​बैठकबाहिर टिकटको बबाल

गौर नगरपालिका मेयरमा एमालेबाट शम्भु साहको एकल सिफारिस भएको छ । मधेसी दलको चर्काे विरोधका बीच साहको नाम सिफारिस भएको हो । ०२८ पुस ७ गते रौतहट सदरमुकाम गौरमा जन्मिएका साह पछिल्लो समय एमालेमा प्रवेश गरेका हुन् । व्यापारिक पृष्ठभूमि भएका उनी लामो समयदेखि कुनै पनि राजनीतिक दलमा सक्रिय थिएनन् । 

मधेसकेन्द्रित दलले गौरको मेयरमा अरुलाई जित्न नदिने तयारी गरेका छन् । तर, आफ्नो सामाजिक छविका कारण मेयर जितेर देखाउने साहको भनाइ छ । गौर नाला, सडक, ढल निकास, कृषिलगायत क्षेत्रमा पछि परेको बताउने उनले आफूले जितेपछि सबै समस्या हल गर्ने बताए । व्यावसायिक र सामाजिक क्षेत्रमा सक्रिय उनी सामुदायिक रेडियो राजदेवीका अध्यक्ष हुन् भने जुद्ध माध्यमिक विद्यालय गौरका पूर्वअध्यक्षसमेत हुन् । मनमोहन मेमोरियल अस्पताल काठमाडौंका सञ्चालक समितिका सदस्यसमेत रहेका उनले जिल्ला सदरमुकाम गौरमा युवाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै राजदेवी फिटनेस सेन्टरसमेत सञ्चालनमा ल्याएका छन् ।

राजनीतिमा उतिसाह्रो सक्रिय नभए पनि व्यापारी साहले गौरको हजमुमिनियामा सुविधासम्पन्न विद्यालय सञ्चालनमा ल्याउने उद्देश्यले काम सुरु गरिसकेका छन् । गरिब, विपन्नका छोराछोरीका लागि कम शुल्कमा निजी स्तरबाट पठनपाठन गराउने उद्देश्यले साहले सञ्चालनमा ल्याउन लागेको सो विद्यालयमा चर्काे गर्मीको समयमा विद्यार्थीले स्विमिङ पुलमा नुहाउन पाउनेछन् । जिल्लाका १३ नगरपालिका र दुई गाउँपालिकामा एमालेले उम्मेदवार चयन गर्न नसकेको बेलामा गौर नगरपालिकामा शम्भु साहको नाम निर्विरोध जिल्ला कमिटीमा सिफारिस भएको हो । जिल्ला सदरमुकाम गौरमा अहिलेसम्म एमालेका साहबाहेक अरू पार्टीले मेयरको नाम सिफारिस गर्न सकेका छैनन् । 

तर, थारू र पहाडियाको बाहुल्य रहेको चन्द्रपुर नगरमा एमालेबाट मेयरको उम्मेदवार छान्ने विषयमा विवाद भएको छ । चन्द्रपुर नगर कमिटीले उद्धव रेग्मी, बाबुराम दाहाल र शिव आचार्यको नाम जिल्ला कमिटीमा पठाएको भए पनि जिल्ला कमिटीले बाबुराम दाहालको एकल नाम प्रदेश कमिटीमा पठाएपछि बर्दिवासमा जारी प्रदेश कमिटीकै बैठकमा उम्मेदवार छान्ने विषयमा विवाद भएको छ । बाबुराम दाहाल पक्ष र उद्धव रेग्मी पक्ष समाचार तयार पार्दासम्म बर्दिवासमै गएर प्रदेश कमिटीको बैठक स्थलबाहिर आ–आफ्ना मान्छेलाई मेयरको टिकट दिनुपर्ने बताउँदै आएका छन् । 

– अशोक पहाडी

टिप्पणीहरू