मध्य बर्खामा ढल र सडक निर्माण

मध्य बर्खामा ढल र सडक निर्माण

यो वर्षको बर्खामा नागार्जुन नगरपालिका ३ मा पर्ने जयन्ती चोक आसपासको ६३ दशमलब ४३ घनमिटर क्षेत्रफलमा ढुंगा बिच्छ्याउने र ढलान गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी सोही क्षेत्रमा ८० मिटर क्षेत्रफलमा ढल निर्माण समेत भएको छ ।

इचङ्गुनारायण कल्याणकारी समाज बाटो ढलान तथा ढल निर्माण उपभोक्ता समिति र नागार्जुन नगरपालिकाबीच भएको सम्झौताअनुरुप भएको उक्त कार्य साउन मसान्तमा सकिएको स्थानीयले बताएका छन् ।

सोहि वडाका धन बहादुर श्रेष्ठको पहल कदमीमा नगरपालिकाको तर्फबाट १७ लाख ४६ हजार र स्थानीय उपभोक्ताको एक लाख ९६ गरी कुल १९ लाख ४२ हजार ३ सय ३० रुपैयाँको लागतमा ती सबै निर्माण कार्य सकिएको जानकारी दिइएको छ ।

यो निर्माण कार्य सम्पन्न भए लगत्तै नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले निर्माण कार्यको अवलोकन गर्नु का साथै यस क्षेत्रमा रहेका अन्य बिकाशका कार्यहरुलाई पनि आवश्यकताको आधारमा क्रमश अगाडी बढाइने प्रतिबद्धता जनाउनु भयो भने वडाध्यक्ष प्रेमलाल श्रेष्ठले वडा र नगरपालिकाको विकास निर्माणमा सबैले राजनीतिक वाद र सिद्धान्तभन्दा माथि उठेर कार्य गरिएकाले परिणाम सुखद् भएको बताउनुभएको छ ।

टिप्पणीहरू