सक्नेले डेण्डीकै बाटो किन नसमाउने ? « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

सक्नेले डेण्डीकै बाटो किन नसमाउने ?

प्रकाशित मिति :  १ असार २०७४, बिहीबार १८:४०


नजाने जिन्दगीमा ठक्करका किस्सा कति खाइयो, कति खान बाँकी छ । बाल्यकालमै बुवा आमाको सम्बन्धविच्छेद हुँदा आमाको माया-ममता र प्यार के हो थाहा पाइएन । बुबाले दोहोरो भूमिका निभाइरहनुभएको थियो बीचमा दोस्रो बिहे गरेर सौतेनी आमा भिœयाएपछि माया खट्कियो । तीन वर्षसम्म आमाको काखमा खेल्न पाएको थिएँ । तर, जुन कोखबाट म जन्मेको थिएँ, जसको प्यारमा हुर्कंदै थिएँ, आमाले अर्कैसँग बिहे गरेर बेवारिसे बनाइदिइन् । बुबा पनि कान्छी आमासँग रमाउन थाल्नुभयो । र, म बेवारिसे बने । बाल्यकाल केही थाहा थिएन ।

केवल खानाकै पछाडि दौडन्थे । पेट पाल्नुथियो । जसले खान र लाउन दिन्छ उनीहरूको पछि लाग्थें । लुक्ला पुगें । पेट पाल्नु थियो । लुक्लामा गएर चौरी चराउने काम गर्न थालें । उमेर बढ्दै थियो । हिमालमा ट्रेकिङ नजाने कमै होलान् । साथीभाइसँगको चिनजानपश्चात् उनीहरूसँगै ट्रेकिङ जान थालें । 

सम्झन्छु आफ्नो कहालीलाग्दो विगत त्यतिबेला म १३ वर्षको थिएँ । परिवारमा बुबाआमाको एक्लो सन्तान । मलजलविनाको बिरुवा बनेर हुर्किए । स्याहारसुसार गर्ने आमाबुबाको अत्तोपत्तो थिएन । केही समयसम्म आमाले साथ दिए पनि पछि अरूसँगै अन्तै बाटो तताइन् । बुबाले अर्कै जोडी खोजेर घरजम बसाए । उनीहरूसँग मेरो रगतभन्दा अरू केही नाता छैन । अक्षर के हो चिन्ने मौका पाइनँ । जब, युवापनको टुसा अंकुराउने तरखरमा थियो । अरूझंै विद्यालय जान मन कहाँ नभएको हो र ! नियति नै त्यस्तो हुन गयो । 

अहिले दुई दर्जन बालबच्चाको अभिभावक बनेर उनीहरूलाई लेखाउने र सिकाउने काम गरेको छु । म आफू भने पढ्न र बोल्न सक्छु तर लेख्न सक्दिनँ । हो, राम्रोसँग नेपाली अंग्रेजी भाषा बोल्न र पढ्न सक्छु तर लेख्न जान्दिनँ । बालुवा चाल्ने, ढुंगा बोक्नेदेखि रिक्सा चलाउने काम गरें । तराईमा एक वर्ष रिक्सा चलाएँ । सात वर्ष विदेशीको भारी बोकेँ । त्यसपछि पोर्टर, कुक हुँदै गाइडसम्म बनें । समयले जति फड्को माथ्र्याे मैले पनि त्यति नै फड्को मार्र्दै गएँ । लाग्थ्यो, ‘पोर्टर’ लाई कसले चिन्ला र !’ तर होइन रहेछ । भरिया जीवनबाट मुक्ति पाएँ । इमानदारी भए जहाँ पनि ठाउँ पाइनेरहेछ । विशेषगरी फ्रेन्चका पर्यटकसँग नजिक भएँ । उनीहरूबाटै भरपुर साथ सहयोग पाएँ । अहिले पनि पाइरहेको छु । पछि उनीहरूसँगै फ्रान्स पुगेँ । सन् १९९० मा मेरो पहिलो हवाई विदेश यात्रा भयो । 

फ्रान्समा उनीहरूसँगै हिँड्थें । उनीहरूले जे बोल्थे त्यहीअनुसार बोल्थेँ । जे खान्थे त्यही खान्थें । पाँच वर्ष यसरी नै बिताएँ । त्यसपछि फ्रेन्च भाषा बोल्न सक्ने भएँ । तर, फ्रेन्चमा पनि भरिया नै भएर दिनचर्या बिताएँ । घाँस, दाउरा, खाना तयार गर्ने र गाइगोरु डुलाउने काम गरें । हुन त, मैले जानेको कामै यति हो । योभन्दा अरू सीप मसँग थिएन । खुसीसाथ उनीहरूसँग रमाएँ । फ्रान्स जानु नै त्यहाँको भाषा सिक्नु थियो । सिकँे पनि । त्यसै सिलसिलामा साढे दुई वर्ष कामसँगै भाषा अध्ययन गरँे । भनौँ, उनीहरूसँग अन्तरंग कुराकानी गर्न सक्ने भएँ । त्यसपछि बल्ल नेपाल फर्किएँ । ६÷६ महिनाको अन्तरालमा प्रान्स आवतजावत गर्न थालेँ । यसअघि भाषासँगै त्यहाँको वातावरणलाई नजिकबाट नियाल्ने अवसर पाएँ । माथिल्लो खुम्बुबाट तल्लो खुम्बु झरेजस्तै फ्रान्स जान थाले । फ्रान्सको अन्तिम यात्रा २०१२ मा भयो ।

यसरी फ्रान्स आवतजावत गर्ने क्रममा स्वदेशमै बसेर केही गर्ने सोच बनाए । सन् २००२ मा स्वदेशमै बसेर केही गर्ने सोच बनाएँ । त्यसपछि फ्रान्स जान त्यति जरुर ठानिनँ । फ्रान्सेली साथीहरूसँगको सहकार्यलाई झन् तीव्रता दिएँ । पैसाको कुरा गर्ने हो भने, फ्रान्समा जति कमाउँथें त्योभन्दा बढी यहीँ कमाउँथँे । ट्रेकिङ नै प्रमुख पेसा थियो । यससँगै सामाजिक कार्य गर्ने मनसाय बनाएँ । यतिन्जेल एक छोराको बुबासमेत भइसकेको थिएँ । केही समय पथप्रदर्शकको रूपमा काम गर्न भारत पनि गएँ । नौ महिना भारतमा बसें । जति धनसम्पत्ति कमाए पनि त्यसको कुनै मूल्य नहुँदोरहेछ भन्ने महसुस भयो । एकपटक जन्मदिने बुबाआमा दुवैलाई सम्झेर धिक्कारें । बुबा भारततिर छन् भन्ने सुनेको छु । आमाको भने अत्तोपत्तो छैन । उनीहरूले त्यतिबेला कखरा चिनाइदिएको भए आज अर्कै हुन्थें होला, सायद । तर, आज जहाँ छु खुसी नै छु । आफ्नो बलबुताले भ्याएसम्मका काम इमानदारीसाथ गरिरहेको छु । 

पढ्ने उमेर कटे पनि एकपटक पढ्नका लागि विद्यालय जाने मनसाय पनि बनाएँ । तर, उचित ठानिनँ । विगतका ती दिन सम्झिएँ । बालबालिकाको शिक्षा क्षेत्रमा केही गर्ने आँट कसेँ । आफूले अक्षर चिन्न नपाए पनि मजस्ता खुम्बुका अपांग बालबच्चालाई शिक्षा दिनुपर्छ भन्ने जमर्काे गरेँ । जुन मैले केहीँ समयदेखि बुन्दै आएको योजना थियो । त्यसपछि ट्रेकिङ जाँदाका दृश्य झलझली आँखामा नाच्न थाले । खुम्बुतिरका अपांग बालबच्चाको शारीरिक, मानसिक अवस्था हेरिसक्नु थिएन । गरिबीका कारण घरपरिवारले केही गर्न सक्ने अवस्था थिएन । ती बालबच्चा बेवारिसे लासजस्तो देखिन्थे । तिनै दृश्यले आज मलाई यहाँसम्म ल्याइपु¥याएको छ । त्यसपछि सन् २००५ मा उनीहरूजस्तै अन्य अपांग बालबालिकाका लागि भनेर बाल अपांग टेवा संस्था सञ्चालनमा ल्याए ।

त्यसपछि ट्रेकिङसँगै समाजसेवामा आबद्ध भए । तर, कसैले समाजका लागि केही गर्न खोज्यो भने यहाँ खुट्टा तान्नेहरूको जहीँतहीँ घुइँचो लाग्ने रहेछ । त्यतिबेला साथीभाइलाई अपांग बालबालिकाका लागि सहयोगको अपेक्षा गर्दा निराशा पनि बनाइदिए । कुरा सुन्न चाहेनन् । म उनीहरूलाई के नै भन्न सक्थेँ र ? आफ्नो लक्ष्यमा अडिग रहेँ । निराशा भइनँ । जसोतसो गरेर बाल अपांग संस्था सञ्चालन गरेँ । अहिले तिनै बालबालिकासँग सुख–दुःख साटिरहेको छु । शिक्षकबिना विद्यार्थी बन्न असम्भव छ । मैले जीवनमा पुस्तक समाएर लेख्ने, पढ्ने अवसर पाइनँ । तर, शिक्षक बन्न किताब नै पढेको मान्छे हुनुपर्दाेरहेछ भन्ने होइन रहेछ । अहिले उनीहरूको हातमा पुस्तक देखेर महसुस गर्छु । शिक्षक नभएर के भो त ! उनीहरूलाई पढाउने र लेखाउने मौका पाएको छु । उनीहरूलाई नयाँ जीवन दिएको छु जस्तो लाग्छ । 

बूढानीलकण्ठ नगरपालिकास्थित आकाशेधारा, कपनमा चार रोपनी दुई आना जमिन भाडामा लिएर बाल अपांग टेवा समाज सञ्चालन गरेको छु । १२ गते गएको भूकम्पले कपन दुर्गामन्दिर नजिकै रहेको भवन क्षतिग्रस्त बनेपछि स्थानान्तरण गरियो । भूकम्पप्रतिरोधात्मक २० कोठे भवन निर्माण गरिएको छ । बालबालिकाका लागि पढ्ने, सुत्ने, लाइब्रेरीसहित किचन कोठाको छुट्टै व्यवस्था छ । खेलकुदलगायत अन्य अतिरिक्त क्रियाकलापका भवन अगाडि मैदान सम्याइँदै छ । गार्मेन्टबाट उत्पादन भएका सामान विदेश निर्यात पनि हुन्छ ।

कपडाका झोला जापान, अमेरिका र फ्रान्समा पठाउने गरेका छौँ । त्यसैले आयस्रोत भनेकै, यही गार्मेन्ट हो । यसले नै बालबालिकाको गुजारा चलाइरहेको छु । मासिक एक लाख रूपैयाँ जग्गा भाडा तिर्नुपर्छ । आज मसँग जतिजना विद्यार्थी छन् जसोतसो गरेर उनीहरूको जीवनयापन चलाइरहेको छु । एक जना उच्च माध्यमिक कक्षा १२ मा अध्ययनरत छन् भने एकजना स्नातक तहमा अध्ययन गरिरहेका छन् । उनीहरूको चेतना साधारण विद्यार्थीभन्दा कम छैन । सबै विद्यार्थीलाई उच्च तहसम्म अध्ययन गराउन नसके पनि आर्थिक स्थिति कमजोरी भएका बालबालिकालाई विशेष प्राथमिकतामा दिएर अध्ययन÷अध्यापन गराइरहेका छन् । संस्थामा जति विद्यार्थी छन् उनीहरू सबै खुसीसाथ बसेर अध्ययन गरिरहेका छन् ।

संस्थाले अपांग बालबालिकालाई १२ कक्षासम्म अध्ययन गराउने मुख्य उद्देश्य हो । तर, आर्थिक स्थिति कमजोरी भएकाहरूलाई उच्च तहसम्म अध्ययन अध्यापन गर्ने सोच बनाएका छौँ । तर, पहिलो कुरा आर्थिक अवस्था नै भएका कारण संस्थाले सबैलाई उच्च तहसम्म अध्ययन गराउने सम्भावना छैन । यसका लागि अन्य पहलकदमी गरिरहेको छु । सन् २०२२ सम्म आफ्नै विद्यालय, अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ ।
अहिले टेवामा सोलुखुम्बु जिल्लालगायत अन्य ठाउँका २० जना अपांग बालबालिकालाई निःशुल्क पठनपाठनसहित आवास सुविधाको प्रबन्ध मिलाएको छु । विशेष चाडपर्व दसैँ–तिहारको छुट्टीमा बुबाआमालाई भेट्न गाउँ पनि पठाइदिन्छु । बेलाबेला छोराछोरीलाई भेट्न अभिभावकहरू आफैँ यहीँ पनि आउँछन् । कुनै–कुनै अभिभावकहरू आफ्नो छोरा बोर्डिङमा पढेको सुनेर निकै खुसी भएर फोन सम्पर्क गरेर रुन्छन् पनि ।

त्यसपछि उनीहरूलाई सम्झाई बुझाई गर्छु । अहिले विशेषगरी राजधानीका नाम चलेका विभिन्न स्कुल तथा कलेजहरूले बालबालिकाको पठनपाठनमा सहयोग गर्नुभएको छ । जसले गर्दा बालबालिकाका लागि शिक्षामा केही थप सहयोग भएको छ । आम्दानी अर्काे मुख्य स्रोत भनेको मेरो आफ्नै गार्मेन्ट फ्याक्ट्री छ । साँच्चै भन्ने हो भने, गार्मेन्टबाट आएको रकमले नै विद्यार्थीको (गाँस, बास र कपास) व्यवस्थापन भएको छ । गार्मेन्टमा पर्यटकका लागि चाहिने सामग्रीदेखि विभिन्न स्कुल तथा कलेजका पोसाक, झोलालगायत अन्य आवश्यक सामग्री उत्पादन गर्छाैं । फ्याक्ट्रीमा आठ जना महिला कार्यरत छन् । उनीहरूले नै उत्पादन गरेको सामग्री बेचेर अपांग बालबालिकाको जीवन चलाइरहेको छु । अर्कातिर संस्थालाई अघि बढाउन कोरियाको सामसल संस्थाको महत्वपूर्ण योगदान छ । सन् २००९ देखि निरन्तर विभिन्न कार्यक्रम तथा योजना ल्याउँदै बालबालिकाको शिक्षालगायत अन्य क्षेत्रमा महत्वपूर्ण सहयोग गरेको छ । कोरियालगायत अन्य दातृ निकाय संस्थाबाट पनि सहयोग पाइरहेका छौँ । बाल्यकालमा बेवारिसे भए पनि अहिले यिनै बेवारिसेहरूको साथी बन्न पाउँदा उनीहरूलाई अभिभावकत्व निभाउन पाउँदा एक बारको जुनी सार्थक ठानेको छु । 

  • डेण्डी शेर्पा, संस्थापक, अध्यक्ष, बाल अपांग टेवा समाज


प्रतिक्रिया दिनुहोस !