झलनाथ खनालद्वारा कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा

झलनाथ खनालद्वारा कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा

पूर्वप्रधानमन्त्री तथा नवगठित नेकपा एकीकृत समाजवादी (एस) का वरिष्ठ नेता झलनाथ खनालले आफू पार्टीको कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीबाट स्वास्थ्य उपचार गराएर आज नेपाल फर्किनुभएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसामु कुरा गर्दै यस्तो बताउनुभएको हो।

नेता खनालले आफू ७० वर्ष नाघिसकेकाले कार्यकारी जिम्मेवारीमा रहने नैतिक अधिकार नरहेको पनि बताउनुभयो । तर बाँचुञ्जेल देश,जनता,कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा निरन्तर लागिरहने उहाँको भनाइ छ ।

आफूले नाफाको जीवन पाएको भन्दै उहाँले अब सम्पूर्ण रुपले देश र जनताको पक्षमा समय खर्चिने पनि प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु ।’

नेकपा एमालेमा आएको विभाजनबारे आफ्ना धारणा राख्दै पूर्वप्रधानमन्त्री खनालले केपी ओलीको गुटवादी मानसिकता, अहंकार र व्यक्तिवादका कारण विद्रोह अनिवार्य बनेको बताउनुभयो । अहिले थोरै मान्छेले बिद्रोह गरेपनि हजारौँ,लाखौँ हुँदै क्रान्तिको विकास हुने उहाँले दाबी गर्नुभयो ।

टिप्पणीहरू