हामी त हनुमानजस्ता भयौँ

  • प्रदीप पौडेल, कांग्रेस केन्द्रीय सदस्य

कांग्रेस नेतृत्वको सबभन्दा कान्छो पुस्ताका प्रतिनिधि हुन्, प्रदीप पौडेल । नेविसंघ हुँदै कांग्रेस केन्द्रीय सदस्यसम्म त पुगेका छन् । तर, पार्टी नेतृत्वमा पुरातनपन्थी मानसिकता रहँदा उनी र उनीजस्ता थुप्र्रै युवा कांग्रेस पाखा लगाइएका छन् । आन्तरिक लोकप्रियताको जगमा जबरजस्त उनी पार्टी नेतृत्वमा स्थापित भएका हुन् । कांग्रेसभित्रका उनी थरजस्तै पौडेलपक्षधर हुन् । 

० देउवाको मन्त्रिपरिषद्मा सहभागी गराउने सन्दर्भमा पार्टीको एउटा पक्षले असहमति जनाइरहेको छ । किन ? 

– कांग्रेस पार्टी अवसर र चुनौतीको बीचमा छ । त्यो चुनौतीको सामना गर्नका लागि हामीले आन्तरिक एकतालाई सुदृढ बनाएर अगाडि बढ्नुपर्छ । मुख्य गरी भागबन्डा नगर्ने, भागबण्डाको पक्षमा छैन भनिए पनि सबैलाई भाग चाहिएको छ । त्यसैका निम्ति यी विषयहरू उठेका हुन् । सभापतिले पनि सबैसँग परामर्श गरेर अगाडि बढ्नुपर्छ । अहिले कांग्रेसले मुलुकको नेतृत्व गर्ने अवसर पाइरहेको छ । सभापतिलाई पनि हामीले सहयोग गर्नुपर्छ । हाम्रो अगाडि जुन चुनौती छ त्यो चुनौतीको सम्पूर्ण रूपमा सामना गर्न सकेनौं भने त्यसले कांग्रेसकै शाख गिराउँछ । यो अवस्थामा आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ पूरा गर्नका लागि प्रेरित गर्नुपर्छ । 

० रामचन्द्र पौडेल खेमाका महेश आचार्यको नाम रातारात काटिनु, सो ठाउँमा ज्ञानेन्द्र कार्कीहरूले अवसर पाउनु । एउटा खेमाले शपथग्रहणको कार्यक्रम नै बहिष्कार गर्नु । यो अवस्थाबारे के भन्नुहुन्छ ? 

– ठ्याक्कै भित्र के भएको हो त्यो त म भन्न सक्दिनँ । महेश आचार्यको नाम चर्चामा थियो । अर्थमन्त्री हुनका लागि स्वाभाविक पनि हो । त्यो ठाउँमा ज्ञानेन्द्र कार्की आउनुभयो । तर, यही विषयले कांग्रेसभित्र समस्या छ, झगडा छ भन्ने सन्देश बाहिर जानु हुँदैन । भागबण्डा नमिलेकै कारण यस्तो भएको हो भन्ने म अनुमान गर्न सक्छु । 

० उही गठबन्धनमा नेतृत्वका लागि मात्र सरकार फेरिनुलाई के भन्नुहुन्छ ?

– एकदमै राम्रो हुन सक्ने अवस्था थियो भने सरकार नफेरिने, लामो समयसम्म चलिरहने । स्थिरताको बाटोतिर मुलुक जानु राम्रो कुरा हो । तर, हामीसँग कुनै पनि पार्टीको संसद्भित्र स्पष्ट बहुमत छैन । बहुमत नहुँदा गठबन्धन हुने र सो गठबन्धन नै सरकार निर्माणको मुख्य आधार बन्ने गरेको छ । अहिले कांग्रेस र माओवादीबीच भएको सम्झौताकै आधारमा अगाडि बढिरहेको छ । कमसेकम दुबै पक्षले सहमतिलाई अक्षरशः पालना गरे । अहिले हाम्रा लागि यही पनि ठूलो विषय भएको छ । परिवर्तन भएको सरकारको कार्यभार समयमै पूरा गर्न सक्छ÷सक्दैन ? जिम्मेवारी पूरा गर्नका लागि दोस्रो तह, प्रदेश, नयाँ संसद्को निर्वाचन माघ ७ गतेभित्र गरिसक्नुप¥यो । यी जिम्मेवारी पूरा गर्नसक्यो भने गठबन्धनको सार्थकता हुन्छ । पूरा गर्न सकेन भने सार्थकता रहँदैन । कांग्रेसले नेतृत्व गरेर मुलुकलाई परिणाम दिन सक्ने अवस्था पनि रहँदैन । त्यसैले ठूलो चुनौती सरकारले सामना गर्नुपर्ने हुन्छ । चुनौती सामना गर्नका निम्ति आन्तरिक एकताबाट अन्य दल शक्तिलाई पनि साथमा लिएर यी विषय पूरा गर्नुपर्छ ।  

० देउवाको उदयपछि कांग्रेसमा आन्तरिक लोकतन्त्र झन् संकटमा परेको टिप्पणी सुन्न पाइन्छ । वास्तविकता के हो ? 

– परिवर्तनको अपेक्षा गरिएको थियो तर चल्ने तरिका उस्तै भयो । परिणाम देखिएन । बहस छलफल गरी निष्कर्ष निकाल्ने, विधि प्रक्रियाबाट अगाडि बढ्ने अवस्था रहेन । मुख्य कुरा पार्टीले मुलुकको समस्या समाधान गर्न योगदान गर्नुपर्ने थियो तर बढी सत्ताकेन्द्रित भएको हो कि ?

भनेजस्तो देखियो । तसर्थ यी चुनौतीको सामना हामीले गर्न सकेनौं भने हामीमाथि विभिन्न कोणबाट आरोप लाग्ने अवस्था छ त्यो अझ प्रमाणित हुन्छ । तेस्रो पार्टीलाई समर्थन गरेर सत्तामा लग्यौं । उसले एकहदसम्म पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरायो । उहाँहरूको समर्थनमा हामीले सरकारको नेतृत्व गर्न अवसर पाएका छौं । यसअघि कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको छ, त्यो संविधान कार्यान्वयन गर्न हामीले अवसर पाएका छौं । त्यो अवसर पूरा गर्न सक्यौं भने जस लिन सक्छौं । सकिएन भने नेतृत्व असफल भएको पुष्टि हुन्छ । 

० वर्तमान नेतृत्वबाट पूरा हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? 

– माघ ७ गतेभित्र तीनै वटा निर्वाचन गर्न जुन जिम्मेवारी छ त्यो पूरा गर्न नसकेको खण्डमा कांग्रेसका लागि मात्र होइन, देशकै लागि ठूलो दुर्घटना बन्न पुग्छ । तसर्थ प्रधानमन्त्रीज्यूको अर्जुनदृष्टि निर्वाचनमा मात्र केन्द्रित हुन जरुरी छ । दोस्रो चरणको निर्वाचन, प्रान्त हुँदै केन्द्रीय संसद्को निर्वाचन पूरा गर्नु छ । यी तीनैवटा निर्वाचन माघ ७ भित्रै गर्नुपर्छ । संसद्को आयु यो कुनै पनि बहानामा लम्ब्याइनुहुँदैन । सांसदको आयु बढाउनु दुर्भाग्य हुन्छ । जसले नेपालको लोकतन्त्र, गणतन्त्रलाई नै समाप्त गर्छ । यो कुरा प्रधानमन्त्रीले मुख्य रूपमा बुझ्न जरुरी छ । 

० प्रदेश नम्बर २ र ५ को निर्वाचन तेस्रो चरणमा गर्न कुरा पनि जोडतोडसाथ उठिरहेको छ । यसबारे के भन्नुहुन्छ ? 

– आन्दोलनकारी पक्षले आफ्नो पक्षले प्रभाव क्षेत्रमा तेस्रोमा गरौं भन्ने अवस्था हुन सक्छ । त्यो सुविधा लिन खोजेको हुनुपर्छ । तर, दोस्रो चरणमा बाँकी सबै निर्वाचन पूरा गरिनुपर्छ । सरकारले राजपाले उठाएको मुद्दाबारे तत्काल केही गर्न सक्ने अवस्था रह्यो भने त्यो गर्नुपर्छ । आन्दोलनमा घाइतेको क्षतिपूर्ति, सहिद घोषणा यी विषय तत्कालै गर्न सकिन्छ । फेरि १४ गतेको निर्वाचन सारिने कुरा शंका गर्ने ठाउँ देखिन्छ । यसरी निर्वाचन सारिए विखण्डनको मुद्दाले प्रश्रय पाउँछ । त्यसैलाई मलजल हुन्छ । तसर्थ तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ ।  

० प्रधानमन्त्री निर्वाचनमा राजपाले कांग्रेसको पक्षमा मतदान ग¥यो । तर, त्यही सरकारले गर्न लागेको निर्वाचन बहिष्कार गर्दै छ । यसमा कस्तो नियत पाउनुहुन्छ ? 

– संविधान संशोधनको मुद्दा दोस्रो चरणको निर्वाचनअगावै पूरा हुन्छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको अवस्था होइन । अदालतको आदेशलाई अवज्ञा गरेर स्थानीय तहको संख्या वृद्धि गर्छु मलाई समर्थन गर्नुस् भन्नुभएको पनि होइन । सामान्य मान्छेले पनि बुझ्ने कुरा हो अदालतको आदेशलाई अवज्ञा गर्न सकिँदैन । संविधान संशोधनको मुद्दालाई दोस्रो चरणको निर्वाचन अगाडि पूरा गर्न सकिँदैन । यदि, तेस्रो चरणको निर्वाचनको मिति तोकिए पनि संविधान संशोधनको मुद्दा निर्वाचन अगाडि सल्टिन सक्दैन । कांग्रेस आफैंले संविधान संशोधन प्रस्ताव गरेको हो । त्यो प्रस्तावप्रति कांग्रेस राजपाजस्तै इमानदार छ । राजपाले कांग्रेसलाई शंका गर्नुपर्ने कुनै ठाउँ छैन । जसले आफैं प्रस्ताव ल्याउँछ । सो प्रस्तावक भएर प्रस्तुत भएको छ । वैधानिक हिसाबले संविधान संशोधन प्रस्तावक राजपा होइन, कांग्रेस हो । तसर्थ प्रस्तापक आफ्नै प्रस्थावप्रति इमानदार हुँदैन भनेर सोच्नु इमानदारी होइन । यद्यपि, कुनै पनि बाहनामा निर्वाचन सार्ने, तेस्रो चरणमा निर्वाचन गर्ने कुरा कसैका लागि पनि हितकर हुँदैन । 

० पहिलो चरणको स्थानीय निर्वाचनमा कांग्रेसले आफ्नो पुरानो वर्चस्व कायम राख्न सकेन । यो क्षतिको कारक के हो ? 

– ०७० को निर्वाचनमा गणितीय हिसाबले कांग्रेस पहिलो पार्टी थियो । अहिले यो हामीबाट खोसेर एमालेले खोसेर लिएको छ । यद्यपि, निराशै हुनुपर्ने अवस्था छ भन्ने होइन तर निर्मम समीक्षा हुन जरुरी छ । किन दोस्रो भइयो, किन प्रमुख स्थानमा हामीले विजय हासिल गर्न सकेनौँ ? किन मेयर हारेर उपमेयर मात्र जितियो ? किन वडाध्यक्ष धेरै जितेर उपप्रमुख हारियो ? यो विषयमा समीक्षा गर्नु जरुरी छ । २१औं शताब्दीमा कांग्रेसजस्तो पार्टीले हारको कारण पत्ता लगाउन सक्दैन भने त्यो पार्टी आफैंमा व्यवस्थित छैन भनेर भनिने स्थिति बन्छ । समीक्षा गर्ने सन्दर्भमा टिकट वितरणमा विधि अपनाउनु जरुरी छ । यो विधिले टिकट वितरण गर्दै न्याय हुने र पार्टीले जित्ने अवस्था रहेन । कांग्रेस भएर रूखबाहेक अन्यन्त्र भोट हाल्ने छुट कसैलाई हुनुभएन । त्यो अर्काे समीक्षाको विषय हो । तेस्रो कुरा निर्वाचनको मुखमा महाभियोग प्रस्ताव, आइजिपी, राजदूत प्रकरणले पनि हाम्रो भोट घटेको छ । चौथो कुरा गठबन्धन अपवित्र भयो । पहिला–पहिला कम्युनिस्टले पनि कांग्रेसलाई भोट हाल्थे तर यसपटक कम्युनिष्ट विरोधीले कांग्रेसलाई भोट हाल्ने अवस्था भएन । साझा पार्टी, विवेकशीलको नाममा पनि कांग्रेसको भोट काटियो यस्तै कमजोरीका कारण हो कि जस्तो लाग्छ । 

० प्रधानन्यायाधीश काण्ड, आइजिपी प्रकरण, राजदूत काण्डजस्ता सभापतिको विचलनमा तपाईंहरूजस्ता युवाको भूमिका पनि शंकास्पद रह्यो । मौन रहनुभयो । किन ? 

– निर्वाचनको मुखमा ती काण्ड भएका कारण जोडदार रूपमा उठाउन नसकेको कुरा सत्य हो । अब ती विषयमा हामी असहमत थियौं । पार्टीभित्रको एकता कायम राख्नुपर्छ भनेर अडिग थियौं । फेरि यी विषयका सन्दर्भमा यति धेरै परिवर्तन छिटोछिटो ढंगबाट भयो कि हामीले फरक ढंगले यी विषय उठाउने वातावरण पनि बनेन । मुख्य गरी निर्वाचन केन्द्रित हुनुपर्ने र निर्वाचनमा कांग्रेसलाई जिताउनकै लागि हामीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने भएका कारण ती विषय उठाउन र बहस हुन सकेन ।   

० दोस्रो चरणको उम्मेदवारी चयनमा कांग्रेस–कांग्रेसबीचमै झडपको स्थिति (इटहरीमा) देखिएको छ । किन यो स्थिति आयो ?

टिकट वितरणको सन्दर्भमा कतिपय ठाउँमा भागबण्डा भएको छ । भागबण्डा पनि जित्ने आधारमा भइदिएको भए पनि हुन्थ्यो । भागबण्डा हुँदा जित्ने ठाउँ पनि गुमेको देखिएको छ । त्यसैले मैले अगाडि नै भनें यो विधिबाट न्याय हुँदैन । विधि नै परिवर्तन गर्नु जरुरी छ । तसर्थ कतिपय ठाउँमा टिकट वितरणमा फेरि पनि समस्या देखिएको छ । विधि परिवर्तन नगरी सच्याउन सक्दैनौं ।

० कुनै समय कांग्रेसलाई हराउन अरूले गठबन्धन बनाउनुपथ्र्याे । अहिले कांग्रेस आफैं अरूको बैसाखी टेकेर हिँडिरहेछ । गठबन्धनका नाममा अप्राकृतिक गठबन्धन बनिरहेको छ । यस्तो दृश्य देख्दा तपाईहरूको ‘मन’ पोल्दैन ? 

– हनुमानले आफ्नो शक्ति आफैंले थाहा नपाएजस्तो हालत भयो कांग्रेसको । सबै कांग्रेसले रूखमा भोट हाल्ने स्थिति निर्माण गर्न सक्यौं भने हामीले कसैसँग तालमेल गर्नुपर्दैैन । अहिले पनि कांग्रेसप्रतिको समर्थन नेपाली समाजको गुमेको अवस्था छैन । नेपाली समाजमा कांग्रेसपार्टीलाई तिरस्कार गरेको अवस्था होइन । यद्यपि, हामीप्रति प्रशस्त गुनासा छन् । ती गुनासालाई सच्याउनु जरुरी छ । हाम्रो व्यवस्थापन प्रभावकारी हुन सकेको छैन । आफ्नो भोट सुरक्षित गर्न सक्दैनौं अरूसँग मिलेर जित्ने कोसिस गर्छाैं । यही कारण हाम्रो भोट गुम्ने स्थिति आयो । हाम्रो नेतृत्वले विभिन्न बहानमा आफ्नो स्वार्थपूर्तिका लागि एलायन्स गर्ने स्थिति बनेको छ । आफ्ना समर्थकका गुनासाको सम्बोधन र त्रुटि सच्च्याउन जरुरी छ । 

० नेतृत्वले तपाईंहरूजस्ता युवाको कुरा कत्तिको सुन्ने गरेको छ ? 

– सबै विधि प्रक्रिया पूरा गरेर निर्णय गर्ने अवस्था अझै बनेको छैन । मलाई व्यक्तिगत रूपमा माया गर्नुपर्छ भनेको होइन । पार्टीमा म र मजस्ताको ‘पोजिसन’ स्वीकार गरिनुपर्छ । पार्टीको संरचनागत स्वरूपलाई क्रियाशील बनाएर पद्धतिसंगत ढंगले निर्णय हुन सकिरहेको छैन । पार्टीमा सच्चिनुपर्ने मुख्य कुरा यही हो । यो नसच्चिएसम्म र कार्यान्वयन नभएसम्म हामी यो कुरा उठाइरहन्छौं ।

टिप्पणीहरू