हाकिम बिक्दा हबद्वारा हैरानी

दीपकराज गिरी, दीपाश्री निरौलादेखि सुवास कार्की वेलासे हुँदै जितु नेपालसम्म । कुन कलाकारलाई नहोला मिडिया हबका कारण प्रताडनामा नपरेको ? अन्ततः कलाकारलाई पैसा नदिएर श्रम शोषण गरिरहेका मिडिया हबको एक जना साहुजीलाई कलाकारको आँसु लागेको छ ।
कलाकारको श्रममा तर मारेर लाखौं रकम नदिँदै फोकटमा काम गराउँदै आएका सोम धिताल अन्ततः मिडिया हबकै पार्टनरबाट घोक्र्याइएका छन् ।

कलाकारसँग पैसा उठाएर खाएको, मिडिया हबलाई बदनाम गराएको आरोप लगाउँदै एनएनएस क्रियसनसमेत चलाउँदै आएका सुदीप थापा र प्रिज्मा एड एजेन्सीवाला रञ्जित आचार्य (यी मिडिया हबका पार्टनरहरू)ले सोमलाई मिडिया हबबाट दुई साताअगाडि घोक्र्याएर सडकमा पु¥याइदिएका छन् । यता, मिडिया हबमा झन्डै तीन करोडभन्दा बढी रकम फसाइरहेको सोमलाई यसरी अपमानजनक ढंगले गलहत्याइएपछि उनी भने नयाँ एड एजेन्सी खोल्छु भन्दै हिँड्न थालेका छन् । 

यता, आन्तरिक कलको मारमा परेको मिडिया हबलाई जोगाउन नेपाल टेलिभिजनका केही टाउके नै कम्मर कसेर लागेका छन् । केही महिनाअघिसम्म नेपाल टेलिभिजनलाई सिरियल तथा विज्ञापन बजाएबापत तिर्नुपर्ने झन्डै सात करोड बढी रकम नतिरेको कारण देखाउँदै कालोसूचीमा परेको मिडिया हबले पुनः सिरियल देखाउन पाउने भयो । धरौटी राखेको पाँच लाख क्रस भएर सात लाख नाघिसक्दासमेत टेलिभिजनका भ्रष्ट हाकिमहरूको मिलेमतोमा पुनः मिडिया हबले नै टेलिसिरियल देखाउने अनुमति पायो ।

रातारात नेपाल टेलिभिजनको व्यवस्थापन र मिडिया हबबीच सम्झौता पनि भयो । सोही सम्झौताअनुसार उसले कलाकर्मीसँग उल्टै पैसा असुल्दै मेरी बास्सै, ब्रेक फेल, भद्रगोललगायत टेलिसिरियल प्रसारण गर्न थाल्यो । यसरी सञ्चारमन्त्रीदेखि टेलिभिजनका हाकिमलाई समेत प्रभावमा पारेर मिडिया हब पुनः प्रसारणमा गयो । तर, त्यसपछाडिको सम्झौता कार्यान्वयनमा टेलिभिजन व्यवस्थापन बोर्ड कडारूपमा प्रस्तुत हुनै सकेन । केही हजारको प्रभावमा टेलिभिजनका हाकिम बिकेपछि राज्यलाई तिर्नुपर्ने रकम छल्न पाएकोमा मिडिया हबका साहुजी मख्ख हुने नै भए । यसरी राज्यको करोडौं रकम राजस्वमारा मिडिया हब भित्रभित्रै खोक्रो बन्दै गएको मिडिया हबका कर्मचारी बताउँछन् ।

टिप्पणीहरू