राजधानीलाई कतिन्जेल कुहिगन्धे बनाउने ?

राजधानीलाई कतिन्जेल कुहिगन्धे बनाउने ?

~अनुशा थापा

काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकाले महिनौंदेखि फोहोर व्यवस्थापन नगर्दा पूरै उपत्यका दुर्गन्धित बनेको छ । पछिल्लो महिनादेखि काठमाडौं उपत्यकाका अधिकांश शहरी क्षेत्रमा फोहोर थुप्रिएका छन् । महानगरपालिकाले महिनौंदेखि जम्मा भएको फोहोर उठाउन नसक्दा प्रदुषणसँगै महामारीको जोखिम बढेको छ ।

बानेश्वरस्थित संसद भवनअगाडि नै फोहोरको डंगुर छ । उपत्यकाका सडक,चोक र गल्लीमा फोहोर थुप्रिन थालेको हप्तौं भइसकेको छ । सडक छेउछाउ फालिएका फोहोरले यात्रु र सवारी साधनमा यात्रा गर्ने सबै मर्कामा पर्न थालेका छन् ।

शहरमा एकातिर कोरोनाको डर छ भने अर्कोतिर फोहोरले समेत अर्को महामारी फैलाउने चिन्ता बढाएको छ । वर्षातका कारण सिसडोल सडकखण्डमा पहिरो गएको र सडक भासिएकाले फोहोर व्यवस्थापन गर्न नसकिएको महानगरपालिकाको भनाई छ ।

महानगरबाट फोहोर उठाउने सवारी साधन नआएपछि नगरवासीले सडक किनारमै फोहोर फालेका हुन् । जथाभावी फोहोर फ्याँक्दा शहर नै कुरुप र अस्तव्यस्त भएको छ । लगातारको वर्षाको कारण फोहोर व्यवस्थापनमा कठिनाइ आएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभएको छ ।

उहाँकाअनुसार घाम लागेको अवस्थामा फोहोर व्यवस्थापनको काम एकाध दिनमै सम्भव हुन्छ । सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने बाटो निर्माणमा सडक विभागले ढिलाइ गरेकाले फोहोरको व्यवस्थापनमा थप समस्या आएको उहाँले बताउनुभयो । केही दिनदेखि परेको अविरल वर्षाका कारण महानगरको फोहोर बिर्सजनस्थल ल्याण्डफिल्ड साइट पुग्ने सडक अवरुद्ध भएको छ ।

यसबीच घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठ्न बन्द भएको छ । घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि नगरवासीले सडक किनारमा फाल्न थालेका छन् । सहरवासीले पनि एकाध दिन घरको फोहोर घरभित्रै नराखी सडकमा फालेको भन्दै महानगरले गुनासो गरेको छ ।

नयाँ बानेश्वर चोकबाट काम विशेषले रत्नपार्कतर्फ जानको लागि सवारी साधन कुरिरहनुभएकी अस्मिता मल्ललाई बस स्टपअगाडि थुप्रिएको फोहोरको डंगुरअघिल्तिर उभिन निकै सकस परेको देखिन्थ्यो । जनआस्थासँगको कुराकानीमा उहाँले फोहोरको दुर्गन्धले बान्ता आउलाझैँ भएको भन्दै धेरै कुरा गर्न चाहनुभएन ।

सडक छेउछाउ फोहोर फयाँक्नेलाई जरिवाना गर्ने सूचना पनि टाँसिएको छ । तर स्थानीयले जथाभावी फोहोर फ्याँक्न छाडेका छैनन् । महानगरपालिका र नगरपालिकाले पनि उठाउने सुरसार र वैकल्पिक व्यवस्था गरेको देखिँदैन ।

टिप्पणीहरू