लोकसेवाले देओस् यी प्रश्नको जवाफ « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

लोकसेवाले देओस् यी प्रश्नको जवाफ

प्रकाशित मिति :  ९ असार २०७४, शुक्रबार १८:२३


  • यमुना अर्याल (काफ्ले)

असार १ गते लोकसेवा आयोगले वार्षिकोत्सव मनायो । प्रधानमन्त्री, उपराष्ट्रपतिसमेत उपस्थित भएर बधाई अनि शुभकामना दिए । लोकसेवाले हरेक सूचनाको जानकारी हातहातमा पु¥याउने हेतुले मोबाइल एप्स शुरु ग¥यो, दरखास्त फारम मात्र अनलाइनमार्फत बाँड्दै आएको लोकसेवाले आगामी दिनमा भुक्तानी पनि अनलाइनमार्फत गराउने भनेको छ, यो पक्ष झन् सकारात्मक छ विद्यार्थी र स्वयं आयोगका लागि समेत । 

 अध्यक्षज्यू, विभिन्न संस्थानका पछिल्ला नतिजाले लोकसेवाको महत्व र औचित्यलाई थप बलियो बनाएको छ । यति विश्वास र भरोसा हुँदाहुँदै पनि बेलाबखत विवादमा फसेको देखिन्छ । जतिसुकै निष्पक्ष भनिए पनि, नातावाद, कृपावादको आरोप मौन रूपमा आयोगमाथि किन लगाइन्छ ? लोकसेवा आयोगले पनि पक्षपाती निर्णय गर्छ भने निष्पक्षता खोज्न कहाँ जाने ? ‘अन्तर्वार्ता पास गरियो भने त जागिर ढुक्क भयो, परिचयपत्र हेरे खुइँखुइँ अन्तर्वार्ता लिए, के–कस्तो केही सोधेनन्’ भन्ने विद्यार्थी पनि देखिएका छन्, नक्कली परिचय बनाउने व्यक्तिउपर किन लोकसेवा आयोग कडारूपमा प्रस्तुत हुन सक्दैन ? अपांगता परिचय भएकै भरमा नियुक्तिपत्र दिन मिल्छ कि साँच्चिकै कुन प्रकृतिको अपांगता भएको व्यक्ति हो, त्यो पनि खोजीको विषय हुन्छ ? आयोगले जवाफ देओस् । 

गत साल असोजमा प्रकाशित शाखा अधिकृतको अन्तिम नतिजामा एकजना सद्दे युवाले  नक्कली अपांग परिचयपत्र बनाएर नाम निकालेको आरोप लाग्यो । उनका साथीहरूले नामै तोकेर सिम्बल नम्बरसहित पत्रिकामा टिप्पणी पठाए । निजामती सेवामा कार्यरत ती युवाले अधिकृत हुनकै लागि अपांगता परिचयपत्र बनाएको टिप्पणीउपर न आरोप लगाइएका पात्रले खण्डन गरे न त अन्तिम नतिजा प्रकाशन गर्ने लोकसेवा आयोगले नै स्पष्टीकरण दिन चाह्यो । यी पात्र मात्र होइनन्, जागिर खानकै लागि कृत्रिम अपांग परिचयपत्र बनाउनेको संख्या धेरै छ, तल्लोदेखि माथिल्लो तहसम्म । हुँदाहुँदा सहसचिवजस्तो विशिष्ट श्रेणीमा पुग्न लागेका कर्मचारीले समेत कृत्रिम अपांगताको परिचयपत्र बनाएको आरोप भर्खरै मात्र लगाइएको छ । यति ठूलो पदमा पुग्न चाहनेहरूको यस्तो हर्कतलाई के भन्ने ?

 घटना साँचो हो भने नक्कली अपांगता परिचयपत्र बनाउने र त्यही परिचयपत्रको आधारमा बढुवाको पत्र थमौती गर्ने आयोगको निर्णयलाई कसरी निष्पक्षताको कसीबाट नियाल्ने ? गत असोजमा नक्कली अपांगता परिचयपत्र बनाएर अधिकृत भएको भनिएका व्यक्ति अहिले स्टाफ कलेजको ६ महिने तालिम सकाएर पोस्टिङसमेत भइसकेका छन् । यस्ता पात्र कति होलान् ? कसले खोजिनीति गर्ने ? साथीसंगीले नक्कली अपांगता परिचयपत्र बनाएको थाहा पाए, आफन्तले गुपचुपमा राखे, लोकसेवा आयोगले थाहा पाएन, अन्तर्वार्तामा उत्तीर्ण भए यसलाई के ठान्ने ? यो सानो समस्या हो वा ठूलो ? भोलिका दिनमा यस्ता घटना बढ्दै गए त्यसलाई के भन्ने ? 

लोकसेवाले गर्ने निर्णय नै अन्तिम हुन्छ, लोकसेवाले आफ्नो–पराइ छुटाउँदैन दिमागको तागत मात्रै हेर्छ भन्ने मजस्ता पात्रको विश्वास कसरी अडिग रहन सक्छ ? अपांगको क्षेत्राधिकार बढेसँगै यसलाई विश्वास गर्ने, आयोगको कार्यसम्पादनमा चासो दिनेको संख्या ह्वात्तै बढेको छ । आगामी दिनमा सामान्य कुरा परीक्षार्थीले नकारात्मक रूपमा खोट्याउँदै गए भने आयोगले कसरी विश्वस्त पार्न सक्ला ?

आयोगका कर्मचारीले विभिन्न पदका उत्तरपुस्तिका घर–घरमा लगेर जाँच गरेको र आफन्तलाई यसबारे सुनाएपछि थप कुरा बाहिर आए । लोकसेवा आयोगको जाँच जतिसुकै गोप्य हुन्छ भने पनि आज मेरो फलानो आफन्तले घरमै ल्याएर उत्तर खोजीखोजी चेक गरेको देखेँ, वस्तुगत प्रश्नको चेक त मैले पनि गरिदिएँ उत्तरसिट हेरीहेरी भन्ने पात्रहरू प्रत्यक्ष भेटिएको छ । परीक्षार्थीले यत्रो भरोसा र विश्वास गरेको निकायले घरघरमा उत्तरपुस्तिका पु¥याएर जाँच गराएको यदि साँचो हो भने आमविद्यार्थी जो लोकसेवाको गेटभित्र छिर्ने तयारीमा छन् उनीहरूले कसरी विश्वास गर्ने ? घरमा ल्याएर चेक गरेको होइन भनौँ भने प्रश्नपत्र कण्ठै सुनाउँछन्, नाम, रोलनम्बर केही नभए पनि कसैले फलानो प्रश्नको उत्तर यसरी लेख्दा रहेछन्, यति लेख्दा यति नम्बर आउँदो रहेछ भन्दै सुनाउनेहरूलाई कसरी अविश्वास गर्ने ? 

जतिबेला खुला प्रतियोगिताबाट सरकारी सेवामा स्वयं प्रवेश गरेँ त्यतिबेला संसारै जितेजस्तो अनुभूति भयो । कसैसँग जागिरको लागि बिन्ती गर्नुपरेन, कुनै राजनीतिक दलको पावर लगाउनुपरेन, निजी क्षेत्रमा दिउँसो काम गर्दै आधारातसम्म खटिएको दुःखले ठाउँ पाउँदा साँच्चिकै दिमाग भएपछि सरकारी जागिर खान सकिनेरहेछ भन्ने अनुभूति भयो । अहिले सुनिने यस्ता समाचार र बेलाबखत झस्काउने कतिपय घटनाले अब माथि चढ्ने खुट्किला कत्तिको निष्पक्ष होला भन्ने कौतुहलले मनै मडारिन्छ । 

अपांगता परिचयपत्र बनाउने निकायले केका आधारमा सिफारिस गर्छ ? लोकसेवा आयोगले केका आधारमा साँच्चिकै अपांग ठान्छ ? यसको मापन गर्ने कुनै प्रभावकारी स्थान छैन ? भोलि जागिर खानका लागि सिफारिस जस्ता व्यक्तिले पनि लिएर आउलान्, लोकसेवा आयोगले सबैलाई अपांगता कोटाबाट उत्तीर्ण गराउन सक्छ ? आयोगमाथि यस्तै विषयमा उजुरी परे भने कति मुद्दाको छानबिन गरेर साध्य होला ?  

 लिखित परीक्षा उत्तीर्ण माथिल्लो ओहोदाका कर्मचारी स्वयं घरघरमा चाकडी गर्न जान्छन्, आयोगका पदाधिकारीले राजनीतिक आस्थाका आधारमा विज्ञ बोलाई आफ्ना मान्छे जसरी पनि पास गराउन लबिङ गर्छन् भन्ने आरोप निजामती सेवामै लामो समय काम गरेका कर्मचारी लगाउँछन्, खास कुरा के हो ? आयोगका अध्यक्षले केही समयअघि दिएको अन्तर्वार्ताको एउटा अंश यस्तो थियो, ‘को–को आजको अन्तर्वार्तामा बस्छन् भन्ने कुरासमेत थाहा हँुदैन ! यति गोप्य तवरले अन्तर्वार्ता गरिन्छ, त्यस्तै गोप्य, निष्पक्ष तरिकाले लिखित परीक्षा सञ्चालन गरिन्छ भने यस्ता आरोप किन लगाइन्छ ?’ 

 केही समयअघि प्रकाशित एउटा नतिजाको कोडिङ् डिकोडङ् बिग्रेको भन्दै पुनः प्रकाशित गरियो । परीक्षार्थीले विज्ञापन खुलेपछि आवेदन दिन्छ, लिखित परीक्षा पास गर्छ र अन्तर्वार्ताका लागि छनोट हुन्छ त्यसपछि बल्ल योग्यता पुगेन भनेर उसको नतिजा रद्द गर्छ आयोग । यी कुरा पहिले नै हेर्नुपर्ने हो कि अन्तर्वार्ताको बेलामा ? प्राविधिक कुरामा बेलैमा बिचार पु¥याउनुपर्ने होइन र ?

०६८ सालका सर्वोत्कृष्ट निजामती पुरस्कार विजेता तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले आफंै श्रीमतीको उत्तरपुस्तिका जाँचेर लोकसेवा पास गराए । गौतम ८० हजारभन्दा बढी निजामती कर्मचारीमध्येबाट उत्कृष्ट कर्मचारीको रूपमा छनोट भएका थिए । गौतम मात्रै होइन, सोही समय पूर्व शिक्षासचिव रामस्वरूप सिन्हाले पनि आफैंले उत्तरपुस्तिका परीक्षण गरी छोरीलाई परीक्षा उत्तीर्ण गराएका थिए । छानबिनका क्रममा नेपाल शिक्षासेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहको विद्यालय निरीक्षक पदमा निवेदन दिएका अन्तिमाकुमारी (सिन्हाकी छोरी) र इन्दिरा ढकाल गौतम(गौतमकी पत्नी) को उत्तरपुस्तिका उनीहरूकै आफन्तले परीक्षण गरेको पाइएपछि दुवै नतिजा लोकसेवाले रद्द गरेको जानकारी दियो । उक्त घटना अहिले इतिहासको कहानी भइसक्यो, आगामी दिनमा यस्ता कुरा नदोहोरिउन् भन्ने आमकर्मचारी, सेवा प्रवेश गर्न खुट्टा उचालेर बसेका समस्त परीक्षार्थीको कामना छ । 
 
अन्त्यमा, यस वर्षदेखि नैतिकताको विषय समावेश गरी परीक्षा लिन शुरु गरेको आयोगले आफ्नो नैतिकता कसरी जोगाउला ? विभागीय कारबाहीमा परेका, नैतिक रूपमा भ्रष्ट आचरण भएका, किर्ते अपांगताको परिचय पत्र बनाएका व्यक्तिलाई आगामी दिनमा सफल बनाएर नैतिकताको उपहास नगरियोस् । सर्वत्र विश्वास र आस्थाको केन्द्र मानिएको आयोगले हिजोका दिनमा हासिल गरेको विश्वास, ख्याति र प्रशंसालाई आगामी दिनमा झनै तिखार्न सकोस् भन्ने सदीक्षा छ । आयोगमाथि लगाएका माथिका आरोपबारे आयोगमार्फत सही जवाफ चाहन्छु । 


प्रतिक्रिया दिनुहोस !