हात हुनेले मात्र खेल्ने हो र टेबुल टेनिस ?

हात हुनेले मात्र खेल्ने हो र टेबुल टेनिस ?

प्रख्यात नेपाली उखान ‘जहाँ समस्या त्यहाँ उपाय’,‘असम्भव भन्ने केही पनि छैन’ र ‘खाने मुखलाई जुँगाले छेक्दैन’ लाई इजिप्टका एक जना नागरिकले चरितार्थ गरेका छन् । जापानको राजधानी टोकियोमा जारी फरक क्षमता भएकाहरुको विश्व कुम्भमेला पाराओलम्पिकमा इब्राहिम हमाद्त्तोलाई हेरेर सबैले त्यहि लख काटेका हुन् ।

मुखले टेबुल टेनिसको र्याकेट समातेर दुबै हात नभएका इब्राहिमले टोकियोमा सबैको मन जितेका थिए । उनको खेल हेर्ने विश्वका सबैले जीब्रो टोकेका छन् । उनी पाराओलम्पिक टोकियो २०२० मा पदक जित्न असफल भए पनि सबैको प्यारा बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

१० वर्षको उमेरमा भएको एउटा रेल दुर्घटनामा दुबै हात गुमाएका इब्राहिमले र्याकेटलाई मुखले समातेर र बललाई गोडाले च्यापेर सभिर्सिङ गर्न थालेका हुन् । त्यसअघि उनी अरु खेलाडीले जस्तै दुई हातको प्रयोगले टेबुल टेनिस खेल्थे ।

हात गुमाएपछि मनपर्ने खेल त्याग्नुको सट्टा उनले आफ्नो मुखलाई प्रयोग गरेर भए पनि खेललाई जारी राख्ने निर्णय गरेका थिए । टोकियो पाराओलम्पिक उनको दोस्रो पाराओलम्पिक हो । टोकियोमा उनी मुखले टेबुल टेनिस खेल्ने एक मात्र खेलाडी हुन् । साथै पाराओलम्पिक खेलकुदको इतिहासमा मुखको प्रयोग गरी टेबल टेनिस खेल्ने उनी नै पहिलो खेलाडी हुन् ।

इजिप्टमा जन्मिएका ४८ वर्षीय इब्राहिमले सन् २०११ र २०१३ मा अफ्रिकी च्याम्पियनशिपमा रजत पदक र २०१३ को इजिप्ट ओपन प्रतियोगितामा रजत पदक हात पारेपछि चर्चा बटुलेका हुन् ।

भिडियाे सिन्ह्वाबाट

टिप्पणीहरू