शिक्षकको फेसबुक स्टाटसले सिडिओ शीताङ्ग

शिक्षकको फेसबुक स्टाटसले सिडिओ शीताङ्ग

शिक्षकको स्थायी जागिर छाडेर निजी विद्यालयको यात्रामा लागेका पत्रकार तथा साहित्यकारको एउटा फेसबुक स्टाटसले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे आइतबार दिनभर तनावमा झेलिए ।

सञ्चारकर्मी र साहित्यमा समेत दह्रो उपस्थिति जनाइरहेका ती निजी शिक्षक हुन्,छविलाल श्रेष्ठ (छवि अनित्य) । उनले शनिबार राति हेटौँडा उपमहानगरपालिका ८ स्थित एक विद्यालयको वालविकास कक्षामा नेकपा एमालेको अखिल नेपाल महिला संघको भेला भएको विषय कोट्याएका थिए ।

उनले,‘राजनीतिक दलको कार्यक्रम गर्न ठाउँ नपुगेर पो प्रमुख जिल्ला अधिकारीले विद्यालय बन्द गराएका रहेछन्,’भनेर व्यंग्यात्मक स्टाटस लेख्दै, ‘कार्यक्रम गर्ने राजनीतिक कार्यकर्ताहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुपर्ने, कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई तक्मा दिनुपर्ने र वडाध्यक्षलाई नागरिक सम्मान गरिनुपर्ने’ भन्दै आक्रोश पोखेका थिए ।

केही दिनअघि मकवानपुरका ३ वटा विद्यालयलाई भौतिक दूरी कायम राखेर परीक्षा सञ्चालन गर्दा प्रतिविद्यार्थी १० हजार रुपैयाँ जरिवाना तिराइएको प्रसङ्ग उठाउँदै अनित्यले लेखेका छन्, ‘राणाकालपछि तिम्रै एक कार्यकाल रह्यो,जहाँ विद्यालयमा बालबालिका पढाएको अभियोगमा जरिवाना तिर्नुपर्यो ।’

अखिल नेपाल महिला संघ, जिल्ला अध्यक्ष सुमित्रा काफ्लेकै उपस्थितिमा भएको राजनीतिक गतिविधिका फोटोसहित फेसबुकमा स्टाटस आएपछि प्रमुख जिल्ला अधिकारी पाण्डेको सामाजिक सञ्जालमा सर्वत्र आलोचना भएको छ । अहिले उक्त स्टाटससँग जोडेर जिल्लामा निकै चर्चा परिचर्चा भएको छ । हिजो दिनभर सिडिओ पाण्डेले मिडियासँगको स्पष्टिकरणमै खर्चनु परेको छ ।

अनित्यको स्टाटसपछि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख प्रेम खरेललाई प्रमुख जिल्ला अधिकारी पाण्डेले सम्पर्क गरी निजी विद्यालयका समस्या समाधानका उपाय खोज्न र राजनीतिक गतिविधिहरू बन्द गर्न कडा निर्देशन दिएको स्रोत बताउँछ । सोहीबमोजिम खरेलले सूचना प्रकाशन गरी विद्यालयमा राजनीतिक गतिविधि नगर्न/नगराउन सूचनासमेत प्रकाशन गर्नुभएको छ ।
एकातिर विद्यालयबाहेक अन्य सबै क्षेत्र खुला हुनु,निजी विद्यालयमा परीक्षा सञ्चालन गरिँदा जरिवाना तोक्नु र सरकारी विद्यालयमा राजनीतिक दलको गतिविधि हुन दिनुले सिडिओ पाण्डेको आलोचना भएको हो ।

जनआस्थासँग कुरा गर्दै शिक्षक अनित्यले शैक्षिक क्रियाकलापलाई तत्काल सुचारु गर्न सकिए विद्यालयमा राजनीति छिर्न नपाउने बताउनुभएको छ । उहाँले भन्नुभयो,‘सरकार,स्थानीय तह, प्याब्सन,अभिभावक संघलगायत सबैले गलत क्रियाकलापको बिरोध गर्नुपर्ने र शैक्षिक क्रियाकलाप सुचारु गर्नका लागि भूमिका खेल्नुपर्छ ।’

अखिल नेपाल महिला संघ, जिल्ला अध्यक्ष सुमित्रा काफ्लेकै उपस्थितिमा भएको राजनीतिक गतिविधिका फोटोसहित फेसबुकमा स्टाटस आएपछि प्रमुख जिल्ला अधिकारी पाण्डेको सामाजिक सञ्जालमा सर्वत्र आलोचना भएको छ ।

ujj

टिप्पणीहरू