घरबहाल कर

सहरमा धेरै घर छन् । हरेकजसो घर बहालमा दिइएको छ । तर, बहालको कर भने तिरिरहेको छैन । स्थानीय निकायमा नयाँ प्रतिनिधि आएपछि घरबहाल कर पनि अहिले चर्चामा आएको छ । 

घरबेटीले बहालमा राखेबापत घरबहाल कर नतिरेका कारण भजनलाललाई पनि साह्रै रिस उठिरहेको थियो । भजनलाल जुन घरमा भाडामा बसेको हो त्यही घरबेटीले पनि बहाल कर तिरिरहेको छैन । त्यो कुरा भजनलाललाई राम्रै थाहा छ । त्यही भएर भजनलाल एकदिन नगरपालिका पुगे र आफ्नै घरबेटीविरुद्ध उजुरी दर्ता गरे, मेरा घरबेटी आशनारांले आजसम्म घरबहाल तिरेको छैन, तिराइपाऊँ । 

भजनलालको उजुरी आउनेबित्तिकै नगरपालिका कर्मचारीको आँखा खुल्यो, ‘ए हो र ! आजसम्म घरबहाल तिरेको छैन ? उसोभए तिराउनुप¥यो ।’
नगरपालिका कर्मचारीले तुरुन्तै आशनारांका नाममा चिठी जारी ग¥यो ( श्री आशनारांज्यू, तपाइँले आफ्नो घरबहालमा दिएर पनि आजसम्म घरबहाल करचाहिँ नतिरेको रहेछ । तुरुन्तै १० प्रतिशत घरबहाल कर तिर्न आउनुहोला । नभए नियमबनोजिम कारबाही गरिनेछ ।

चिठी पढेपछि घरबेटी आशनारांलाई लाग्यो, ‘ओहो, अब नगरपालिकाको चिठी नै आएपछि घरबहाल कर त तिर्नै प¥यो । नभए त कारबाही पनि हुन सक्छ ।’

घरबेटी आशनारांले आफ्नो घरमा बहाल बसेका भजनलाललाई बोलायो । भजनलाल हाजिर भयो । आशनारांले भन्यो, ‘भजनचा, अहिले भर्खरै नगरपालिकाको चिठी आएको छ । घरबहाल कर तिर्नुप¥यो रे ।’

‘ए, हो र ?’ भजनलाल मख्ख प¥यो । आखिर यो आफैंले दिएको उजुरीको परिणाम जो थियो । ‘अब चिठी नै आएपछि कर त तिर्नै प¥यो नि घरबेटी साउजी ।’

‘होऽऽ त्यही भएर तिमीलाई बोलाएको भजनचा,’ आशनारांले भन्यो, ‘घरबहाल करबापत १० प्रतिशत बुझाउनुपर्ने रहेछ । अब त्यो कर बुझाउन नगरपालिकासम्म जानै प¥यो । बुझाएर आउनै प¥यो । त्यसको खर्च पनि लाग्ने नै भयो । त्यसैले आजैदेखि लागू हुने गरी तेरो कोठाको बहाल १५ प्रतिशत बढाउनुपर्ने भयो । लौ यही महिनादेखि तेरो कोठाको भाडा १५ प्रतिशत बढाएर दिने । बुझिस् भजनचा ! ल जा, यत्ति भन्नलाई बोलाएको । भाडा नबढाउने हो भने कोठा छाडेर जा ।’
‘हाँ ?!’ भजनलालको होश गुम्यो । 

टिप्पणीहरू