइन अरूका लागि पनि जिउनुपर्छ भन्ने सोच पलायो । तर, समस्या थियो ‘पैसा’ को । प्रण गरिन्– आफूजस्तै अवस्थाबाट गुज्रिएकाहरूका लागि जिउने । एउटा जागिरबाट निकालिएकी उनी फेरि जागिर खोज्दै गइन् । तर, यो पटकको जागिर आफ्नो पेट पाल्नका लागि मात्र थिएन आफूजस्तै अपांगता भएकाहरूका लागि जिउने प्रणस्वरूप थियो– अठोट । दृढ संकल्पसहितको । गौशालास्थित शान्ति सेवागृह नामक एउटा जर्मन प्रोजेक्टमा काम पनि मिल्यो । महिलालाई सीपमूलक तालिम दिने ठाउँ थियो त्यो । जीवनका झन्डै चार वर्ष त्यहाँ गुजारिन् । धेरै काम सिकिन् । जागिरे जीवनमा धेरै ‘अपांग’ महिला सम्पर्कमा आइसकेका थिए । 

यसबीच त्रिचन्द्रबाट समाजशास्त्रमा बीए, एमए सकिन् । जागिर छाडिन् । सम्पर्कमा भएका केही अशक्त महिला भेला गरिन् अनि ऊन खरिद गरेर हाते बुनाइका सामान बनाउन थालिन् । साबुन अनि मैनबत्ती पनि बनाउने क्रम चल्यो । अलिअलि जागिरबाट कमाएको पैसाबाट आत्मनिर्भरताको बाटोमा बढ्दै थिइन् । शुरुमा पाँच जना महिला सम्पर्कमा थिए । सबै अपांगता भएका, कसैको एउटा खुट्टा चल्दैनथ्यो, कसैको दुईवटै । तर, हिम्मत कसैको कम थिएन । उनीहरूलाई सिलाइ–बुनाइको काम सिकाउन थालिन् । उनको सपनामाथि तगारो बनेर आए घरबेटी । जुन घरमा कोठा लिएकी थिइन्, भाडामा ‘धेरै अपांग’ जम्मा भए भनेर घरबेटीले छाड्न उर्दी जारी गरे । एउटा घरबाट निकालिएकी उनी फेरि अर्काे घर चहार्दै हिँडिन् । बल्ल–तल्ल घर फेला प¥यो । एउटा घरलाई एड्भान्स पनि दिइन् ५ हजार । तर, अपांग भन्ने थाहा पाएपछि घरबेटीले रकम फिर्ता गरिदिए । यस्ता अनगिन्ती दुःख, हण्डरहरूले जिन्दगी घेरिए । तर, विचलित भइनन् । 

घर भाडामा पाउन नसकिनेरहेछ भन्ने लागेपछि मित्रनगरको एउटा खाली जग्गा मागिन् । यही शहरमा मनकारीहरू पनि भेटिँदा रहेछन् । भेटिन् युकेमा बस्दै आएका जग्गाधनी । उनले ‘बहिनी, यस्तो पवित्र काम गर्न लाग्नुभएको रहेछ भन्दै जग्गा दिए । मित्रनगरमै टिनका पाता जोडेर टहरो बन्यो । यसपछि मात्र जीवनले गति लियो । संस्था जन्मियो । शुरुमा १२ जना अपांगता भएका दिदीबहिनीलाई हस्तकलाको तालिम दिइन् । त्यहीँ सेल्टरको व्यवस्था मिलाइन् । सिलाइ बुनाइको तालिम । उत्पादन कार्य शुरु भयो । फिनेल–साबुन बन्न थाल्यो । हस्तकला, फेल्टजन्य वस्तुले तालिम केन्द्र भरिन थाले । घरभित्रै कुँजिएका अपांगता भएका महिला एकपछि अर्को सम्पर्कमा आउन थाले । सामान उत्पादन । बिक्री आफैं शुरु भयो । यही टहराबाट उत्पादित सामान ठमेलका चोक–चोकमा लगेर बेच्न थालिन् । दिन फिरे । सामान बिक्रीबाट आएको पैसाले सेल्टर चल्न थाल्यो । आत्मविश्वासको मात्रा चुलिँदै गयो । यही बीचमा आफूजस्तै अपांगता भएकाहरूलाई लिएर सामाजिक कार्यका लागि शक्ति (इप्सा) स्थापना गरिन् । ०६६ सालसम्ममा आइपुग्दा सामानको अर्डर भ्याइ नभ्याइ भयो । हस्तकलाका सामान विस्तारै विदेशसम्म निर्यात हुन थाले । फिनेल–साबुनको माग काठमाडौंमै बढ्यो ।

संगीताले अपांगता भएका दिदीबहिनीलाई आत्मनिर्भर बन्न प्रेरित गर्थिन् । तालिम सिकाउँथिन् । निपुण भएपछि बाहिर रोजगारी खोजिदिन थालिन् । तालिम लिन आएका कतिपयलाई त जागिरको अफर नै आउन थाल्यो । क्षमता विकास नभएससम्म यहीं सिक्थे, खाने–बस्ने छँदै थियो । गोजी खर्च पनि थमाइदिन्थिन् । यही बीचमा घरेलु तथा साना उद्योग । विभिन्न गैरसरकारी संस्थाले दिएका तालिमको प्रमाणपत्र निकालिन् । तालिमका सीप सम्झिन थालिन् । पेन्टिङ, वस्तु डिजाइन, सिलाइ कटाइ, मैनबत्ती, कम्प्युटर, साबुन–फिनेल बनाउने सीप थिए ।

कता–कताबाट सहयोग आउन थाल्यो । कसैले लुगा दिन्थे । कसैले खानेकुरा दिन्थे । कसैले सुत्नका लागि खाट दिए । कसैले उनीहरूले बुनेका सामानको ‘मार्केट’ बनाइदिए । कसैले ‘अर्डर’ खोजिदिए । यसरी उनको झुपडी ‘सेल्टरहोम’ भरिन थाल्यो, अपांगता भएका महिलाले, उनीहरूले बनाएका सामानले । संस्था स्थापना गरेको ४ वर्षपछि जापान जाने मौका मिल्यो । उतै बस्न अफर पनि आयो । जापानमै भएका आफ्नै भाइ । चिनेजानेका साथीहरूले पटक–पटक भनेका थिए– हामी १२ लाख खर्चेर आयौं । कमाइ पनि ठीकै छ । तपाईं सित्तैमा आउन पाउनुभएको छ । यहाँ अपांगता भएकालाई राम्रो अवसर छ । यतै बस्नुस् । उनले इन्कार गरिन् । बरु तालिमका बेला पाएको १ लाख रूपैयाँ खर्च गरिनन् । सिधै नेपाल फर्किन् । काठमाडौं उत्रेपछि संघर्ष सुरु भए । 

यसरी एउटा जागिरबाट निकालिएकी संगीताबाट अहिलेसम्म दुई हजारभन्दा बढी अपांगता भएका महिला दिदीबहिनीले तालिम लिइसकेका छन् । सबैले रोजगार पाएका छन् । अहिले उनको आश्रममा सेल्टर लिएर बस्ने अपांग दिदीबहिनीको संख्या ५० भन्दा बढी छ । केही दिनभर काम गर्छन्, साँझ फर्कन्छन् । उनले देखेको अबको सपना भनेको अपांगता भएकालाई सुविधासम्पन्न सेल्टर बनाउने हो । अपांग भएकाहरू त्यहीँ बसुन्, त्यहीँ काम गरुन् । जीविकोपार्जन गरुन् । यही उद्देश्यमा सरकारको १५ लाख, स्काइ लाइफ फाउण्डेसनलगायत संस्थाहरुले सहयोग गरिरहेका छन् । बालाजु बाइपासमा सस्तोमा गुठीको जग्गा भेटेकी छन् । ८ वर्षमा एक एक पैसा जोडेको रकम थपेर ३४ लाखमा १८ आना जग्गा लिएकी छन् । त्यसमा केही सहकारीको ऋण छ । जीवनका ऊर्जाशील १५ वर्ष यसैगरी आफूजस्तै अपांगकै सेवामा बिताइरहेकी छन् निःस्वार्थ । बाँकी जीवन यस्तै असहायहरूकै सेवामा बिताउने प्रण छ । 

टिप्पणीहरू