भोलि मन्त्रिपरिषद विस्तार हुने, माधवका लागि प्रचण्ड र देउवा लचिलो

भोलि मन्त्रिपरिषद विस्तार हुने, माधवका लागि प्रचण्ड र देउवा लचिलो

सत्ता साझेदार तीन राजनीतिक दलबीच तत्काल मन्त्रिपरिषद विस्तार गरी सरकारलाई पूर्णता: दिनेबारे छलफल भएको छ । सरकार गठनको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीको आलोचना भैरहेका बेला सत्ता गठवन्धनका शीर्ष नेता सरकारलाई पूर्णता: दिन छलफलमा जुटेका हुन् ।

आज बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा मन्त्रालय भागबण्डामा सहमति जुटेको र भोलि नै मन्त्रिपरिषद विस्तारको तयारी गरिएको स्रोतले बताएको छ । राजधानी बाहिर रहेका जसपाका नेताहरू आजभोलिमै काठमाडौँ फर्किने र लगत्तै मन्त्रिपरिषद विस्तार हुने बुझिएको छ ।

बालुवाटारमा अनौपचारिक सहमति जुटेपछि सरकारमा जानेको नाम टुंग्याउन नेकपा एसले संसदीय दलको बैठक बोलाएर माधव नेपाललाई नेता छानेको छ । आजको बैठकले निर्णय गरेर सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने स्रोतले बतायो । माओवादी र जसपाले यसअघि नै मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई दिएका छन् ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएका देउवाले ४ जना मात्र मन्त्री नियुक्त गर्नुभएको छ । सरकार गठनमा निर्णायक भूमिका खेल्नुभएका माधव नेपालको पार्टीले आधिकारिकता नपाएका कारण सरकार विस्तार रोकिएको भनिएको थियो । तर,माधव नेपालले एमालेबाट बिद्रोह गरी नेकपा एकीकृत समाजवादी गठन गरी पार्टीको वैधानिकता पाइसक्दा पनि सरकारले पूर्णता: पाउन भने अझै सकेको छैन ।

मन्त्रालय भागबण्डामा केही सहमति जुट्न बाँकी रहेकाले क्याबिनेट विस्तार हुन नसकेको कतिपयको भनाइ छ । सत्ता साझेदार चार दलबीच ५-५ मन्त्रालय लिनेबारे मोटामोटी सहमति भएको भनिए पनि माधव नेपाल पक्षलाई एक दुई मन्त्रालय बढी दिनेबारे पनि छलफल चलिरहेको बताइन्छ । प्रतिकूल राजनीतिक अवस्थाका बाबजुद वर्तमान सरकार गठनमा निर्णायक भूमिका खेलको भन्दै नेपाल पक्षलाई एक या दुई मन्त्रालय बढी दिनेबारे प्रचण्ड र देउवा सकारात्मक रहेको बताइएको छ । त्यसका लागि कांग्रेस र माओवादीले आफ्नो भागमा परेको एक-एक मन्त्रालय छोड्न प्रचण्डले देउवालाई प्रस्ताव गरेको चर्चा छ ।

टिप्पणीहरू