क्याम्पस प्रमुखको कुर्सी जलाइयो

क्याम्पस प्रमुखको कुर्सी जलाइयो

बिहानी कक्षा सञ्चालनको माग गर्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । लामो समयदेखि क्याम्पसमा पढाइ नभएकाले अनलाइन कक्षाको माग गरे पनि क्याम्पस प्रमुखले कक्षा सञ्चालन नगरेकाले आफूहरुले विरोधस्वरुप कुर्सी जलाएको विद्यार्थीहरुले बताएका छन् ।

क्याम्पसमा स्नातक चौथो वर्ष र स्नातकोत्तर दोस्रो सेमेष्टर बाहेकका अन्य कक्षाहरु लामो समयदेखि सञ्चालन नभएको विद्यार्थीहरुले आरोप लगाएका छन् । उनीहरुले क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डे लामो समयदेखि व्यवस्थापन समितिको लफडा मिलाउन एक हप्तादेखि काठमाडौंमा रहेको बताएका छन् ।

क्याम्पसमा झण्डै दुई वर्षदेखि व्यवस्थापन समिति गठन भएको छैन । तर गत वर्ष त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले श्रीराम प्याकुरेललाई टीका लगाएर नियुक्तिपत्र थमाई दिएपछि सबैले बिरोध गर्दै आएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बित्तिकै काँग्रेस नुवाकोटमा आवद्ध रामशरण श्रेष्ठलाई व्यवस्थापन समितिमा नियुक्ति दिएपछि दुई अध्यक्ष रहेको समितिको मारमा क्याम्पस प्रमुख परेका हुन् ।

अनेरास्ववियु नुवाकोटका विद्यार्थी नेता राजेन्द्र पनेरुले क्याम्पसमा राजनीतिकरण भएको र विद्यार्थीका जायज मागमा क्याम्पस प्रमुख उदासिन भएको आरोप लगाएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रशासनसमक्ष पटक पटक कक्षा सञ्चालनको माग गर्दे लिखित र मौखिक निवेदन दिए पनि क्याम्पस प्रशासनले वास्ता नगरेपछि बिरोध प्रदर्शन गर्नुपरेको पनेरुको भनाइ छ ।

टिप्पणीहरू