​अझै तमासा नदेखाइयोस्, देउवाज्यू

नेपालको ४० औं प्रधानमन्त्री हुन सफल हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु । यस अवधिमा तपाईंले देश र पार्टीका लागि के त्यस्तो राम्रो काम गर्नुभयो र फेरि पनि बागडोर हातमा सम्हाल्दै हुनुहुन्छ ? 

नेकपा माओवादीले ०५२ सालदेखि जनयुद्ध घोषणा गरे र जनयुद्ध चरमसीमामा पुगेको बेला सरकारप्रमुख तपाईं हुनुुहुन्थ्यो अनि माओवादीको टाउकाको मोल पनि तोक्नुभयो एउटा टाउको ल्याए बराबर ५० लाख भनेर अनि तिनै माओवादीसँग मिलेर केपी ओलीको सरकार पनि ढाल्नुभयो र नौमहिने गर्भे सरकारको सम्झौता गरेर फेरि पनि पालो पाउनुभएको वर्तमान अवस्थामा लामो समयदेखि पार्टी सभापति भएर पार्टीलाई त घाटा त्यसै पनि पार्नुभयो किनकि अहिलेको स्थानीय चुनावको आकलनले तपाईंका कार्यकर्ताको गुनासो सुनेको आधारमा भन्न गइरहेको छु भने अर्कोतिर प्रचण्डसँग मिलेर सुरक्षा निकायजस्तो गम्भीर प्रकृतिको क्षेत्रमा आइजिपी चयन गर्दा होस् या विदेशी मुलुकमा राजदूत नियुक्त गर्दा अथवा टीकापुर घटनाजस्तो संवेदनशील मुद्दा फिर्ता लिने अति अनैतिक साहसी कार्यदेखि लिएर आफ्नो पार्टीका कैयौं कार्यकर्तालाई पनि अंशबन्डा र भागबन्डाको राजनीतिमा भसाएर चिढ्याउनसमेत पछि पर्नुभएन । यसैगरी, अझ अन्तर्राष्ट्रिय जगत्ले नियालेको आकर्षण झटारोको विषय के भइदियो भने आइजिपी मुद्दा प्रकरणलाई लिएर प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा वहाल रहेकी महिला व्यक्तित्वलाई संसद्मा महाभियोग प्रस्ताव पेस गराउन लगाई नेपालको इतिहासमा कार्यपालिकाले न्यायपालिकामा गरेको अनैतिक व्यवहारको खिल्ली उडाइदिनुभयो । हुन त यसमा मुख्य पात्र निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नै देखिए पनि त्यसको रिमोट कन्ट्रोल तपाईंकै हातमा थियो । उनी त आखिर इतिहासका राजा रणबहादुर शाहजस्तै त थिए राज्यलक्ष्मीको भूमिका तपाईं आपैंmले निभाउँदै आउनुभएको थियो । अब जाऊँ निर्वाचनको पाटोतिर । पहिलो स्थानीय तहको निर्वाचन सफल भएको के भनूँ र भरतपुरमा तमासा देखिहालियो । 

तपाईंको बुइ चढेर सत्ताको सपना देख्नेहरूको हार्ने मनस्थितिको छनक पाएरै होला जुन पार्टीको सरकार छ उही पार्टीका कार्यकर्ताले आक्रामक शैलीमा बुथ क्याप्चर गर्ने अनि एमालेले बुथ क्याप्चर ग¥यो भनी मिडिया र सामाजिक सन्जालमा भ्रामक खबर पैmलाएर सत्ताधारीको मतियार रहेको निर्वाचन आयोगलाई भरतपुरजस्तो संवेदनशील ठाउँमा पुनः मतदान गर्नुपर्ने भनी निर्णय गर्न लगाउनू के न्यायपूर्ण थियो र छ ? दोस्रो स्थानीय तहको निर्वाचन पनि जेठ ३१ गते हुन्छ भनिए पनि यसै बीचमा फेरि मधेसका दललाई हरप्रयत्न गरेर भए पनि रिझाउन पाए पहिलो निर्वाचनमा हार खाए पनि दोस्रोमा त बहुमत ल्याइन्छ कि भन्ने दाउले उनीहरूबाट आएका हरेक सम्झौतामा तथास्तु भन्न पछि पर्नुभएन र फलस्वरूप प्रतिपक्ष दह्रो भएर संविधान संशोधन गर्ने कुरामा रोक लगाए पनि अर्को कर्तुत गरेरै छाड्नुभयो त्यो के हो भने स्थानीय तह बढाउने । यसमा पनि सर्वोच्च अदालतले निर्वाचनको समयमा आएर स्थानीय तह बढाउनु भनेको गैरसंवैधानिक कदम भनेर रोक्न अन्तरिम आदेश दिइसकेको अवस्थामा । अब भन्नुहोस् फेरि पनि आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थले गर्दा अदालतमा तिर हान्नुहुन्छ कि मधेसी दलले ४४ मात्र होइन स्थानीय तह १४४ भनेका छन् त्यसैलाई सदर गर्नुहुन्छ ? आज ख्यालठट्टाको पाराले लेखिएको पत्र होइन यो । यो त सारा देशवासीको कौतुहलताको मर्मसँग सम्बन्धित छ । यसरी एकातिर तपाईं भर्खर मात्र प्रधानमन्त्री बन्नुभएको छ र तपाईंका सेवकीहरू कति मन्त्री बन्ने आशामा मीठो सपना बोकेर बसेका होलान् भने नपाउने गुटले फेरि पार्टीको मर्मलाई नबुझी क्षणिक सत्तास्वार्थको लोभ र लालचले गर्दा कतै फेरि पनि पार्टी त कमजोर बन्यो–बन्यो देशै कमजोर बन्ने त होइन ? 

उता, अर्कोतिर तराईमा राजपा नेपालले फेरि पनि केही कुरामा असहमति जनाएर निर्वाचनमा भाग लिन्नांै भनेको अवस्था छ भने कैयौं देशभक्त नेपाली जनतामा अभैm पनि दोस्रो तहको निर्वाचन हुन्छ या हुँदैन भन्ने कौतुहलता छाइरहेको समयमा फेरि तपार्इं मन्त्री कसलाई दिने भन्ने घनचक्करमा हुनुहुन्छ । अब नेपाली जनताले तपाईंजस्तो जिम्मेवार व्यक्तिप्रति के आशा र अपेक्षा राख्ने ? एकातिर सरकार परिवर्तनले मन्त्री, राज्यमन्त्री अनि सहायक मन्त्री छान्न समय पक्कै पनि लाग्नेछ किनकि आफ्ना मान्छेले कैयांै महिनादेखि आस गरेर बसिरहेको अवस्था छ भने अर्कोतिर चुनाव आउन अब कति दिन बाँकी छ र ? तराई फेरि आन्दोलनमा होमिने अवस्था छ भने तपाईंको विगतलाई हेर्दा पनि खाली असफल प्रधानमन्त्रीका रूपमा मात्र चिनिनुहुन्छ र कतै यसपाला पनि देशमा गन्जागोल र भद्रगोलको स्थिति पैदा हुने त होइन ? यो आमजनमानसमा चासोको विषय रहेकाले जसरी पनि स्थानीय तहलाई नबढाई दोस्रो चरणको निर्वाचनको वातावरण बनाई तोकिएको समयमै निर्वाचन गराउनुका साथै प्रान्तीय र केन्द्रीय तहको निर्वाचन पनि सफलतासाथ सम्पन्न हुने नै छ भन्ने आशासाथ पत्रबाट बिदा हुन्छु ।

खिमराज गिरी, मध्य नेपाल लमजुङ, हालः काठमाडौं, ९८५११९२०८८

टिप्पणीहरू