​मन्त्री मख्ख, यता मारामार

कर्मचारी आफ्नो बढुवाका लागि नेताका घर दैलो चाहर्छन् भन्ने त सुनिएकै हो । तर, ‘म जहाँ÷जे छु यसैमा थमौती पाऊँ’ भन्दै शक्तिकेन्द्र धाउने कर्मचारी पनि भेटिए भने अचम्म नमाने हुन्छ । 

यस्तो बिरलै देख्न पाइने दृश्य देखिन्छ साना सहरी खानेपानी आयोजनामा । त्यहाँका अयोजना प्रमुख हुन् रामचन्द्र साह । खानेपानी मन्त्रालयमा रहेका १७ फस्र्ट क्लास अफिसरमध्ये सिनियरारिटीको आधारमा उनी पाँचांै क्रममा छन् । सिनियरका आधारमा पहिलो नम्बरमा रहेका रामचन्द्र देवकोटा मेलम्ची खानेपानी आयोजनाका प्रमुख छन् । खानेपानी विभागका महानिर्देशक तेजराज भट्ट दोस्रो, राजन पाण्डे तेस्रो स्थानमा छन् । पाण्डे मन्त्रालयका सहसचिव रही हालै मात्र राजनीतिक आस्था नमिल्दा सुदूरपश्चिममा पोस्टिङ गरिएको छ । उनलाई क्षेत्रीय खानेपानी निर्देशनालयको निर्देशकका रूपमा त्यता पठाइए पनि उनी बरु जागिर छाड्ने तर सुदूरपश्चिम नजाने अड्डीमा छन् ।

चौथो पोजिसनमा रहेका सुनीलकुमार दास खानेपानी विभागका उपमहानिर्देशकका रूपमा कार्यरत छन् भने पाँचौंमा पर्छन् साह । उनलाई आयोजनाबाट खानेपानी विभागको उपमहानिर्देशकमा रूपमा ल्याउन खोजिएको थियो । यद्यपि, असार महिनाभरि यही प्रोजेक्टमा बसेर खोलो फड्को गर्ने उद्देश्यअनुरूप उनले सोही ठाउँमा थमौती मागे । पोस्टिङ गर्न खोजिएकोमा मलाई पोस्टिङ नगर्नुहोस् यही ठाउँमा थमौती दिनुहोस् भन्दै उनले शक्तिकेन्द्र मात्र धाएनन् आफ्नो मिसन पनि सफल गराइछाडे । उनले असारसम्म त्यही टिक्ने अस्त्रका रूपमा राज्यमन्त्री दीपक खड्कालाई गाडी टक्र्याए आयोजनाको ।

राज्यमन्त्री खड्कालाई चाकडीस्वरूप टक्र्याइएको बा.१ झ १५४९ नम्बर प्लेट भएको आयोजनाको सो गाडी मन्त्री पदबाट खुस्किएको दुई साता बितिसक्दासमेत राज्यमन्त्री खड्काले फिर्ता गरेका छैनन् बरु आयोजनाको नम्बर प्लेट उप्काएर रातो नम्बर प्लेट हाली अहिले सो गाडी संखुवासभातिर दौडिरहेको छ । उनी सो गाडी लिएर अहिले गृहजिल्ला संखुवासभामा चुनाव प्रचार प्रसारमा व्यस्त छन् । मन्त्रालय र मातहतका अड्डामा यस्तो गाईजात्रा हुँदा यसको कमान्ड सम्हालिरहेका सचिव भीम उपाध्याय भने सामाजिक सञ्जालमा लाचारी प्रकट गरिरहेका भेटिन्छन् । त्यहाँ पाँचांै रोलका साह नआइदिँदा उनीभन्दा धेरै जुनियर दशौं पोजिसनकी मीनाकुमारी श्रेष्ठलाई सो स्थानमा चिठ्ठा परेको छ । मीनालाई डिडिजी बनाएर त्यता लगिएको छ । मन्त्रालयको इतिहासमा कहिल्यै नभएको घटना त्यही देख्न पाइन्छ । धेरै जुनियर अनिलभद्र खनाल, आशिष घिमिरेहरू अहिले मन्त्रालयमा बसेर राज गरिरहेका छन् । कहीँ नभएको जात्रा सिंहदरबारमा ।

यस्तो जात्रा र बेथिति हेर्न पर जानै पर्दैन सामाजिक सञ्जालमा आदर्शका गफ जोतेर कहिले नथाक्ने सचिव भीम उपाध्यायलाई हेरे पुग्छ । उनी कतिसम्म ढोंगी छन् र मेलम्ची आयोजनाप्रति कत्तिको जिम्मेवार छन् भन्ने दृष्टान्तका लागि यही एउटा पछिल्लो तथ्य काफी हुन्छ । राष्ट्रिय गौरवको आयोजना मानिएको मेलम्ची आयोजनामा हालै मात्र दीर्घरोगका कारण अस्वस्थ रहेका १५ औं रोलक्रमका जनककुमार अधिकारीलाई मेलम्ची आयोजनातिर पठाइएकोबाट पुष्टि हुन्छ । 

टिप्पणीहरू