​कांग्रेसभित्र पाकेका नयाँ कुरा

कांग्रेसमा शेरबहादुर देउवा सर्वेसर्वा बन्दै गएका हुन् त ? नेपाली कांग्रेसमा फरक समूहको प्रतिनिधित्व गर्ने रामचन्द्र पौडेल देउवासामु निरीह बन्दै र देउवा हावी हुँदै गएको देखिएको छ । पौडेल समूहले जे कुरा राखे पनि देउवाले टेरपुच्छर नै लगाउन छाडेका छन् । पार्टीकै नेतृत्वमा सरकार बन्ने भएपछि सुरुमा दुई नेताले महेश आचार्यलाई अर्थमन्त्री बनाउने सहमति गरे ।

यस विषयमा आचार्यदेखि पौडेल समूहका नेता आशावादीसमेत बने । तर, अन्तमा देउवाले पौडेलसँग सल्लाह नै नगरी आफ्नै कोटरीका ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ मन्त्रालयको बागडोर सुम्पिए । महेश अनुभवी र समाजवादी धारका यसअघि पनि अर्थ मन्त्रालय चलाएका काबिल मानिन्छन् । यसपछि फेरि पौडेल र देउवाबीच कांग्रेसले पाउने ११ मन्त्रालयमध्ये ४ वटा पौडेलपक्षलाई दिने सहमति भयो । पौडलले चार जनामध्ये बलबहादुर केसी समेतलाई मन्त्रीका रूपमा प्रस्ताव गरे । तर, देउवाले फेरि पनि पौडेल पक्षलाई हैरानी दिए, केसीको नाम अस्वीकृत गरेर । यसबाट प्रस्ट देखिन्छ कि आफ्नै पार्टीभित्र पनि आफूलाई अनुकूल नहुने कुनै पनि नेतालाई देउवाले भित्तामै प¥याएर छाड्नेछन् ।

उनले महेश र बलबहादुरलाई सोझै नकार्नुले आफू अनुकूल नठहरिएका कुनै पनि नेतालाई देउवाले भ्याएसम्म मौकै दिने छैनन् र पेलेरै जानेछन् भन्ने प्रस्ट भएको छ । पौडेल पक्षका बलिया र प्रभावशाली नेतालाई पेण्डुलम बनाउँदै जाने र कमजोर बनाउने रणनीतिमा देउवा रहेका पनि यसले प्रस्ट्याएको छ । पौडेल समूहबाट समेत आफू अनुकूल हुनेगरी नेताहरू माग्ने र मन्त्री बनाई विस्तारै पौडेलसँग दूरी बढाउँदै लगेर रामचन्द्रलाई नै एक्ल्याउने उनको अभियान रहेको देखिन्छ । पार्टीभित्र देउवापछिका अर्का नेता रामचन्द्र नै हुन् । अहिले पनि देउवाको विकल्पका रूपमा पार्टीभित्र र बाहिर पनि रामचन्द्र नै स्थापित छन् । तर, रामचन्द्रलाई क्रमशः कमजोर बनाउँदै लगेर पार्टीको अर्को महाधिवेशनमा पनि देउवा नै निर्विकल्प सभापतिमा रहने रणनीतिबाट देउवा अघि बढेका उनकै कोटरीका एक नेता बताउँछन् ।

कांग्रेसमा यी दुईबाहेक यिनका हाराहारीका वैकल्पिक नेताका रूपमा अरू देखिएका छैनन् । तर, पौडेललाई क्रमशः कमजोर बनाउँदै लगेर मात्र आफू सर्वेसर्वा नेता बन्न सकिनेमा देउवा निश्चित देखिन्छन् । पौडेललाई बेवास्ता गरेर जाने र उनी पक्षका प्रभावशाली नेतालाई पार्टीदेखि सरकारमा समेत जिम्मेवारी नदिएर भूमिकाविहीन बनाउँदै देउवा अघि बढेका छन् । रामचन्द्र पक्षको कडा अडान र संघर्षबाहेक देउवालाई पार्टीको सर्वेसर्वा बन्नबाट कसैले रोक्न सक्ने छैन । हाल सतहमा आएका गतिविधिबाट प्रस्ट देखिएको छ कि पार्टीका दुई समूहमध्ये देउवा गुट सबल बन्दै जाने र रामचन्द्रहरू अरू बढी एक्लिने, जिम्मेवारी र अवसरबाट वञ्चित हुने र कमजोर बन्दै जाने अवस्था छ ।

अर्को समूहलाई एक्ल्याउने योजनाअन्तर्गत नै पार्टीदेखि मन्त्रिमण्डलसम्म र चुनावमा उम्मेदवार छनोटदेखि अरू नियुक्तिका अवसरमा पनि देउवाले राम्राभन्दा हाम्रालाई प्राथमिकता दिँदै जानेछन् । उनका यी योजना सफल भएमा अबको पाँच वर्षपछि पनि देउवाको विकल्प कांग्रेसमा रहनेछन् र उनैले हालिमुहाली मच्चाउनेछन् । 

टिप्पणीहरू