ओलीले सिफारिस गरेका राजदूत सहकारीमा लेखापरीक्षण सदस्य

ओलीले सिफारिस गरेका राजदूत सहकारीमा लेखापरीक्षण सदस्य

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि सिफारिश गरेका ११ देशका राजदूतमध्ये नौ जनालाई काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रध्द गरेको छ । तीमध्येकी एक हुन् डेनमार्कको लागि सुमित्रा सुवेदी भण्डारी ।

झापाकी भण्डारीको योग्यताको बारेमा यसअघि नै मिडियामा छरपस्ट भइसकेको छ । अहिले डेनमार्क नजाँदै काठमाडौंबाट झापा फर्कनुभएकी सुवेदी स्थानीय सहकारीमा लेखापरीक्षण समिति सदस्य बन्नुभएको छ।

हिजो शनिबार झापाको दमकमा भएको मेची बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं साधारणसभाबाट सुवेदी लेखापरीक्षणको सदस्यमा चयन हुनुभएको हो । उहाँ यसअघि स्थानीय प्राथमिक विद्यालयमा शिक्षिका हुनुहुन्थ्यो । ओली निकटस्थ ठूला नेता तथा प्रभावशाली व्यक्तिहरुका सासू भएकै कारण उहाँ राजदूत सिफारिसमा पर्नुभएको थियो ।

ओली सरकारले गत बैशाखको अन्तिम साता दुई जना परराष्ट्र मन्त्रालयका कर्मचारी र नौ जना राजनीतिक नियुक्ति भन्दै ११ देशमा राजदूत सिफारिश गरेको थियो । सम्बन्धित देशबाट एग्रिमो नआउँदै नयाँ सरकारले दुई वटा देशमा बाहेक अन्य सबै सिफारिस रद्ध गरेको हो ।

टिप्पणीहरू