म्यारिज खेल्नेकै मस्ती « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

म्यारिज खेल्नेकै मस्ती

प्रकाशित मिति :  १ असार २०७४, बिहीबार १८:१९


समावेशी, समानुपातिकदेखि आरक्षण, गणतन्त्रका मुद्दा र वर्तमान संविधान पनि हाम्रै कारणले आएको हो, माओवादी नेता भनिरहन्छन् । तर, किन यही पार्टी र यसका नेतालाई जनताले भोट दिएनन् त ? यो पार्टी स्वयं नै समावेशी र समानताको सिद्धान्तका आधारमा सञ्चालित नभएर त यस्तो भएको हैन ? माओवादी पार्टी र यसभित्र हुने शक्तिका खेलमा अहिले समग्र मुलुकको प्रतिनिधित्व भन्दा पनि रुकुम र रोल्पा हावी हुने गरेको छ । यी दुई जिल्लाका नेताबाहेक अरू भेगका जतिसुकै वरिष्ठ र क्षमतावान् नेता भए पनि अहिले ‘घरको मुर्गा गुन्दु्रक बराबर’का अवस्थामा छन् पार्टीमा । जतिसुकै छलफल र बैठक बसे पनि अहिले माओवादी केन्द्रमा रुकुम, रोल्पाबाहेकका नेताले शक्तिमा पुग्नै नपाउने अवस्था विद्यमान रहेको पाइन्छ । 

रोल्पाका वर्षमान पुन अघिल्लो पटक अर्थमन्त्री भए । उनीबाहेक अर्थ मन्त्रालय चलाउने क्षमता र दक्षता भएका अरू थुप्रै नेता पार्टीमा भए पनि उनीहरूले अवसर पाएनन् । यसपटक उनी संविधानसभा निर्वाचनमा पराजय भोगेकाले लाभका सरकारी पदमा सहभागी हुन सक्ने अवस्था रहेन । तर, यसले उनलाई सरकारी स्रोत, साधन र सुविधा निष्फिक्री उपभोग गर्न रोकेन । पार्टी अध्यक्ष प्रचण्डको दाहिना हुनाले फेरि उनको परिवारमा राज्यशक्ति केन्द्रित हुन केही असर पारेन । उनकी श्रीमती ओनसरी घर्तीमगर सभामुख बनाइन् । उनी श्रीमतीका नामबाट प्राप्त सरकारी सहुलियत र शक्तिको प्रयोग सरकारी निवासमै बसी पार्टीमा प्रभाव विस्तार गर्नदेखि राज्यका अंगमा हस्तक्षेप गर्न पनि लागिरहेकै छन् । रोल्पाकै नन्दकिशोर पुन जो पार्टी गतिविधिमा आक्कल झुक्कल मात्र सहभागी हुँदै आएका थिए । उनीभन्दा पार्टीमा निकै सक्रिय अरू दर्जनौं नेतालाई पन्छाएर नन्दलाई नै उपराष्ट्रपति बनाए प्रचण्डले । के यो पनि उनी रोल्पाको हुनुकै परिणाम थियो ? 

पार्टी काम र संगठन विस्तारमा खटिरहनुको सट्टा एकताका पेप्सीकोला टाउनप्लानिङमा म्यारिज (तास) खेलेर दिन कटाउने रोल्पाकै कृष्णबहादुर महरालाई अहिले रोजिएका मन्त्रालय सम्हालेर सरकारमा प्रतिनिधित्व गर्नै भ्याइनभ्याइ छ । जसको नेतृत्वमा सरकार बने पनि उनी नै पार्टीका तर्फबाट लगातार सबभन्दा राम्रो मन्त्रालय सम्हाल्ने भाग्यमानी नेता बन्दै आएका छन् । अघिल्लो सरकारमा अर्थ मन्त्रालय सम्हालेका उनी अहिले फेरि पार्टीमा अरू कुनै सक्षम नेता नै नभएझैं परराष्ट्रमन्त्री बनाइए । यसैगरी, अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेका रुकुमका जनार्दन शर्मालाई यसपटक गृह मन्त्रालय जिम्मा लगाइएको छ । रुकुम र रोल्पाका नेताले नै लगातार राज्यका लाभका पदमा अवसर पाएपछि स्वाभाविक रूपले तिनै जिल्लाका कार्यकर्ता र अरू नेताले पनि अनगिन्ती लाभका अरू मौका त पाउने नै भए । 

अघिल्ला सरकारमा मन्त्री बनी राम्रो कार्यक्षमता प्रदर्शन गरिसकेका माओवादीकै एक नेताको दुखेसो छ, ‘हाम्रो पार्टीमा रुकुम रोल्पा बाहेकका मन्त्रालय चलाउन सक्ने अरू नेता नै नभएजस्तो भएको छ ।’ यी दृष्टान्तले प्रचण्ड जनयुद्धकालदेखिका आफ्ना पुराना सहयोद्धालाई मात्र काखी च्यापेर अघि बढ्न खोजिरहेका देखिन्छ । पार्टीभित्रका अरू प्रभावशाली, क्षमतावान् लामो त्याग गरेका नेता नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेतहरूलाई बेवास्ता गरी रुकुम र रोल्पालाई नै बढी च्यापिरहेर पार्टी कसरी समावेशी र प्रभावकारी ढंगले चल्ला त प्रचण्ड कामरेड ? केन्द्रकै एक नेता भन्छन्, ‘हाम्रो पार्टीमा पार्टीको भूमिका न्यून र रोल्पा–रुकुमको भूमिका बढी हुने गरेको छ ।’ नेतृत्वको यस्तो व्यवहारले कतै माओवादी पार्टी पनि रुकुम रोल्पामै मात्र सीमित रहने त होइन ?


प्रतिक्रिया दिनुहोस !