अक्टोपसहरूको अचाक्ली ओहोरदोहोर « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

अक्टोपसहरूको अचाक्ली ओहोरदोहोर

प्रकाशित मिति :  १ असार २०७४, बिहीबार १८:२७


  • रामकुमार एलन

मकवानपुरको अति दुर्गम अनि थोरै मतदाता भएको सानो गाविस थियो खैराङ । ढुंगामाटो पनि एमालेमय भएको ०५४ । उन्मादिला रहरको झुप्पो बोकेर राजनीतिमा झ्वाम्म हाम्फालेका राजकुमार मल्ल गाविस अध्यक्ष भए । कम उमेर, बढी सपना । बहुमत जनताको साथ । तिनै राजकुमार मल्ल १९ वर्षपछि भएको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट राक्सिराङ गाउँपालिका अध्यक्षमा निर्वाचित भए । खैराङ, राक्सिराङ, सरिखेत, काँकडालगायत गाविस गाभेर बनाइएको र चेपाङबस्तीको मुकाममा ‘मल्लराजा’को सत्तारोहण भयो । ०५४ सालमा आफ्नै साथी, जो एमालेबाट विजित अध्यक्ष लालबहादुर थापालाई यसपटक पराजित गर्दै मल्ल कांग्रेसबाट पो गाउँपालिका अध्यक्ष भए । कांग्रेसमा आउनुअघि मल्ल माओवादीमा थिए । माओवादी हुँदा उनी स्वाभाविक रूपले ‘भूतपूर्व’ एमाले थिए । त्यतिमात्रै होइन त्यही भूमिमा एउटै सामाजिक संस्था खोलेर मल्ल र थापाले वर्षौँ जनताको सेवा गरे । एउटै कुलको पानी पिएर, एउटै बाटो हिँडेर मात्र होइन, एउटै सतरन्जामा रात गुजारेर राजनीति गरे । चेपाङ भाषामा ‘रोक्साइ’ भनेको खुर्सानी, ‘राङ’ भनेको बारी । त्यही खुर्सानीबारीकै नाम अपभं्रश हुँदै ‘राक्सिराङ’ हुँदा माओवादी केन्द्रका हल्दर चेपाङ र एमालेका सुन्तली चेपाङहरूको भने गाउँपालिकामा पुग्ने दिन आएन । झिनो मतभेदमा पार्टी ओहोरदोहोर गर्नेहरूले गाउँपालिका अध्यक्ष पड्काइदिए । 

०५४ सालमा स्थानीय निर्वाचनताका गजबका बान्किलाहरू थिए । झोलामा एउटा प्याजको गेडा बोकेर गाउँगाउँ प्रचारमा जानु, कार्यकर्ताले भात खाने बेला आफू पछि खाने भनेर जीवनजलजस्तो पातलो दाल र मोटा चामको भात खाएर राजनीति गर्नु साँच्चै गौरवको विषय हुन्थ्यो । कार्यकर्ताले दिने एउटा ढिँडे खुर्सानी अनि झोलामा बोकेको प्याजको टुक्रा चपाउँदै सादगी नेता मनमोहन अधिकारीको तस्बिर हेर्दा पनि एमालेजन साम्यवाद आएर समाजवादमा मुलुक प्रवेश गरेको मीठो सपनामा चौतारामा पीपलको रूखमुनि सुत्दा गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल सिंहदरबारमा तीन लाखको पलङमा सुकला गरेको भन्दा हजार गुणा आनन्दित हुन्थे ।

समय फेरियो, कार्यकर्ताको स्वाद फेरियो । मनहरि गाउँपालिका अध्यक्षमा विजित एमालेकै एकराज उप्रेती सुनाउँछन्, ‘राति १ बजे फोन गरेर आफैंले हिजो पार्टीमा प्रवेश गराएका, पर्दा सहयोग गरेका भाइहरू, पैसा नभएको मान्छे किन उठिरा’ चुनावमा भनेर थर्काउँछन् । एकपटक त छाडिदिऊँ यिनै राइनासेहरूलाई झैँ लागेको थियो ।’

हो, यसपटक एमालेले ३ नम्बर प्रदेशमा मात्रै ५२.३४ प्रतिशत भूमिमा गाउँपालिका जितेको छ । हेटांैडा उपमहानगरपालिकाको कुरा गर्ने हो भने एमालेपछि दोस्रो शक्ति देखिएको कमल थापाको गाईछाप र पशुपति शमशेरको हलो छापहरू एक हुँदा एमाले हार्छ कि भन्ने चिन्ता थियो । यी दुवै माओवादी र कांग्रेसको समीकरणमा लिलाम भएछन् । एमाले शासन सिध्याउने भन्दै लागेको महाअभियानमा कार्यकर्ता रत्तिपछि कमल थापाले भनेको मेरो र दीपक सिंहको रगत छ मधु अधिकारीमा भनेर उम्मेदवार बनाएका मधु चैँ तातो घाममा भोट कति आयो भनेर एजेन्ट सेकिइरहँदा सपरिवार ओम हलमा ‘बाहुबली’ हेरिरहेको भेटिए । फेसबुकमा लेख्दैथिए, ‘कार्यकर्ता जोगाउन सकिएन, बेचिए ।’ 

दुई दशकपछि जनताको अपेक्षा केही नयाँ छैन । दलहरूले गरेनन् । जनता मिलेर गाउँमा प्लस टु कलेज खोलेकै छन् । सहकारीमा पैसा जम्मा गरेकै छन् । बाटो लगेकै छन् । बिजुली पु¥याएकै छन् । केही नभए पनि घरको छानामा ‘डिस होम’ छ । घरपछाडि भोड्का र बियरको बोतलको चाङ छ । यति भएपछि नेपाली ‘गरिब’ छन् भन्नै मिलेन । गरिब त यिनै नेता छन् । जो आफू सत्तामा पुग्न कार्यकर्ता बेच्छन् । कार्यकर्ता उचाल्छन्, प्रतिपक्षी पार्टी त भइहाले । आफ्नै पार्टीभित्र पनि अस्थायी गुटको कोटरी बनाएर आफू विजित हुन मरिहत्ते गर्छन् । गुट फेर्छन, पार्टी फेर्छन् । झण्डा भारतको चोर्छन् । गाउँलेले भनेका छैनन् । यताको यति र उताको यति मिलाउँदा जितिन्छ भनेर स्थानीय तह फेर्छन् । कार्यकर्ता र जनता भेँडा हुन् भन्ने सोचेर पैसाका भरमा चुनाव जित्ने वातावरण बनाउँछन् । 

‘ह्विस्की र ब्रान्डी’ मय भएको ‘लोकल राजनीति’ ले यसपटक श्रीमान्÷श्रीमतीबीच डिभोर्स गराएको छ । दाजुभाइ नै एउटै पदमा उठ्दा बैतडी डिलाशैनी–१ का ६८ वर्षीय जञ्जाली रानामगर बिलखबन्दमा परेका छन् । भोट जेठो छोरो कर्ण (कांग्रेस)लाई हालौँ कि कान्छो छोरो लोकेन्द्र (माओवादी) लाई हालौँ भन्ने परेको छ । पार्टीहरू कति बेइमान छन्, एउटै घरका दाजुभाइलाई एउटै पदमा उठाएर जग हसाउँछन् । ६८ वर्षमा जञ्जालीलाई परेको पिर नेपाली समाजको प्रतिनिधि पिर हुनै सकेन । समवेदनारहित र आवेग तथा आक्रोशसँगै ‘धनवर्षा’को राजनीतिले कतिसम्म बनायो भने एमालेले समेत वीरगञ्जमा मेयरको उम्मेदवार नपाएर निर्वाचनको १७ दिनअघि प्रवेश गराएका मेडिकल कलेज सञ्चालकलाई टिकट दिँदैरहेछ । लाग्छ अबका चुनावमा प्रदीप ज्ञवालीहरू होइनन् प्रदीप केडियाहरू जित्नेछन् । शंकर पोखरेलहरू होइनन्, शंकर अग्रवाल, गोल्छाहरूले एमाले छपक्कै हुने दिन सुरु भयो कि भन्ने छ । स्थायी कमिटी सुरेन्द्र पाण्डेकै भूगोल राप्ती नगरपालिकामा एउटा वडाध्यक्षका उम्मेदवार जम्मा १ लाख रुपैयाँ ब्याज तिर्ने गरी ऋण माग्न जाँदा भण्डाराका साहुले नपत्याइदिँदा जम्माजम्मी ११ भोटले चुनाव हारे । भएको ४ लाख सकेछन् । यो राजनीतिक पीडाको क्षतिपूर्ति तिर्न सक्छ दलहरूले सादगी राजनीति गर्ने नेतालाई अब ?

यसपटकको निर्वाचन निकै भरलाग्दो मात्र छैन, डरलाग्दो पनि छ । २०४८ सालदेखि सत्ता छिनाझप्टीमा ‘पटके तुरूप’ बनेको एउटा शक्ति ‘राप्रपा’ यसपटक नराम्ररी ओरालो लागेको छ । मुलुकमा चेतनाको घण्ट बजाउने र परिवर्तनको सूचक हुँ भनेर ‘२४ क्यारेट’को फुर्ती गर्ने नयाँ शक्ति धरौटी जोगाउन असफल देखिएको छ । निर्वाचन उपचार होइन, विद्रोह सञ्जीवनी हो भन्ने मोहन वैद्यको माओवादी काठमाडौं महानगरपालिकामै दुई सय भोट नआउने अवस्थामा पुगेको छ । अनि तराईका जनतालाई ढुंगा बसमा हान्न लगाएर रत्नपार्कको अनशनबाट एकैपटक नयाँ संविधान मान्दिनँ भनिरहेका बेला त्यही संविधानको आडमा बन्दै गरेको नयाँ सरकारलाई भोट हाल्न हतारिएको मधेसीहरू दुई चिरा भएका छन् । सोमबार मात्रै सर्लाहीमै पुगेर उपेन्द्र यादवले दिएछन् जवाफ, ‘भोट हाल्ने जनताको अधिकारमा अवरोध गरे गरिन्छ प्रतिरोध ।’

२००८ सालमै कांग्रेसबाट धोका खाएको मधेसी शक्ति यतिखेर भारतीय पार्टीको झण्डामा छाता राखेर तराईको गर्मीमा होइन, सिंहदरबारको सत्तामा शितल खोजिरहेका छन् । आफू प्रधानमन्त्रीलाई भोट हाल्न हतारिने र जनतालाई मतदान नगर भन्ने उनीहरूको तर्कको जवाफ उपेन्द्र यादवले नै दिइसकेका छन् । कांग्रेस माओवादीझैं संविधान संशोधन नगरी तराईमा बरु चरणचरणमा निर्वाचन गरेर यिनै राजपाको पनि मत लिएर पहिलो शक्ति बन्ने लोभमा छ । यस्तो बेला यिनले बहिष्कार गर्ने स्थानीय तहको निर्वाचन पनि ०७० मा मोहन वैद्यहरूले गरेको झैँ हुनेछ । निर्वाचन बहिष्कार कति घातक भयो भन्ने जवाफ काठमाडौं महानगरपालिकाको निर्वाचनमा आएको मत परिणामले देखाइसकेको छ । साझा, नयाँ गफ दिएर जनतामा जाँदा के हुँदोरहेछ भन्ने जवाफ बाबुराम भट्टराईले भेटेका छन् । सत्ताको रसमा रत्तिँदा जनता कति बेखुश रहेछन् भन्ने कुरा कमल थापा हेरेपछि बुझे हुन्थ्यो राजपाका नेताले । तराईकै पत्रकार संसद्मा राजनीमा दिएर जाऊ तराई भनिरहेका छन् ।

तर, राजपाको राजनीति ‘भारण्डपक्षी’ झैँ छ । केन्द्रमा अध्यक्ष मण्डलका सदस्य भएका छन् । पुरानै अनुहार, पुरानै सोच, पुरानै कार्यशैली, पुरानै विधिविधान । अनि सत्तारसमा डुब्न क्षणभरमै पार्टी फोर्न, छोड्न र जोडिन सक्ने अक्टोपस शैलीको आकारप्रकारमा प्रस्तुत हुने अचाक्ली ओहोरदोहोरबाट तराईका जनता मात्रै होइनन्, यसपटक पूर्व भारतीय राजदूत राकेश सुदसमेत वाक्क भएछन् र लेखेछन् पत्रिकामा लेखः राजपा निर्वाचनमा नजाँदा घाटा हुन्छ । जाँदा बाबुराम हुन्छ, नजाँदा मोहन वैद्य हुन्छ । तराईका जनताले भनेका नमान्ने मठाधीशलाई लाग्छ, सुदसन्देशले केही पाठ सिकाउँछ कि ? अब के हुने ? विवेकशील, साझा, नयाँ शक्ति, मोहन वैद्य, कमल थापा ? अक्टोपसहरूले ओहोरदोहोर रोकेर समीक्षा गर्दै बरु पुरानै पार्टी कांग्रेसमा फर्किए पनि हुन्छ । होइन भने तराईमा त फेरि पनि उपेन्द्र यादव र विजय गच्छदारकै चल्छ राज भन्ने देखिएकै छ । अरुले भनेको नमाने पनि सूदले भनेको मान्छन् कि महोदयहरू । कम्तीमा कमल थापा र बाबुराम भट्टराईजस्तै जनअनुमोदित हुने ‘साझा विवेकशील’ भइदिए हुने हो, चिन्ता तराईकै पनि बुद्धिजीवी, द्वन्द्वउद्यमी र भारतीय शुभचिन्तकहरूको पनि ।


प्रतिक्रिया दिनुहोस !