बर्बाद हुने सन्तानको बाटो

डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ता रिसोर्ट होटलको बन्द कोठाभित्र गलत कार्यमा फँस्दै छन् । हामीले हाम्रा छोराछोरी, दाजुभाइ, दिदीबहिनीमाथि पूर्णविश्वास गरेर उनीहरुलाई आफ्नो निगरानीभित्र राख्न नसक्दा अहिलेका किशोर किशोरीको जीवन कुलत तथा अन्धकारको दलदलमा फँस्दै गएको छ । कम्बाइण्ड स्टडी, बर्थ डे पार्टी, बंकजस्ता विभिन्न तरिकाले अहिलेको पुस्ता आफूलाई बिगार्दैछ । जवानीको प्यास मेटाउन होटेल र रिसोर्टको कोठा भित्र सुरक्षित महसुस गर्दै दिन र रातमा विभिन्न होटेल र रिसोर्टमा पुग्ने गरेका छन् ।  

शहरी रात्रि जीवन, जहाँ दैनिक सयौँ युवा–युवतीले आफ्नो भविष्यलाई अध्यारोतर्फ धकेल्दै छन् । अस्मिता लुटाइरहेका छन्, क्षणिक मनोरञ्जन प्राप्त गर्नका लागि मदिरामा लठ्ठ भएर । शहरी क्षेत्रमा खुलेका दर्जनौ बार–डिस्कोको कारणले कतै हाम्रा सन्ततीको भविष्य त अन्धाकारमा धकेलिएको त छैन ? बार–डिस्कोमा पनि एउटा मापदण्ड हुनु जरुरी छ । सरोकारवालाहरुले सोच्न जरुरी पनि छ । तर, हाम्रो देशमा त चौध बर्षका किशोर–किशोरी पनि बारमा यौवन प्रदर्शनमा रमाउने गरेका छन् । बार–डिस्कोमा फोटो खिचेर सामाजिक सञ्जालका भित्तामा देखाउने प्रचलनले गर्दा त झन् अहिलेको युवा पुस्ता जसरी पनि एकपटक बार–डिस्को जान लालयित छ । 

सेलिब्रेटी, मोडलदेखि धनाढ्य घरानाका व्यक्तिहरु बार–डिस्कोमा गएर मस्त हुने प्रचलन नयाँ होइन । तर, अहिले उनै सेलिब्रेटी, मोडल, धनाढ्यहरुको नक्कल गर्दै सामान्य घर परिवारका युवा युवती पनि गलत संगत र ट्रेण्डमा फँस्दै गएका छन् । भर्खर टिन एज प्रवेश गरेकादेखि बूढाबू्ढीसम्म अहिले रत्रिजीवनको लतमा छन् । अभिभावकले बेलैमा सोच्नु पर्ने अबस्था आएको छ, आफ्नो छोरा छोरी कुन बाटोमा हिँड्दैछन् भन्ने कुरा । 

–सूर्य चन्द 

टिप्पणीहरू