बूढा बेइमान भएपछि यता बेहाल « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

बूढा बेइमान भएपछि यता बेहाल

प्रकाशित मिति :  १९ जेष्ठ २०७४, शुक्रबार १८:३९


शरीरमा ऊर्जा छउन्जेल चार तारा, रूख र कांग्रेस पार्टी भनेर हिँडे । आज त्यही पार्टीका एक नेताका कारण अपमानजनक ढंगले गलहत्याइमा परेपछि न्यायको खोजीमा भौँतारिनुपरेको छ । जुन पार्टीमा मेरा निष्ठा, त्याग र समर्पण छ, त्यही पार्टीका नेताविरुद्ध, मन्त्रीका कारण तिनका जीवनभर कहिले अड्डा, अदालत नधाएको मान्छे अदालतको ढोका ढक्ढक्याउँदै हिँड्नुपरेको छ । म दिलबहादुर (डिबी) गुरुङ । पुख्र्याैली घर इलाम । कांग्रेसनिकट नेपाल सांस्कृतिक कलाकर्मी संघको सदस्य हुँ । गीत, कविता लेख्नु मेरो कर्म । जीवनहरू यिनै शब्दसँग खेलेर हुर्किए ।

जीवनका ऊर्जाशील समय कांग्रेसमा रगत–पसिना बगाए । माग्दै गएको पनि होइन । मलाई चाहिएको पनि थिएन । तिनताक पार्टी सभापति तथा प्रधानमन्त्री हुनुहुन्थ्यो सुशील कोइराला । सायद मेरो पार्टीप्रतिको लगाव देखेर होला उहाँले नै आग्रह गर्नुभयो राष्ट्रिय आवास कम्पनी लिमिटेडमा महाप्रबन्धकको पद खाली छ सम्हाल्नु दिल भन्नुभयो । मन्त्री हुनुहुन्थ्यो नारायण खड्का । कहाँ म शब्द र अक्षरहरूसँग मितेरी लगाउँदै तिनकै गोडमेल गरी जीविकोपार्जन गर्दै यस्तै कर्ममा रमाएको मान्छे, हराइरहेको मान्छे । सभापतिज्यूबाटै यस्तो प्रस्ताव आएपछि हुन्छ भन्न पनि नसक्ने हुन्न भन्न पनि नसक्ने दोधारमा थिएँ । तर, पार्टी सभापतिको मन राख्न आफ्नो इच्छा नहुँदा नहुँदै महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न त्यहाँ गएँ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति ०७२ जेठ १४ गतेको निर्णयबमोजिम मलाई राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्ति गर्ने निर्णय भएको थिए । सोही जिम्मेवारी सम्हाली कम्पनीको हरेक समस्या झेले, नयाँ कम्पनी अगाडि बढाउन सकस थियो ।

ती समस्यासँग भिडे । कसरी हुन्छ कम्पनीको प्रगति उन्नति कम्पनीलाई प्रगतितिर लैजाँदै थिए । मेरो नियुक्ति हुँदा नारायण खड्का मन्त्री हुनुहुन्थ्यो । उहाँको समयमा त्यस्तो केही समस्या भएन । बीचमा एमाले माओवादी गठबन्धनको सरकार बन्यो । त्यो समयमा प्रधामनन्त्री केपी ओली आफैंले यो मन्त्रालय राख्नुभएको थियो । राज्यमन्त्री मञ्जु चौधरी । आफ्नो पार्टीभन्दा विपक्षको मातहतमा मन्त्रालय हुँदासमेत मलाई काम गर्न कुनै अवरोध सिर्जना भएन । निर्वाध रूपमा बिनाबाधा–अड्चन काम गर्दै थिएँ । केही गुनासा रहेनन् । बीचमा केपी ओली नेतृत्वको सरकारमा मन्त्री परिवर्तन भए । म कांग्रेस निकटको मन्त्रालयको कमान्ड सम्हाल्ने एमाले । त्यसो हुँदा पनि उनीसँग पनि केही गुनासा भएनन् । बीचमा सरकार ढल्यो, फेरि माओवादी–कांग्रेस गठबन्धन बन्यो । पहिला गगन थापा सहरी विकासमन्त्री बन्ने चर्चा थियो पछाडि अर्जुननरसिंह केसी सहकारी मन्त्री भए । आफ्नै पार्टीका मन्त्रीले मन्त्रालय सम्हाल्ने भएपछि खुसी थिएँ । कांग्रेस समर्थित नेताभन्दा पनि उहाँसँग मेरो दाजुभाइको जस्तो सम्बन्ध थियो । 
तर, बाहरि देखिएजस्तो सफेद रूप रहेनछ मन्त्रीज्यूको । एक्कासि मन्त्री अर्जुननरसिंह केसीले मलाई पटकपटक केही प्रगति भएन तपाईंको मात्रै भन्दै कचकच गरिरहनुहुन्थ्यो । प्रगति भएन भन्ने बहाना मात्र हुन्थ्यो तर ‘के प्रगति भएन ? के गर्नुप¥यो मन्त्रीज्यू’ भनी धेरैपटक बुझ्न चाहेँ । तर उहाँले यही हो भन्नुभएन । मुखले कसैले यही हो नभनेपछि कसको मनमा के चिज छ, कसलाई के थाहा ? मलाई पनि केसीको मनमा के चलिरहेको छ थाहा हुने कुरा भएन । तर, सदैव भेट्दा प्रगति भएन भन्न छाड्नुभएन । सदैव मन्त्रीज्यूको मुखराबिन्दबाट एउटै कुरा सुनेपछि के प्रगति भएको रहेनछ भनेर बुझ्न गोंगबुस्थित उहाँकै निवासमा गएँ । यो हालसालैको कुरा हो ।

त्यहाँ पुगेर ‘कस्तो प्रगति गर्नुप¥यो मन्त्रीज्यू ?’ बुझ्नेलाई इशारा काफी छ । उहाँले आर्थिक सहयोग गर्नुप¥यो भन्नुभयो । त्यो सहयोग पार्टीलाई गर्ने वा कसलाई ? उहाँले मलाई नै ल्याएर दिनुहोस् भन्नुभयो । अब यति भनिसकेपछि मेरो कार्यालयको प्रगति किन नभएको रहेछ भन्ने कुरा बुझ्न मलाई आइतवार कुरिरहनु परेन । 

 मन्त्रीज्यू मलाई भ्रष्टाचार गर्न उकास्दै हुनुहुन्थ्यो ठाडै । मलाई आर्थिक सहयोग गर्नुप¥यो भन्ने माग गर्नुभयो । मैले उहाँलाई दिने पैसा कहाँबाट ल्याउने ? मैले उहाँको इच्छा पूरा गर्न सकिनँ । किनकि अनियमितता गर्न मेरो नैतिकताले नदिने भएकाले मैले इन्कार गरेँ । किनकि मेरो आत्माले यस्तो कर्म गरेर खान मान्दैन । मेरा हातखुट्टा सग्ला छन्, बरु गिट्टी बालुवा गरेर बाँच्छु । म कलंकित भएर, बदनाम कमाएर बाँच्न चाहन्नँ । किनकि मेरो पनि परिवार छन् । जहान बच्चा छन् । म भ्रष्टाचारी बन्दा भोलि मेरो परिवारमाथि कंलकको टीका लगाएर हिँड्न मानिनँ, चाहिनँ । मैले आर्थिक सहयोग गर्न नसक्ने स्पस्टसँग जवाफ फर्काएँ । सायद यही कुरा मन्त्रीज्यूलाई चित्त बुझेन । 

 सायद यही रिसले होला बदला लिने झुटो निवेदन तयार पार्न लगाइयो । मन्त्रीलाई सघाउनेमा निस्किए सहरी विकास मन्त्रालयको सहसचिव रमेश सिंह । उनकै संयोजकत्वमा रातारात छानबिन समिति गठन भयो । छानबिन कार्य सुरु भयो । तर, त्यो समितिले छानबिनको क्रममा मेरो कुनै गल्ती कमीकमजोरी पत्ता लगाउन सकेन । त्यति हुँदा पनि मन्त्री र सचिवको दबाबमा संयोजकलाई तपाईंले कारबाही गर्ने खालको प्रतिवेदन तुरुन्त बुझाउनू भनी मौखिक आदेश दिएको कुरा निज सहसचिवले राज्यमन्त्रीज्यू र मलाई सुनाउनुभयो ।

सोहीअनुसार दबाब थेग्न नसकी उहाँले प्रतिवेदन पेस गर्नुभयो । त्यसपछि २४ घन्टाभित्र स्पष्टीकरण बुझाउनू भनी मन्त्रीस्तरको निर्णय गरी मलाई मानसिक दबाब दिन सुरु भयो । म कम्पनीकै कामकाजमा रहेको झापा पुगेको थिएँ । तारान्तार टेलिफोनबाट ताकेता गरेपछि काठमाडौं फर्किए झापा चन्द्रगढी विमानस्थलबाट । मेरो आफ्नो कुरा राखी मैले मन्त्रालयमा स्पष्टीकरण बुझाएँ । तर, न मेरो भनाइको अध्ययन÷अनुसन्धान नै गरियो । न त मलाई स्पष्टीकरण सोध्ने मौका नै दियो । हतार हतारमा पदमुक्त गर्ने प्रस्ताव ०७४ जेठ ८ गते मन्त्रिपरिषद्मा पेस गर्नुभएछ मन्त्रीज्यूले । आफ्नै कार्यकक्षमा बसेर काम गरिरहेको थिएँ जेठ १० गते बिहान ११ बजे पदमुक्त भएको पत्र थमाइयो । यति त स्पष्ट छ पत्र मन्त्री र सचिवको मिलेमतोमा षड्यन्त्रपूर्वक तयार पारिएको हो । किनभने मन्त्रिपरिषद्को बैठक ०७४ जेठ ८ गते राखिएको थियो तर मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्नुभन्दा एक दिनअगाडि बाटै लागू हुने गरी जेठ ७ गतेबाट पदमुक्त गरिएको व्यहोरा उल्लिखित भएको पत्र थमाइयो । न त यो ऐन यो नियमअनुसार पदमुक्त गरिएको भनेर खुलाइएको छ । मलाई थमाइएको पत्रमा त्यति मात्र व्यहोरासमेत स्पष्टसँग खुलाइएको छैन ।

एउटै आरोप लगाइएको छ, पहिला भवन भाडामा लिएकाथ्यौं पुल्चोकमा । सो कार्यालय भाडामा लिँदा महँगोमा लिएको आरोप लगाइयो । तर, भाडा लिँदा मूल्यांकन निर्धारण गरेर लिएको हो । मलाई यसरी बदनामीपूर्वक गलहत्याउनु पनि पर्दैनथ्यो । बोलाएर राम्रैसँग राजीनामा गर भनेको भए छाडिदिन्थे । म सुशील दाजुको मन राख्नका लागि मात्र सो संस्थामा गएको हुँ । त्यो माथि कहिले देउवा कांग्रेस, कहिले कोइराला कांग्रेस बन्दै हिँड्ने मान्छे पनि होइन । म केवल कांग्रेस हुँ । देउवा, कोइराला क्याम्प बदल्दै हिँड्न पनि मैले जानिनँ हुँला ।

यो कस्तो देश हो ? हामी कस्ता देशका नागरिक हौं ? के मैले घुस नखानु अनि मन्त्रीलाई घुस नदिनु अपराध गरेको हुँ भने सजाय भोग्न तयार छु । तर, म कसम खाएर भन्छु बरु, गिट्टी, बालुवा बोकेर ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्छु तर म भ्रष्टाचार गरी मुलुकमा कलंकित हुन चाहन्न । म आफू रोएर अरूलाई हँसाउने कुरा पनि त हुँदैन । मेरो स्पष्ट अडान छ अन्याय सहदिनँ र अन्याय कसैलाई गर्दिनँ पनि । भन्छन् नि, अन्याय गर्नेभन्दा अन्याय सहनु अपराध हो । मन्त्रीले ममाथि अपराध गरे । म अहिले सोही अपराधविरुद्ध लड्दै छु । अन्यायको विरोधमा सधैं लडिरहेको छु । मसँग अगाडि जाने बाटो भनेको सम्मानित अदालतको ढोका ढकढक्याउन पुगेको छु । हेरांै, अदालतबाट कस्तो आदेश आउँछ । न्यायालयले आफूलाई न्याय दिने विश्वास छ । यस्तै, मन्त्रीकै आचारण घुसखोरी भएकाले राजनीति र शासन प्रणालीमा सुधार आउन नसकेको हो । मलाई हटाएर सो स्थानमा उनकै जिल्लावासी गोकर्ण सापकोटालाई नियुक्ति गरिएको भन्नेसम्म सुनेको छु । 

  • दिलबहादुर (डिबी) गुरुङ, निलम्बित महाप्रबन्धक, राष्ट्रिय आवास कम्पनी लिमिटेड


प्रतिक्रिया दिनुहोस !