बिप्लवका विद्यार्थीहरु जुर्मुराए

बिप्लवका विद्यार्थीहरु जुर्मुराए

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी आसोज ६,७ र ८ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले गरेका १२ बुँदे निर्णय सार्वजनिक गर्दै क्रान्तिकारीले राष्ट्रिय सम्मेलनको मिति तय भएको जानकारी दिएको हो ।

‘वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्ति हाम्रो आन्दोलन,वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २२औं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ पोखरामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ । क्रान्तिकारीले अध्यक्ष चिरन्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२ औं राष्ट्रिय सम्मेलन आयोजक समिति पनि गठन गरेको छ । त्यस्तै,राष्ट्रिय सम्मेलन सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन भएको छ ।

अहिलेको विद्यमान शिक्षा प्रणालीको विकल्पमा सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रान्तिकारीको तयारी छ । त्यस्तै,देशभरका सरकारी तथा निजी विद्यालयहरुले विभिन्न बहानामा चर्को शु:ल्क लिइरहेको भन्दै क्रान्तिकारीले शुल्क घटाउन माग गरेको छ ।

क्रान्तिकारीले कक्षा ११ र १२ का परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तत्काल सन्चालन गर्न, कोभिड अवधिको शुल्कमा न्यूनतम ५० प्रतिशत छुटको व्यवस्था गर्न,विद्यार्थीहरुलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत छुट दिने व्यवस्थाको कडाइपूर्वक कार्यान्वयन गर्न, विश्वविद्यालयमा भएको राजनैतिक भागबण्डा खारेज गर्न पनि माग गरेको छ ।

२०७७ फाल्गुण २० गते नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बीच भएको ३ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न क्रान्तिकारीले सरकारको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू