आज जताततै राजनीतिक कार्यक्रम, एकीकृत शक्ति नेपालद्वारा सर्वस्वीकार्य राष्ट्र प्रमुखको माग

आज जताततै राजनीतिक कार्यक्रम, एकीकृत शक्ति नेपालद्वारा सर्वस्वीकार्य राष्ट्र प्रमुखको माग

आज कृष्णजन्माष्टमी पर्व भएकाले मुलुकभर सार्वजनिक बिदा दिइएको छ । राजधानीमा अधिकांश राजनीतिक दलका कार्यक्रम राखिएको छ । सोही क्रममा एकीकृत शक्ति नेपालले धर्म सापेक्ष मुलुक र निश्पक्ष एव् सर्वस्वीकार्य राष्ट्रप्रमुखको माग गर्ने भएको छ ।

आज बिहान साढे ८ बजेदेखि काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा भइरहेको एकीकृत शक्ति नेपालको कार्यक्रममा राज्य संयन्त्रलाई राजनीतिकरण र पार्टीकरणबाट मुक्त गर्न, अखण्ड नेपाल पुनस्र्थापित गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भावसहितको समृद्ध नेपाल खडा गर्ने घोषणा गरिनेछ ।

नेपाली काँग्रेस रौतहटले जिल्लामा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध आज पनि बिहान ९ बजेदेखि पार्टी कार्यालय, सानेपामा धर्ना कार्यक्रम राखेको छ ।

अस्तिदेखि शुरु भएको वाईसीएल नेपालको राष्ट्रिय भेलाको बन्दसत्र आज पनि जारी छ । सातवटै प्रदेशमा जुमबाट भएको उक्त भेलाको काठमाडौंमा भने होटल आनन्द, तिलगंगामा बन्द सत्र हुने भइरहेको जनाइएको छ । कार्यक्रम बिहान ११ बजेबाट हुनेछ ।

नेकपा माओवादी केन्द्रले धादिङको गंगाजमुना–काठमाडौ सम्पर्क मञ्चको भेला बोलाएको छ । कार्यक्रम होटेल काठमाडौँ गार्डेन होम, पकनाजोलमा बिहान ११ बजे हुने बताइएको छ ।

त्यसैगरी नेकपा (एमाले) ले भक्तपुरमा निर्माण गरेको रण वम पाटी, विश्रामस्थल तथा आत्मा शुद्धिकरण देवालयको उद्घाटन गर्ने जनाएको छ । कार्यक्रम दलका केन्द्रीय सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा दिउँसो १ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डु, बस्नेत गाउँ, भक्तपुर हुनेछ ।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल तारकेश्वर नगर कमिटीले नगरस्तरीय युवा भेला राखेको छ । कान्तिपुर एबी पार्टी प्यालेस, नेपालटारमा दिउँसो २ बजे भेला बोलाइएको हो ।

नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २, सिन्धुपाल्चोकले पाँचपोखरी थाङपाल गाउँ कार्यसमिति सभापति स्व. उत्तरध्वज खत्रीको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा राखेको छ । कार्यक्रम छहारी क्लब, जोरपाटीमा हुने जनाइएको छ ।

आजै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल बागमती प्रदेशको प्रथम भेला बुद्धनगर, काठमाडौंमा हुने जनाइएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी, भक्तपुरको जिल्ला कमिटी बैठक आज राखिएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको डिनको कार्यलयमा आज पनि तालाबन्दी जारी हुने बताइएको छ । विद्यार्थी संगठनहरुले भदौ ७ गतेदेखि गरेको तालाबन्दी ११ गते क्याम्पस प्रशासनले खोलेको थियो । तर, विद्यार्थीहरूले पुनः हिजो दिउँसो ४ बजेबाट तालाबन्दी जारी राखेका छन् ।

उता समाजवादी प्राध्यापक संघले पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा भदौ ९ गतेदेखि गरेको तालाबन्दीलाई जारी राखेका छन् ।

नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय कमिटीले स्नातकोत्तर तह सामाजिक कार्य विभागका संयोजक शुक्रराज अधिकारीको कार्यकक्ष र प्रशासन शाखामा लगाएको तालाबन्दीलाई आज पनि जारी राखेका छन् ।

टिप्पणीहरू