​हाकिम नै बोक्छन् भ्रष्टको हुल

वैदेशिक रोजगार विभाग ताहाचलमा नयाँ हाकिमको आगमनसँगै अनियमितता मौलाएको छ । तेजराज पाण्डे कार्यालय प्रमुख भएपछि केही घुसखोर कर्मचारीलाई हातमा लिएर जोडतोडसाथ सक्रिय छन् । ट्रेड युनियनका अध्यक्ष सुदर्शन खड्का, अधिकृत राजेन्द्र पौडेल, भूपेन्द्र बस्नेत र पर्साराम भुसाललगायत भ्रष्ट कर्मचारीको नेतृत्व अहिले पाण्डेले गर्न पुगेका छन् । पैसा भए उनलाई पदको कुनै हिसाब–किताब चाहिँदैन ।

यसअघि भूमिसुधार विभागको २ वर्षसम्म महानिर्देशक भइसकेका पाण्डे अहिले वैदेशिक रोजगार विभागमा आफूभन्दा जुनियर महानिर्देशक सहसचिव विश्वराज पाण्डे खटनपटनमा काम गर्ने गरी त्यहाँ पुगेका हुन् । यसअघि उनी यातायात कार्यालय एकान्तकुनामा बसिसकेका थिए । त्यसपछि उनी मालदार अड्डा भूमिसुधार तथा व्यवस्था विभागको महानिर्देशक भएका थिए । उनी वैदेशिक रोजगार कार्यालय ताहाचलमा छिरेपछि त्यहाँ भ्रष्टाचार निकै मौलाएको स्पष्ट देखिन्छ । पैसाबिना काम गर्न खोज्नेले दुई दिन दौडधुप गर्दा पनि काम नबन्ने तर पैसा खुवाउन सके भित्रै बसेर छिनको छिनमै काम हुने गरेको पीडितले गुनासो गरेका छन् । जबकि भित्रै प्रवेश गर्न पनि गार्डले पैसाबिना नदिने गरेको त्यहाँ कार्यरत म्यानपावरका एजेन्टले गुनासो गर्दै आएका छन् । कम पैसा झार्न सक्ने कर्मचारीलाई पाखा लगाएर पैसा झार्न माहिर कर्मचारीको एउटा समूहलाई अगाडि ल्याएर पाण्डेले रामै्र कमाइ गरिरहेको बताइन्छ । 

यसअघिका प्रमुख कृष्ण दवाडी र मधुविलास पण्डितभन्दा काममा कम भए पनि दाममा भने उनी अगाडि नै रहेको चर्चा त्यहाँ चल्ने गरेको छ । त्यहाँ कार्यरत राजेन्द्र पौडेलले सेवाग्राहीसँग पैसा मागेको टेलिभिजनको पर्दामा समेत देखिएपछि मन्त्रालयमा समेत यसको चर्चा भएको थियो । निज पौडेललाई त्यहाँबाट हटाएर पोखरा जिल्ला प्रशासनमा कारबाहीस्वरूप सरुवा गरिएको छ । तर, उनको घर स्याङ्जा भएकाले उनलाई युनियन नेताहरूको दबाबले घरपायक मिल्ने गरी सरुवा गरदिएको पत्तो लागेको छ । साना तहका कर्मचारीलाई सरुवाको नाटक रचेर कारबाही गरेको देखाइए पनि त्यो कार्यालयको जिम्मेवारी पाएका तेजराज पाण्डेलाई भने केही कारबाही भएको छैन ।

यस सम्बन्धमा श्रम मन्त्रालयका प्रवक्ता भरतमणि भुर्तेललाई जनआस्थाले भिडभाड कम गर्ने नाममा पैसा दिएपछि मात्रै एजेन्ट तथा व्यवसायीलाई भित्र जान दिने व्यवस्था के मन्त्रालयकै निर्देशनमा भएको हो भनेर प्रश्न गर्दा मन्त्रालयको कुनै निर्देशन नभएको, प्रथम श्रेणीको कर्मचारी नै प्रमुख रहेको ठाउँमा कसरी व्यवस्थित गर्ने भन्ने अधिकार उहाँकै भएको बताए । घुस खानेले समुद्रको छाल गनेर पनि खाइदिन्छ, ढोका थुन्नु न नथुन्नुले खासै फरक नपर्ने उनले बताए । तर, पैसा तिर्ने व्यवसायीका एजेन्टभित्र छिरेपछि उसको फाइल हेरेर लेनदेन मिलेपछि तुरुन्तै काम सकिने गरेको छ नि भनेर भुर्तेलसँग प्रश्न राख्दा उनले त्यस्तो कार्य गलत भएको र त्यस्ता विषयमा सम्बन्धित कार्यालयको प्रमुखले चासो दिनुपर्ने बताए ।

टिप्पणीहरू