​महानगर कत्रो मारामार

भ्रष्टहरूको एउटा जत्था अहिले काठमाडौंका नवनियुक्त मेयर विद्यासुन्दर शाक्यलाई असफल पार्ने सक्रिय रहेको भेटिएको छ । मेयर नियुक्त भएको दुई साता बित्न लाग्दासमेत उनको सचिवालयले पूर्णता पाउन सकेको छैन । नयाँ मेयरलाई असफल बनाउन चिठी बनाउने बनाएका चिठी लुकाउने, लुकाएर राातारात अर्काेलाई नियुक्ति गर्ने धन्दामा अहिले त्यहाँका प्रशासन प्रमुख ज्ञानेन्द्रबहादुर कार्की, हरि कुँवर र शाखा अधिकृत सुमन अधिकारीहरू सक्रिय छन् । कस्तोसम्म भने सुरुमा उपमेयरको सचिवालयमा गंगाधर गौतमलाई खटाइने चिठी बन्यो ।

यो चिठी सुरुका केही दिन सुमन अधिकारीहरूले लुकाए । बीचमा विमला कोइरालालाई खटाउने गरी चिठी बन्यो । उक्त चिठी पनि लुकाइयो र पुनः उपमेयरको सचिवालयमा गंगाधरलाई खटाइएको छ । उस्तै हालत छ मेयरको सचिवालयमा । त्यहाँ चार जनाको कर्मचारीको चिठी बनाएर पनि समुनहरूको सक्रियतामा लुकाएर आज–भोलि गर्दै झुलाइएको छ । 

जता हे¥यो त्यतै अनियमितता छ । यिनै ज्ञानेन्द्रहरूका कारण खोक्रो भइसकेको महानगरपालिकामा अर्काे गाईजात्रा छ, पदपूर्ति समितिको
अध्यक्ष छन् शिव मुनकर्मी । उनी कांग्रेसनिकट प्राध्यापक संघका पूर्वअध्यक्ष हुन् । सोही समितिमा छन्, ज्ञानेन्द्रबहादुर कार्की, रुद्रमान सिंह तामाङ, लोकसेवाका सहसचिव महेन्द्र गुरागाइँ । यिनै महेन्द्र गुरागाइँलाई समेत खरिद गरी ज्ञानेन्द्रहरूले एउटालाई बढुवा गरेको रहस्य फेला परेको छ । 

अहिले यिनीहरूकै समितिले गरेको एकपछि अर्काे बढुवाको निर्णय पाटन अदालतले उल्टाएपछि नजराना बुझाएर बढुवामा परेकाहरूको रुवाबासी छ । यसको पछिल्लो उदाहरण हो, हालै मात्र काठमाडौं महानगरपालिकाले गरेको बढुवामध्ये तीन वटाको पुनर्मूल्यांकन गर्न पत्राचार गरेको । अर्काे दुईवटा बढुवा रद्द गर्न स्थानीय विकास मन्त्रालयले महानगरपालिकालाई पत्र काटिसकेको छ । महानगरपालिकामा खटिएका महानगर प्रहरीको बढुवा प्रशासनपट्टिका ज्ञानेन्द्र कार्कीहरूले हेर्न मिल्दैन । पदीय अधिकार र जिम्मेवारीको हिसाबले बढुवासम्बन्धी काम धनपति सापकोटाहरूले गर्नुपर्ने हो । तर, ज्ञानेन्द्रले मनलाग्दी ढंगले नजराना लिएर मनखुसी नम्बर दिए । तर, त्यहाँ कार्यरत सईलाई इन्स्पेक्टर बनाए । 

मीन थापा, पूर्णचन्द्र भट्ट, राजन कार्की यी तीन भाइ ज्ञानेन्द्रको आशीर्वाद र कृपा पाएर इन्स्पेक्टर त भए तर यिनको बढुवा पुनर्मूल्यांकन गर्न पुनरावेदन अदालतले आदेश दिएपछि ज्ञानेन्द्रहरू तिरिमिरी भएका छन् । बढुवा गरिएकामध्ये राजन कार्की ज्ञानेन्द्रसँग ‘कार्की’थरको साइनो लगाउँदै बढुवामा परेका हुन् । उनी एक वर्ष कोरियामा बसेर हालै मात्र फर्किएका हुन् । प्रशासनतिर पनि उस्तै जात्रा छ । त्यहाँ रीत नपुग्ने एक जना महिलाको बढुवा गर्न ज्ञानेन्द्रहरू कम्मर कसेर लागिपरेका छन् । निजामती कर्मचारी ऐनअनुसार डिभी र पिआरधारी कर्मचारीलाई भाटा लाग्नुपर्ने हो । तर, महानरपालिकाको गोमा खतिवडा यस्तो भाग्यमानी कर्मचारी हुन् जो डिभी परेर अमेरिका गइन् ।

उताबाट स्वदेश फर्किएलगत्तै अरू कर्मचारीलाई बाइपास गर्दै उनै गोमालाई बढुवा गर्ने फाइल तयार गर्नमा ज्ञानेन्द्रहरू अहिले त्यहाँ सक्रिय छन् । उनको बढुवासम्बन्धी फाइल अहिले कानुन शाखामा पुगेको छ । क्लिनिक असिस्टेन्डका रूपमा कार्यरत गोमासँग राम्रै आर्थिक शुभलाभ लिएर बढुवा गर्न थालिएको महानगरका कर्मचारी बताउँछन् ।     

बढुवा गरिँदा लोकसेवाको उपस्थिति रहे पनि लोकसेवाका अधिकारीलाई समेत खरिद गरेर आफू निकटका कर्मचारी बढुवा गर्दै आएको रहस्यसमेत खुलासा भएको छ । मनलाग्दी ढंगले कार्यसम्पादन मूल्यांकन गर्ने, विशेष बढुवा र नियमित बढुवामा पर्नुपर्नेको नम्बर घटाइदिने तर बढुवामा पर्नु नपर्ने कर्मचारीसँग मोलाहिजा गर्दै बढुवा गर्दै आएको थियो । श्याम कँडेलजस्ता बढुवामा पर्नुपर्ने तर बढुवामा नपारिएका ११ कर्मचारीको माग सम्बोधन गर्दै पुनरावेदनले बढुवा पुन मूल्यांकन गर्ने आदेश दिएपछि ज्ञानेन्द्रहरू तिल्मिलाउन थालेका छन् । 

टिप्पणीहरू