हिटलरमाथि जासुसीको हैरानी

  • राजेन्द्र स्थापित

दोस्रो विश्वयुद्धमा रुसमाथि आक्रमण गरेर जर्मनीले ठूलो भूल ग¥यो । अन्त्यमा सन् १९४३ को जनवरी आइपुग्दा नपुग्दै जर्मन सेना भाग्न विवश बन्यो । मित्रराष्ट्र उत्साहित बने भने जर्मनी हतास । इरानको राजधानी तेहरानमा नोभेम्बरको अन्तिम साता रुसी नेता जोसेफ स्टालिन, अमेरिकी राष्ट्रपति फ्रान्कलिन डि. रुजबेल्ट र ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलबीच शिखर वार्ता हुँदै छ भन्ने जानकारी प्राप्त गरेपछि मित्रराष्ट्रका तीनैजना नेतालाई एकै चिहान बनाउन जर्मनीले ‘अप्रेसन लङजम्प’ सञ्चालन ग¥यो तर यसमा पनि हिटलर असफल भए (‘ठूला नेताहरू एकै ठाउँमा झण्डै ठहरै’, जनआस्था, २०७३ साउन १९ गते) ।

फिनल्याण्डलगायत अन्य राष्ट्रलाई जर्मनीबाट मुक्त पार्दै लान थालेपछि जर्मनीले सोभियत संघलाई प्रमुख बाधक मान्यो । उसका विरुद्ध योजना बनाउन थाल्यो । त्यसताका जर्मनीको गुप्तचर संस्था आरएसएचएका प्रमुख थिए– वाल्टर सेलेन्बर्ग । उनले तत्काल विदेशमन्त्री जोखिम भोन रिबेनट्रोपसँग मिलेर एउटा योजना बनाए । त्यसपछि नाजी नेता तथा अर्धसैनिक बलका प्रमुख हेन्रिख हिमलरसँग सल्लाह गरी स्वीकृति लिए । प्राविधिक सहयोगका लागि लुफ्टवाग केजी २०० (लडाकु दल) सँग सल्लाह गर्ने आदेश हिमलरले दिए । यो दलसित थुप्रै हवाईजहाज र पानीजहाज थिए । अत्यन्त जोखिमपूर्ण युद्धकार्य सञ्चालन गथ्र्यो । खासगरी बम खसाल्ने र युद्धसामग्री ढुवानी गथ्र्यो । अन्तिममा वाल्टरले ‘अपरेसन जेपलिन’ सञ्चालन गर्ने निर्णय गरे । वास्तवमा प्रथम विश्वयुद्धताका जर्मनीले बनाएको इच्छा गरेको दिशामा लैजान मिल्ने हावाभन्दा पनि हलुंगो हवाईजहाजको नाउँ हो– जेपलिन । प्रथम विश्वयुद्धमा उसले यो जहाज प्रशस्त प्रयोग गरेको थियो । वाल्टर, रिबेनट्रोप, हिटलर र हिमलरबाहेक अरु कसैलाई थाहा नदिइएको यो अपरेसनको एकमात्र उद्देश्य थियो, ‘रुसी नेता जोसेफ स्टालिनलाई मार्ने । स्टालिन चढ्ने गरेको गाडीमा बम जडान गर्ने, त्यो पनि क्रेमलिन भित्रको ग्यारेजमा छिरेर ।’

शुरुमा हिमलर स्टालिनको गाडी चालकलाई नै उपयोग गर्ने योजनामा थिए तर सफल भएनन् । त्यसपछि गाडीमा बम जडान गर्न दुईजना व्यक्तिलाई मस्को पठाउने योजना बन्यो र गुप्तचर छानियो । तर, भाषाले गर्दा नै जर्मनहरू मस्कोमा सफल नहुने देखेपछि रुसीकै खोजी गरियो । र, युद्धबन्दीद्वय पिटर इभानोभिच सिलो र लिडिया शिलोभलाई छानियो । ३५ वर्षीय सिलो जारकालीन सैनिक अधिकृतका पुत्र थिए । शुरुमा खेतीपातीमा लागे अनि मजदुरी गरे । त्यसपछि एउटा कम्पनीमा लेखापाल । सन् १९३२ मा एक हजार तीन सय रुबल हिनामिना गरेपछि जेल परे तर जेलबाट भागे । फेरि समातिए, फेरि भागे । नाउँ फेरेर पिजोटर ताभ्रिन सिलो बने । सन् १९४१ मा जर्मनीले आक्रमण गरेपछि लालसेनामा भर्ती भए । लेफ्टिनेन्ट बने तर किन हो रुस विजयी हुनेमा ढुक्क हुन सकेनन् । भागेर जर्मनी पुगे र युद्धबन्दी बने । योजनाअनुरूप सिलोलाई जर्मनीमा विशेष तालिम दिइयो । करिब एघार महिना चलेको तालिम सन् १९४३ को सेप्टेम्बरमा इटलीका तानाशाह बेनितो मुसोलिनीलाई अपहरण गर्ने कमाण्डर ओट्टो स्कोजर््नी तथा मेजर क्राउसले दिएका थिए । त्यसपछि सिलोलाई रुसी संघको मेजरको सम्पूर्ण फर्जी कागजात उपलब्ध गराइयो । साथै, एउटा मोटरसाइकल र विषालु गोलीयुक्त पेस्तोल दिइयो । स्टालिनलाई मार्न बनाइएको अपरेशनमा सहयोगीको रूपमा खटाइएकी लिडिया पनि रुसी सेनाका पूर्वअधिकृत थिइन् । सिलो र लिडिया जर्मनीको एउटै शिविरमा थिए । जर्मनीले लिडियालाई रेडियो अपरेटरको तालिम दिएको थियो । सिलो लात्भियाका र लिडिया युक्रेनका थिए । लिडियालाई जर्मनहरूले लेफ्टिनेन्ट बन्न दिएका थिए । योजना असफल हुने देखिएमा भाग्ने र लुक्ने उपायसमेत तालिममा सिकाइएको थियो । र, अपरेशन कार्यान्वयनका लागि जर्मनीबाट रवाना हुने अघिल्लो दिन सिलो र लिडियाबीच बिहे गर्न लगाइयो ।

अपरेशन शुरुवात जर्मन अन्वेषण दलका सदस्य प्यारासुटबाट तोकिएको स्थानमा ओर्लेर गरियो । स्थितिको पूर्ण जाँचपड्तालपछि टोलीले मुख्यालयमा ‘सबै ठीक छ’ भनी हरियो सिग्नल रेडियोमार्फत पठायो । योजनामुताविक सन् १९४४ को सेप्टेम्बर ४ को राति तात्भियाको एउटा सानो विमानस्थलबाट अराडो २३२ बी विमान उड्यो । नाकमा, पिठ्युँमा र पखेटामा गरी विमानमा चारवटा मेशिनगन थियो । स्टालिनलाई मार्न प्रयोगमा ल्याउने विशेषखालको हतियार ‘पान्जर्क्नाकर’ विमानभित्र थियो । यथार्थमा सो हतियार एकखालको सानो ग्रिनेड लन्चर नै थियो । जुन व्यक्तिले सजिलै काँधमा बोक्न सकिन्थ्यो । बाहुला भएको र अलि खुकुलो कोटभित्र लुकाएर राख्न मिल्थ्यो । तीन सय मिटर दूरीसम्म मार हान्न सकिने यो लन्चर चलाउन सजिलो पनि थियो । यसबाहेक सिलोलाई एउटा चुम्बकीय विष्फोटक पदार्थ, रेडियोलाई नियन्त्रण पार्ने उपकरण, विविध खालका हाते पेस्तोल, आठ राउण्ड गोली राख्न मिल्ने वेब्ली एन्ड स्कट रिभोल्भर र १५ वटा विषालु गोली पनि दिइएको थियो । भोलिपल्ट सेप्टेम्बर ५ मा विमान रुसको राजधानी मस्कोभन्दा ६० मिल वरको स्थान स्मोलेन्स्कमा पुग्यो । जस्तोसुकै मौसममा पनि उडान भर्न सकिने भनेर तारिफ गर्ने गरेको अराडो २३२ बी विमान रुसी मौसममा काम गर्न असफल बन्यो । अँध्यारोमा चालकले बाटो नै देखेनन् । यसबीच विमानमाथि तीनपटक रुसको तर्फबाट प्रहार भयो । एउटा निशाना विमानको इन्जिनमै लाग्यो । चालक आपतकालीन अवतरण गर्नतर्फ लागे । तर, विमानको पखेटा एउटा रुखमा ठोक्किन पुग्यो । इन्जिनमा आगो लाग्यो । आगोको मुस्लो देखेपछि रुसी सेना त्यहाँ पुग्यो र घेरा हाल्यो । दुवैतर्फको गोली हानाहानमा चालक दलका एक सदस्य मारिए भने दुईजना पक्राउ परे । 

सिलो र लिडिया मोटरसाइकल विमानबाट झार्न सफल भए । दुवै मस्कोतर्फ अघि बढे । उनीहरूले ४ लाख २८ हजार रुबल, १ सय १६ वटा सक्कली–नक्कली रबरछाप र मस्को छिर्ने स्वीकृतिपत्र बोकेका थिए । रातिको समय बाटोभरि सेनाको गस्ती थियो । गस्तीमा खटिएका प्रहरीले सिलो र लिडिया चढेर आएको मोटरसाइकल रोके । कता जान लागेको भनेर सोधे । सिलोले रिभाबाट आएको भन्ने जवाफ फर्काए । सिलो र लिडियासित भएको कागजात एकएक गरी हेरे । कागजपत्र जर्मनीले दुरुस्त बनाइदिएका कारण उनीहरू बचे । तर, कागजात फर्काउँदै गर्दा त्यहाँ खटिएका सैन्य मेजरले मोटरसाइकल र त्यसमा सवार दुवै यात्रुको लुगा पानीमा नभिजेको देखे जबकि अघिल्लो साँझदेखि एकछिन अगाडिसम्म रिभामा मुसलधारे पानी परेको थियो । मेजरले तत्कालै इमर्जेन्सी घन्टी बजाए । सिलो र लिडिया पक्राउ परे । पक्राउ परेका विमानका चालक दलका सदस्यलाई तत्कालै मृत्युदण्ड दिइयो भने सिलो र लिडियालाई मस्को चलान गरियो । छानबिनक्रममा स्टालिनको गाडीमा जडान गर्न भनेर सिलोहरूले बोकेको उपकरण रिमोट कन्ट्रोलरद्वारा विष्फोट गराउन मिल्ने रुसीहरूले थाहा पाए । स्टालिनको हत्या गर्ने षड्यन्त्र गरेको र विभिन्न हातहतियार बोकेको भन्दै सिलो र लिडियामाथि नौवटा अभियोग लगाइयो । र, थप सोधपुछ र छानबिनको जिम्मा प्रतिजासुसी (काउन्टर इन्टेलिजेन्स) विशेषज्ञ ग्रिगोरी ग्रिगोरेन्कोले लिए । उनीपछि शीतयुद्धकालमा गुप्तचर संस्था केजिबीको उपनिर्देशक सम्म बने । युक्रेनी थिए । 

सिलो र लिडियालाई स्टालिनसमक्ष पेश गरियो । र, आफ्नो नेताको सल्लाह मुताविक सिलो र लिडियालाई ग्रिगोरीले दण्ड सजाय दिएनन् । बरु उल्टै दुवै कैदीलाई ‘उपयोग’ गरी जर्मनीलाई ‘चक्मा’ दिन नयाँ योजना तर्जुमा गरे । र, नाउँ दिए ‘अपरेशन फग’ अर्थात् अपरेशन हुस्सु । यसअन्तर्गत जर्मनीसँग रेडियो गेम खेल्ने निर्णय एनकेभिडीले लियो । ग्रिगोरीले सो गेम सञ्चालन गर्न मेजर जनरलद्वय जि. उतेखिन र भि. बारिस्निकोभ तथा कर्नेल जनरल भि. अबाकुमोभको सहयोग लिए । योजनाअनुरूप सेप्टेम्बर २७ मा जर्मनीलाई पहिलो सन्देशको रूपमा आफूहरू सकुशल मस्को पुगेको सन्देश सिलोलाई दिन लगाए । अपरेशन जेपलिन पूर्णतः असफल बनिसकेको र सिलो–लिडियालगायत टोलीका सबै सदस्य पक्राउ परिसकेको तथ्यबाट बेखबर जर्मन गुप्तचर प्रमुख वाल्टर सेलेन्बर्गले अक्टोबर २५ मा प्रत्युत्तर दिए । अराडो विमान र विमानका चालकबारे सोधे । प्रत्युत्तरमा मस्कोबाट सन्देश यसरी गयो, ‘म मस्कोको काँठ क्षेत्रमा छु । लेनिनो गाउँको किर्पिचनाइया सडक २६ मा । विमान अवतरण भइसकेकोसम्बन्धी मेरो सन्देश किन ढिलो पुग्यो ? कृपया अनुभवी रेडियो अपरेटरलाई काममा लिनुस् । सन्देश आदानप्रदानमा ढिलो नहोस् । सबैलाई मेरो तर्फबाट हेल्लो सुनाइदिनुस् ।’

बर्लिनबाट दोस्रो प्रत्युत्तर तुरुन्तै पठाइयो, ‘आफ्नो मिशन सकेसम्म चाँडै पूरा गर्नु, मस्को र आफ्नो कामको प्रगतिको रिपोर्ट दिँदै गर्नू ।’ पछिल्लो सन्देशपछि ग्रिगोरी ढुक्क भए कि जर्मनीलाई सजिलै छकाउन सकिन्छ । केही महिनासम्म सन्देश यसरी नै आदानप्रदान भइरह्यो । जर्मनी स्टालिनलाई मार्न सिलो सफल हुनेमा बढी आशावादी बन्न थाल्यो । सन् १९४५ को जनवरीमा सिलो र लिडियाले पुनः संयुक्त सन्देश यसरी पठाए, ‘योजना सफलतातर्फ अघि बढ्दै छ । हामीले सोचेको मितिभन्दा पहिल्यै विजय हुने सुनिश्चित देखिएको छ । हामीले सहयोग पाइराखौं । हामीलाई दिइएको वचन र पुरस्कार नबिर्सनुहोला ।’ रुसले सिलो र लिडियामार्फत बनावटी सन्देश जर्मनीले आत्मसमर्पण नगरुञ्जेलसम्म पठाइ नै रह्यो । यस्ता सन्देश कुल १ सय ८३ वटा यसबीचमा आदानप्रदान भए । जासुसीमा जर्मनीलाई माथ दिएबापत विश्वयुद्धपछि ग्रिगोरी पुरस्कृतसमेत भए भने सिलो एनकेभिडीको तलबी कर्मचारी नै बने । तर, सन् १९५२ मा अचानक सिलोसम्बद्ध मुद्दा उल्टियो । सोही वर्षको मार्च २८ मा उनले मृत्युदण्ड पाए ।

टिप्पणीहरू