​पुरानै कुरामा अझै प्यारप्यार

खुरापातीले….अन्तै भोट हालेछ अन्तरघातीले । ..वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा पराजित उम्मेदवारहरूको भन्ने गरेको आफ्नैको घातलाई टपक्क टिपेर सामाजिक सञ्जालमा यो गीत छरपस्ट भयो । रुकुम कांग्रेसमा पनि यस्तै अन्तरघातको कथामा अछुतो रहन सकेको छैन । चुनावमा पार्टीमा अन्तर्घात गरेको भन्दै कांग्रेस जिल्ला कार्यसमितिले १९ नेता–कार्यकर्तालाई कारबाहीको धम्कीपूर्ण पत्र काटेको छ । स्पष्टीकरणको पत्र पाएलगत्तै केही कांग्रेसीले पार्टी नेतृत्वलाई नै उल्टो राजीनामा माग्ने गरेका छन् । पार्टी सभापति प्रेम प्रकाश ओलीलाई अन्तरघातको आरोप लागेका शिव आचार्यले ०५६ सालको प्रतिनिधि सभा चुनावमा टिकट बेचेको आरोप सामाजिक सञ्जालबाटै लगाएका छन् । स्पष्टीकरण सोध्नेको योग्यता र हैसियतमाथि उनले प्रश्न उठाएका छन् । 

माओवादी केन्द्रको वर्चस्व रहेको र एमाले कांग्रेस मिलेर पनि जित्न नसक्ने अवस्थामा कांग्रेसभित्रै झगडा बर्सिनुलाई कार्यकर्ताले झन् ओारालो लागेको संकेत गरेका छन् । पहिलो चरणको निर्वाचनमा पार्टीको निर्णयविपरीत गएको र पार्टीले उठाएका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै जिल्ला सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्यसहित क्रियाशील सदस्यलाई स्पष्टीकरण सोधेको बुझिएको छ । कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न रहेका कार्यकर्तालाई कारबाही गर्न ४ सदस्यीय अनुशासन विभाग गठन गरेको थियो । जिल्ला कार्यसमिति सदस्य भीमबहादुर डा“गीको संयोजकत्वमा रहेको विभागले जिल्लासचिव जनककुमार चन्द, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरतजंग मल्लसहित १९ जनालाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो । 

७ दिनभित्र चित्तबुझ्दो जवाफ नदिएमा उनीहरूलाई पार्टीबाट निष्कासन सहितको कारबाहीका लागि जिल्ला कार्यसमितिमा सिफारिस गरिने अनुशासन विभाग संयोजक डा“गीले बताए । बा“फिकोट गाउ“पालिकाबाट जिल्लासचिव जनककुमार चन्दसहित पूर्व क्षेत्रीय सभापति खम्बु मल्ल, पूर्वमहाधिवेशन प्रतिनिधि उपेन्द्रबहादुर मल्ल, मुसीकोट नगरपालिकाबाट १ नम्बर क्षेत्रीय सभापति सुतजंग मल्लसहित जिल्ला सदस्य दीपा पाण्डे, दलबहादुर केसी, टेकबहादुर पुन र आठबिसकोट नगरपालिकाबाट पूर्वजिल्ला सदस्य गंगाराम गौतमलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, त्रिवेणी गाउ“पालिकाबाट भूपालसिंह ओली र हीरा केसी, चौरजहारी नगरपालिकाबाट शिव आचार्य, बालकृष्ण भाट, दौलत विष्ट, लोकेन्द्र केसी, गणेश डा“गी र डिल्ली हमालबाट पनि स्पष्टीकरण सोधिएको अनुशासन विभागले जनाएको छ । 

वैशाख ३१ मा भएको जिल्लाका ६ वटा स्थानीय तहको निर्वाचनमा पार्टी भित्रैबाट असहयोग हु“दा नराम्ररी हार व्यहोर्नुपरेको ठहर कांग्रेसले गरेको छ । भित्रैबाट असहयोग भएको पाइएपछि जिल्ला कार्यसमितिले अनुशासन समिति बनाएर आवश्यक छानबिन गरेको थियो । अनुशासन समितिले गरेको सिफारिसको आधारमा पार्टीले आवश्यक निर्णय लिने जिल्ला सभापति प्रेमप्रकाश ओलीले बताए ।

त्यस्तै, रुकुमको एक मतदान केन्द्रमा पुग्न मतदातालाई ५ घन्टा पैदल हिँड्नुपर्ने भएको छ । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि भूमे गाउँपालिका–८, को मतदान केन्द्रमा पुग्न त्यहाँका केही ठाउँका मतदातालाई ५ घण्टा बढी समय लाग्ने भएको हो । साविकको रुकुमकोट गाविसको ४ नम्बर वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भूमे–८ को मतदान केन्द्र साविकको महत गाविस–८, को आधारभूत विद्यालय भोल्टीमा कायम गरिएको छ । 

उक्त मतदान केन्द्रमा पुग्न साविकको रुकुमकोट–४, को मैवाङबाट ५, झिम्काबाट ४ र कुचिवाङबाट ३ घन्टा बढी पैदल हिँड्नुपर्ने मैवाङका दुर्गाबहादुर बुढाले बताए । तत्कालीन दुई गाविसका ३ वडा मिलाएर नया“ वडा बनाउँदा पायक पर्ने ठाउ“मा मतदान केन्द्र नबनाइएको त्यस क्षेत्रका मतदाताले बताएका छन् । ‘जान मात्र ५ घन्टा लाग्छ अनि आउन पनि त्यति नै समय खर्चनुपर्छ, बुढाले भने, ‘आउन–जान १० घन्टा लाग्छ अनि कतिबेला लाइन लाग्ने, कतिबेला भोट हाल्ने र कतिबेला घर फर्किने ।’ मतदात केन्द्रमा पुगी भोट हालेर सोही दिन घर फर्किने अवस्था नरहेको मतदाताको भनाइ छ । 

 सबैभन्दा बढी अपांग र ज्येष्ठ नागरिकलाई मतदानका लागि मतदान स्थलसम्म पुग्न समस्या हुने देखिएको छ । तर, यसतर्फ सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको स्थानीयको गुनासो छ । उकालो, ओरालो र खोलानालाको कारण पनि सजिलै मतदान स्थलसम्म पुग्न सहज छैन । 

 स्थानीय भूगोललाई अध्ययन नै नगरी नया“ वडा बनाइएको तथा मतदान केन्द्र कायम गरिएको त्यस क्षेत्रका नागरिकले बताएका छन् । स्थानीय तहको संख्या तथा सिमाना निर्धारण प्राविधिक सहयोग समितिले गरेको जिल्लाको स्थानीय तह तथा वडाको सिफारिस सही नभएको झिम्काका भीमबहादुर बुढामगरले बताए । जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले भने राजनीतिक दलको सहमतिमा उक्त निर्णय भएको बताएका छन् । अलि पायक पर्ने भनिएको ठाउ“मा विद्यालय नभएकाले पनि उक्त ठाउ“मा मतदान केन्द्र कायम गरेको उनको भनाइ छ ।

टिप्पणीहरू