पार्टीको आन्तरिक लडाइँमा महिलाको हुर्मत

पार्टीको आन्तरिक लडाइँमा महिलाको हुर्मत

नेकपा एमालेमा चर्किएको आन्तरिक लफडा प्रतिशोधको राजनीतिमा परिणत हुँदा एक महिलाले बेफ्वांकमा पीडा भोग्नुपरेको छ । एमालेको तत्कालीन माधव नेपाल समूह (हाल एकीकृत समाजवादी) का नेता तथा कर्णाली प्रदेशका मन्त्रीसँग प्रतिशोध साँध्न गरिएको घिनलाग्दो हर्कतले कर्णालीमा राजनीतिको कुरुप दृश्यसमेत प्रकट भएको छ ।

नेकपा एमालेले कर्णाली सरकारमाथि दर्ता गरेको अविश्वास प्रस्तावमा मतदान हुँदा फ्लोरक्रस गरेर माओवादी नेतृत्वको सरकार टिकाउन भूमिका खेलेका कर्णाली सरकारका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि मिमसरा कुमारी महतारा नामकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । तर,महिला स्वयमले मन्त्रीले आफूमाथि कुनै अनैतिक व्यवहार नगरेको बरु आफ्नो इज्जतमाथि राजनीति गरिएको दाबी गरेपछि घटनाले राजनीतिक रुप लिएको हो ।

‘मेरी श्रीमतीको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरिएको छ । उसले पटक-पटक आत्महत्याको प्रयास गरेकी छन् । यदि आत्महत्या गरी भने मिडिया र पत्रकार जवाफदेही हुनुपर्छ ।’

मन्त्री शाहीले ती महिलालाई बलात्कार गरेको भन्दै भदौ ६ गते नागरिक दैनिक,अन्नपूर्ण पोष्टलगायतका सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएको थियो । तर,महताराले आफूलाई अनावश्यक रुपमा मन्त्रीसँग जोडेको भन्दै गम्भिर ध्यानआकर्षण भएको बताएकी छिन् । हिजो वीरेन्द्रनगरको पत्रकार सम्मेलनमार्फत ती महिलाले मन्त्रीले आफूविरुध्द कुनै दुर्व्यवहार नगरेको स्पष्ट पार्दै दुईपक्षीय राजनीतिक लफडाको शिकार हुनुपरेको बताएकी हुन् ।महिलालाई न्याय दिलाउन भन्दै एमाले निकट युवा संघ र अनेरास्ववियुले नाराबाजीवीच सरकारको धारणा मागिरहेका बेला महताराको यस्तो भनाइ आएको हो । उनले आफूविरुध्द अनावश्यक समाचार बनाएर आफ्नो र मन्त्रीको चरित्र हत्या गर्न खोजिएको आरोप पनि लगाएकी छिन् । आफूलाई मन्त्रीले नभई मिडियाले नै बलात्कृत बनाइरहेको भन्दै उनले आफ्नो इज्जतमाथि राजनीति गरिएको दोहोर्याइन् ।

“आफूलाई मन्त्रीले नभई मिडियाले नै बलात्कृत बनाइरहेको भन्दै उनले आफ्नो इज्जतमाथि राजनीति गरिएको दोहोर्याइन् ।”

आफूलाई खाँदै नखाएको विष लागेको भन्दै महताराले आफ्नो ज्यान तलमाथि भए त्यसको जिम्मेवारी पनि गलत समाचार लेख्ने पत्रकारले लिनुपर्ने चेतावनी दिएकी छन् ।

पत्रकार सम्मेलनमा महताराका श्रीमान अम्मरराज सेजुवाल पनि उपस्थित थिए । उनले पनि नेताहरुको आपसी राजनीतिक लफडामा आफूहरुलाई पीडित बनाएको भन्दै दुखेसो गरेका छन् । आफ्नो श्रीमतीमाथि कुनै प्रकारको दुर्व्यवहार नभएको प्रष्ट पार्दै उनले आफूहरुलाई अनावश्यक रुपमा मानसिक तनाव दिइएको बताए ।

केही व्यक्तिले प्रविधिको गलत प्रयोग गरेर भिडियो बनाएको भन्दै सेजुवालले आफूहरूलाई स्वतन्त्र रुपमा बाँच्न दिन उनले अपिल पनि गरेका छन् । अहिले आफ्नो परिवार नै मानसिक तनावको अवस्थामा रहेको भन्दै उनले पटकपटक श्रीमतीले आत्महत्याको प्रयास गरेको बताए । उनले भनेका छन्, ‘मेरो श्रीमतीको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरिएको छ । उसले पटक-पटक आत्महत्याको प्रयास गरेकी छन् । यदि आत्महत्या गरी भने मिडिया र पत्रकार जवाफदेही हुनुपर्छ ।’ उनले मन्त्रीसँगको रिसइवीले आफ्नी श्रीमतीलाई पीडित बनाइएको भन्दै घृणित राजनीति नगर्न आग्रहसमेत गरे ।

यता,कर्णाली सरकारले पनि घटनाबारे चासो राखेको छ । प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सीता नेपालीले महताराले प्रहरी,अदालत वा अन्य कुनै सरोकारवाला निकायमा उजुरी नगरेकाले मन्त्रीलाई दोष दिन नमिल्ने बताएकी छन् । मिडियाले लेखेकै आधारमा मन्त्री शाहीलाई बर्खास्त गर्न नपर्ने पनि प्रष्ट पारेकी छन् ।

टिप्पणीहरू