मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

सरकारमा जाने तयारीमा रहेको नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव नेपाललाई दिएको छ ।

आइतवार बसेको संसदीय दलको बैठकले सत्ता साझेदार अन्य दलसँग सहमति गर्न र पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन अध्यक्ष नेपाललाई जिम्मा दिने निर्णय गरेको हो ।

एमालेबाट बिद्रोह गरी नेकपा एस दर्ता गरेपछि पहिलो पटक बसेको बैठकले दलको नेतामा पार्टी अध्यक्ष नेपाललाई चयन गरेको छ । त्यस्तै, बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा एसका नेता बिरोध खतिवडाले जानकारी दिनुभयो ।

बैठकले दलको विधान निर्माण गर्नका लागि सांसदहरु भवानी खापुङ,शेरबहादुर कुँवर,निरा जैरु, ठगेन्द्र पुरी र लक्ष्मी चौधरी रहेको विधान मस्यौदा कमिटी पनि गठन गरेको उहाँले बताउनुभयो ।

‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई हामीले एकलौटी निर्णय गर्न दिने अधिकार प्रत्यायोजन गरेका छौँ’, सांसद खतिवडाले भन्नुभयो ।

बैठकले भारतमा उपचाररत नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गर्नुका साथै सरकारलाई बाढी पहिरोले निम्त्याएका समस्या समाधानका निम्ति ध्यानाकर्षण पनि गराएको छ ।

जनताले अनुभूुत गर्नेगरीे गरी काम गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको पनि उहाँको भनाई छ ।

टिप्पणीहरू