ओलीदेखि निधीसम्मले किन बोके हिन्दूत्व ?

ओलीदेखि निधीसम्मले किन बोके हिन्दूत्व ?

२०७२ सालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र मानेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका मुख्य राजनीतिक दलहरुले संस्थागत रुपमा धर्मनिरपेक्षता स्वीकार पनि गरेका छन् । तर,सरकारको नेतृत्वसमेत गरिरहेको संसद्को दोस्रो ठूलो दल नेपाली काँग्रेसमा महाधिवेशन नजिकिंदै गर्दा धर्मनिरपेक्षताको बहस शुरु भएको छ ।

आसन्न १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा कार्यक्रममा उपसभापति बिमलेन्द्र निधिले धर्मगुरुहरुको भेला गरेपछि काँग्रेसमा विगतदेखि नै चलिरहेको धर्मनिरपेक्षताको बहस गर्माएको हो । हुन त नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षताबारे बहस अहिले मात्र आएको होइन । त्यहाँभित्र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउने ठूलै समूह छ, भनिन्छ । त्यसैले उम्मेदवारी घोषणामा धर्म गुरुहरु भेला गरेर निधिले महाधिवेशनमा हिन्दुधर्मको पक्षमा उभिएका प्रतिनिधिको मत प्रभावित पार्न खोजेको अनुमान गरिएको छ।

एक महिनासम्म काठमाडौँको बानेश्वरमा लिएको बैङ्क्वेटको ब्यवस्थापन कांग्रेसका युवा नेता उज्जवल थापाले गर्ने बताइएको छ । थापा सोही बैङ्क्वेटका मालिकसमेत हुन् ।

दिउँसो उम्मेदवारी घोषणा गर्नुपूर्व निधिले आज बिहान ९ बजे विभिन्न धर्मका धर्म गुरुहरुसँग भेटघाट गरेका थिए । त्यसपछि बानेश्वरस्थित बानेश्वर बैङ्कटमा सम्पर्क कार्यालय स्थापना गरेका उनले सीमित संख्यामा पार्टीका सांसद,कार्यकर्तालाई राखेर उम्मेदवारी घोषणा गरेका हुन् ।

निकै कम केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको भेलामा २ नम्बर प्रदेशका नेता-कार्यकर्ताको भने बाक्लो उपस्थिति थियो । भेलामा ४ देखि ५ जना जिल्ला सभापतिले निधीको समर्थनमा भाषण पनि गरेका थिए ।

“निकै कम केन्द्रीय सदस्यहको उपस्थिति रहेको भेलामा २ नम्बर प्रदेशका नेता-कार्यकर्ताको भने बाक्लो उपस्थिति थियो । भेलामा ४ देखि ५ जना जिल्ला सभापतिले निधीको समर्थनमा भाषण पनि गरेका थिए । “

भेलालाई सम्बोधन गर्दै निधिले धर्मनिपरेक्षताबारे बहस थाल्ने संकेत गरे । आवश्यक पर्दा संविधान संशोधन गर्न सकिने बताउँदै उनले महाधिवेशनमा धर्मनिरपेक्षताको विकल्पमा छलफल हुनसक्ने संकेत दिएका हुन् । यद्यपि कांग्रेसका नेता-कार्यकर्ताले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताप्रति देखाएको वितृष्णाप्रति इंगित गर्दै उनले संविधानको स्वामित्व र अपनत्व लिनुपर्नेमा भने जोड दिएका छन् ।

त्यसो त,निधिको असन्तुष्टिलाई महाधिवेशन जित्ने रणनीतिका रुपमा विश्लेषण गरिएको छ । किनभने निधि नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट नेताका रुपमा चिनिन्थे । देउवाको विश्वासपात्रका रुपमा निधिले अघिल्लो महाधिवेशनमा उपसभापति जितेका थिए । देउवाले अर्को एक कार्यकाल पनि सभापतिमा इच्च्छा देखाएपछि भाँडिएका निधि आफैँ सभापतिको दौडमा होमिएका छन् । १४ औँ महाधिवेशनमा आफूलाई सभापति बनाउने बचनबाट देउवा पछि हटेको निधिको गुनासो छ ।

“उम्मेदवारी घोषणामा धर्म गुरुहरु भेला गरेर निधिले महाधिवेशनमा हिन्दुधर्मको पक्षमा उभिएका प्रतिनिधिको मत प्रभावित पार्न खोजेको अनुमान गरिएको छ। “

आजको भेलामा पनि यसअघि बूढानिलकण्ठ निकट भनेर चिनिएका नेताहरुले देउवाविरुध्द भाषण गरेका थिए । कर्ण मल्लले देउवामाथि कटाक्ष गर्दै सत्ता र शक्तिका लागि मरिहत्ते गर्ने गरेको आरोप लगाए । देउवाको नाम नलिई उनले शक्तिको सामिप्यमा टाँसिएर गरिएको राजनीतिले काँग्रेसको हित नगर्ने भन्दै निधिको पक्षमा लाग्न कार्यकर्तालाई आव्हान गरे । उनको भाषणमा देउवासँगको टकराव र असन्तुष्टि प्रष्टै देखिन्थ्यो ।

देउवा निकट भनेर चिनिएकी सुदूरपश्चिमेली नेतृ सुशीला स्वाँरले पनि निधीको समर्थन गर्दै कांग्रेसले मधेसबाट नेतृत्व पाउनु सुखद कुरा भएको बताइन् । ब्यानरमा पनि ‘हिमाल,पहाड, तराई,मधेश सबैको देश,सबैको कांग्रेस’ भन्ने नारा लेखिएको थियो । केन्द्रीय सदस्यहरुको कम उपस्थितिबारे सोधिएको प्रश्नमा कांग्रेस सांसद मिनाक्षी झाले सभापति देउवाले कार्यकर्ता आउन रोक लगाएको आरोप लगाइन् ।

टिप्पणीहरू