कुन जोशले काम गर्छन् बिचराले

कुन जोशले काम गर्छन् बिचराले

आमनागरिकमाझ कानुन कार्यान्वयन गर्नुपर्ने प्रहरीहरू आफैँले न्याय पाउन नसक्दा हैरान छन् । वर्षाैंसम्म निलम्बनमा परी भुक्तमान व्यहोरेका तिनीहरूले न्यायालयबाट सफाइ पाएको ८ महिना व्यतित हुँदासमेत संगठनले उचित जिम्मेवारी दिन नसकेकोप्रति चित्त दुखाएका छन् ।

नेतृत्वको ज्यादतीमा पिल्सिएका प्रहरी कर्मचारीले क्षतिपूर्ति पाउनु त परको कुरा योग्यताअनुसार जिम्मेवारीसमेत नदिइँदा महिनौंदेखि हेडक्वार्टरमा पुग्ने, हाजिर गर्ने र फर्कने दैनिकी बनेको छ, एसपी डिल्लीराज बिष्ट र डिएसपी अंगुर जिसीदेखि कुमोध ढुंगेलसम्मको ।

महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा खटिएका आठ प्रहरी लापरवाहीपूर्ण अनुसन्धान गरेको नाममा बर्खास्तदेखि निलम्बनसम्मको शिकार भएका थिए ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाले ७७ साउन २३ गते निर्देशनात्मक आदेश दिँदै, आफ्नो कर्तव्य पालनामा खटिएका र राष्ट्रको सेवामा रगत–पसिना बगाएका जिम्मेवार प्रहरी अधिकारीको मान–प्रतिष्ठा र वृत्तिविकासमै गम्भीर असर पर्ने देखिएको भन्दै क्षतिपूर्ति दिन भनेको थियो। तैपनि, संगठनले उपल्लो तहका प्रहरीलाई भने काममा खटाएको छैन ।

अदालतबाट आदेश आएको ५ महिनापछि २० पुस ०७७ को मन्त्रिपरिषद् बैठकले सेवामा पुनर्बहाली त ग¥यो तर अझैसम्म जिम्मेवारी पाएका छैनन् । सो प्रकरणमा एसपी बिष्ट, केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएका डिएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, रामसिंह धामी र जवान चाँदनी साउद खटिएकामध्ये एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्तीमा परे भने डिएसपी सेठी, निरीक्षक खड्का, सई र धामी अनिवार्य अवकाशमा गइसकेका छन् ।

बिष्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा खटाइएको छ । जहाँ उनीहरूभन्दा तल्लो तहका हाकिम छन्, तिनको अण्डरमा काम गर्न खटाइएपछि उनीहरू हेडक्वार्टरमा हाजिर गर्दै आएका छन् । एसपी बिष्टका ब्याचीमध्ये विकास खनाल, भोला रावल र धु्रव रावतबाहेक सबै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा भएर डीआईजीको प्रतिस्पर्धामा छन् ।

टिप्पणीहरू