विवाद मिलाइदिन्छु भन्दै अध्यक्षले पत्रकार कुटे

विवाद मिलाइदिन्छु भन्दै अध्यक्षले पत्रकार कुटे

रेडियो बादल सिम्रौनगढ़,बाराका सञ्चालक तथा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य समेत नुर आलम बादशाहलाई आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारीले कुटपिट गरेका छन् । समाचार संकलनका लागि तवाल गाउँपालिका वडा नम्बर १, चिउटाहा गएको समयमा गाउँपालिका अध्यक्ष मुस्तफा अन्सारी र उनका गुण्डाहरुले आफूलाई ज्यान मार्ने उद्देश्यले अध्यक्षको कार्यकक्षमा बोलाएर निर्घात कुटपिट गरेको पत्रकार बादशाहले बताएका छन् ।

बादशाहले गाउँपालिकाको एम्बुलेन्स चालक ड्युटीमा नरहेको र राजनीतिक दलको कार्यकर्ता भेटघाटमा सहभागी हुन वीरगञ्ज गएको सूचना प्राप्त गरेपछि सो सम्बन्धमा सूचना लिन खोज्दा आफूलाई ज्यान मार्ने धम्कीसहित निर्घात कुटपिट गरिएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमले गाउँपालिका अध्यक्षले गाउँपालिकाको एम्बुलेन्स चालक शेख सर्फुद्दिन खाना खान गएको बेला आएर बादशाहले अपशब्द प्रयोग गरेको बताएका छन् ।

घटनाबारे जनआस्थासँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले एम्बुलेन्स चालक सर्फुदिन र बादशाह सौतेला दाजुभाइ भएको र पहिलेदेखिको घरायसी झगडाका कारण उक्त समस्या आएको जानकारी दिनुभएको छ । मिश्रका अनुसार पत्रकार पुगेपछि झडप भएको स्थानबाट पुनः गाउँपालिकाको कार्यालयमा बोलाएर समस्या समाधान गर्ने भन्दै पुनः मारपिट गरिएको थियो ।

यता घटनासँग प्रत्यक्ष सम्बन्धित रहेका पालिका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा उनले कुनै जवाफ दिएका छैनन् । इलाका प्रहरी कार्यालयले पनि आफूहरु यस विषयमा अञ्जान रहेको जनाएको छ । त्यस्तै,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पनि बिदाको दिन भएकाले केही थाहा नपाएको बताउँदै आज बैठक बसेर समस्याको हल गरिने जानकारी दिनुभएको छ ।

प्रत्येक गाउँपालिकामा सामान्य घटनाको समस्या समाधानका लागि उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति हुने व्यवस्था छ । तर पालिका अध्यक्षले कार्यकक्षमा बोलाएर कुटपिट गरेको पीडित पत्रकारको भनाइले घटनालाई जटिल बनाएको बताइन्छ । झगडामा संलग्न दुबै जना दाजुभाइको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।

प्रहरी नायव उपरिक्षक मिश्रले एम्बुलेन्स चालकको टाउको फुटेको र पत्रकारको भने बाहिरी चोटकपटक सामान्य रहेको जानकारी दिनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको उल्लेख गर्दै उहाँले दोषीमाथि आवश्यक कारबाही गर्ने जानकारी दिनुभएको छ ।

टिप्पणीहरू