दशैँ मान्न विद्यार्थीलाई विद्यालय बोलाउने तयारी

दशैँ मान्न विद्यार्थीलाई विद्यालय बोलाउने तयारी

मकवानपुरका निजी विद्यालय सञ्चालकहरुले विद्यालय सुचारु गर्न र विद्यार्थीहरुबाट शुल्क लिन अनेक उपाय अवलम्बन गरेका छन् । कोभिड १९ का कारण बन्द रहेका विद्यालय यथासक्य छिटो सञ्चालन गर्दा दशैं अगावै शुल्क उठाउन बाटो खुल्ने भन्दै निजी विद्यालय सञ्चालक एवम् निजी विद्यालय सञ्चालकहरुको छाता संगठन हात धोएर लागिपरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

दिनहुँ कोभिड संक्रमितको संख्या बढिरहेकाले तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावकहरु बताउँछन् । तर विद्यालय सञ्चालकहरुले दशैं अगावै शुल्क असुल गर्न अनेकौं जुक्ति लगाएको उनीहरुको आरोप छ ।

राज्यले महामारीलाई ध्यानमा राखेर तत्काल विद्यालय सञ्चालन नगराउन सूचित गर्दै आएको छ । तर मकवानपुरमा भने विद्यालय सञ्चालकहरु नै कुनै पनि हालतमा विद्यालय सञ्चालन गराउने प्रयत्नमा लागेका छन् । नारा,जुलुस र र्याली गर्न हुने विद्यालय सञ्चालन गर्न किन नहुने भन्दै उनीहरुले विद्यालय खुलाउने उपाय खोजेका हुन् ।

‘अरु कसैको दशैं मनाउन हाम्रा बालबालिकाले जोखिम मोलिदिनु पर्ने चाहिँ किन ?’ एक जना अभिभावकले गुनासो गरेका छन् । कोभिडविरुद्धको खोप लगाएका युवाहरुले नारा जुलुस गरेको अवस्थामा आफ्ना साना बालबालिकाको तुलना गर्नु गैरजिम्मेवारी भएको ती अभिभावक बताउँछन् ।

अनलाइनबाट पढाइ भइरहेकाले तत्काल भौतिक रुपमा आफ्ना बालबालिकालाई विद्यालय पठाउन नसकिने उनीहरुको तर्क छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तत्काल विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘यो विषयमा हामीले समिति नै बनाएर उचित वा अनुचित सम्बन्धमा छलफल थालेका छौं ।’

सबै स्थानीय तहका शिक्षा समितिसँग आवश्यक सल्लाह र सुझाव मागेको पनि उहाँले जानकारी दिनुभएको छ । त्यसपछि मात्र केही भन्न सकिने उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारीले थप्नुभयो, ‘अहिलेको जोखिमपूर्ण परिस्थितिमा साना बालबालिकाको स्वास्थ्यमा कुनै असर नपरोस् भन्नेमा सचेत छौं । तत्काल विद्यालय सञ्चालन गर्न सक्ने अवस्था देखिँदैन ।’

तर,विद्यालय सञ्चालकहरु कुनै पनि बहानामा कम्तिमा एक साता विद्यालय सञ्चालन गरेर भए पनि अविभावकबाट शुल्क उठाउने तयारीमा लागेको बताइन्छ ।

टिप्पणीहरू