सिंगापुरको उपचारमा सवा करोड सुटुक्क

सिंगापुरको उपचारमा सवा करोड सुटुक्क

सत्तामा रहनेले लुटको परम्परा तोडेको भन्दै त्यसबेला देशवासी खुशी भए, जब प्रधानमन्त्री केपी ओलीले आफ्नै खर्चमा सिंगापुरमा स्वास्थ्योपचार गर्न लागेको खबर सुने । देशवासी फेरि पनि खुशी भए, जब आफ्ना प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण स्वदेशमै, अनि आफ्नै खर्चमा सफल भएको सुने । तर, निजी खर्चका कुरा हल्लामात्र रहेछन् । वास्तवमा प्रधानमन्त्री रहँदा ओलीको उपचारका लागि राज्यकोषबाट करोडौँ रकम खर्च भएको रहेछ ।

०७६ साउन र भदौ गरी दुईपटक स्वास्थ्योपचारका लागि ओली सिंगापुर जाँदाका सरकारी निर्णय र खर्च विवरण जनआस्थालाई प्राप्त भएको छ । उहाँको स्वास्थ्योपचारमा मात्रै अमेरिकी डलर ७७ हजार एक सय ३० र ३७ सेन्ट सरकारी कोषबाट खर्च भएको थियो । सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलले दिएको बिलका आधारमा नेपाल सरकारले उक्त रकम भुक्तानी गरेको हो ।

यो त भयो उपचारको हिसाव, त्यसबाहेक सिंगापुर जाने उक्त टोलीका ११ सदस्यको जहाज भाडा, टिएडिए, टिकट क्यान्सिलेशन चार्जसमेत गर्दा १ करोड १६ लाख ३७ हजार ७ सय ६४ अर्थबाट निकासा लिएर परराष्ट्रले भुक्तानी दिएको थियो ।

तत्कालिन परराष्ट्र सचिव शंकरदाश बैरागीले ०७६/४/१५ गते पठाएको प्रस्ताव मन्त्रिपरिषद्को बैठक संख्या २०/०७६ ले पास गर्दा भोलिपल्टै निर्णय नं. ४ (ख) मा ‘सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको सिलसिलामा अस्पतालमा लाग्ने बील बमोजिमको खर्च नेपाल सरकारले व्यहोर्ने’ भनिएको थियो तर तत्कालिन सरकारी प्रवक्ता गोकुल बाँस्कोटाले साउन १९ गते दुनियाँलाई ढाँट्दै भने– उपचार खर्च प्रधानमन्त्री स्वयंले निजी रुपमा तिर्नुहुन्छ । देशको सेवा गर्दागर्दै राजकीय ओहोदामा बस्नेले सुविधा उपभोग गर्न पाइन्छ तर सस्तो लोकप्रियताको लागि जनतालाई ढाँट्न पाइन्न, किनकि यसमा करदाताहरुको पैसा परेको हुन्छ । यसर्थ सुशासनले सार्वजनिक उत्तरदायित्व खोज्छ, पारदर्शिता खोज्छ ।

उहाँ पहिलोचोटि ०७६ साउन १८ देखि २७ सम्म सिंगापुरमा रहनुभयो । दोस्रोपटक भदौ ५ देखि २० गतेसम्म रहनुभयो । ती दुई भ्रमणका लागि मन्त्रिपरिषद्ले अनुमोदन गरेअनुसार एक करोड १६ लाख ३७ हजार सात सय ६४ रुपैयाँ र अर्को पटकको खर्च ८७ लाख ५८ हजार ३ सय ४० मागेको छ ।

कतिसम्म लापरबाही र कच्चापन भने टिकट सार्दा मात्रै पनि लाखौं रकममा देशको चुना लागेको छ । एउटा सानो उदाहरण हो, ३ जनाको बिजनेश क्लासको सिट सिल्कबाट थाइएयरमा सार्दा प्रतिव्यक्ति १२४५ का दरले ३७३५ डलर, ५ जनाको इकोनोमी क्लासको टिकट परिवर्तनबापत ९६५ का दरले ४८२५ अमेरिकी डलर, साउन २८ बाट ८ जना भोलिपल्टको मिति सारेर फर्कंदा ३७५ का दरले ३ हजार डलर ।

टिप्पणीहरू