बालुवाटारमा किन जुटे वकिल

बालुवाटारमा किन जुटे वकिल

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न नपर्ने सभामुख अग्नि सापकोटाको निर्णयविरुद्ध नेकपा एमालेले अदालत जाने तयारी गरेपछि सत्ता गठवन्धन निकट कानुन व्यवसायीहरु छलफलमा जुटेका छन् । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी समर्थित केही कानून व्यवसायीले सभामुखविरुध्द आउनसक्ने कानुनी चुनौतीबारे छलफल गरेका हुन् ।

एमालेले गरेको कारवाहीको वैधानिकता,दलसम्बन्धी ऐनको व्यवस्था,सभामुखको अधिकारलगायत सम्भावित कानुनी चुनौतिको सामना गर्नेबारे अनौपचारिक छलफल भएको त्यहाँ सहभागी एक कानून व्यवसायीले बताए । उनका अनुसार सभामुखले गरेको निर्णयका विरुध्द आइपर्ने कानुनी प्रश्नको कसरी जवाफ दिने भन्नेबारे छलफल भएको हो ।

‘उहाँहरुको दल रोज्न पाउने राजनीतिक अधिकार कुण्ठित भएको छ । यसको न्यायिक निरुपण खोज्नेबारे हामीले छलफल गरेका हौँ’,

गत वैशाखमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले विश्वासको मत लिंदा तत्कालीन माधव नेपाल पक्षका २७ सांसद अनुपस्थित रहेका थिए । त्यसैलाई लिएर एमालेले तीन महिनापछि २७ मध्येका १४ सांसदलाई कारवाही गर्न संसद सचिवालयलाई पत्र लेखेर पठाएको थियो । यहिबीचमा एमाले अध्यक्ष केपी ओलीले सबैलाई आममाफीको घोषणा गर्नुभएको थियो । त्यसैमा टेकेर सभामुखले कारवाहीको सूचना नटाँसेको बताइएको थियो ।

त्यस्तै,एमालेबाट बिद्रोह गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका चार जना प्रतिनिधिसभा सांसदलाई सनाखत नगराउने निर्वाचन आयोगको निर्णयविरुध्द कानुनी लडाइँ लड्नेबारे पनि हिजोको बैठकमा छलफल भएको थियो । दल दर्ताका लागि माधव नेपालले शुरुमा निर्वाचन आयोगमा दिएको निवेदनमा नाम नरहेका सोमप्रसाद पाण्डे,माया ज्ञवाली,शारदा भट्ट,तुलसा थापासहितका सांसदहरुलाई आयोगले हस्ताक्षर सनाखत गराउन अस्वीकार गरेको थियो । जसका कारण उनीहरुको सांसद पद धरापमा परेको छ ।

‘उहाँहरुको दल रोज्न पाउने राजनीतिक अधिकार कुण्ठित भएको छ । यसको न्यायिक निरुपण खोज्नेबारे हामीले छलफल गरेका हौँ’,ती कानून व्यवसायीले भने । छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा,रमण श्रेष्ठ,राधेश्याम अधिकारी,गोविन्द बन्दी लगायतका कानून व्यवसायीहरु सहभागी रहेको बताइएको छ ।

टिप्पणीहरू