झलनाथले सोध्नुभयो– तपाईं के गर्नुहुन्छ ?

झलनाथले सोध्नुभयो– तपाईं के गर्नुहुन्छ ?

– अधिवक्ता प्रेमराज सिलवाल

केही समयपहिले एउटा छुट्टै ‘एकेडेमिक’ प्रसंगमा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गर्नु थियो । घरको ढोकाबाट छिर्नेबित्तिकै उहाँले सोध्नुभयो, ‘तपाईं के काम गर्नुहुन्छ ?’ मैले आफू ‘कानुन र राजनीतिशास्त्र अध्ययन गर्दै अध्ययन–अनुसन्धान, लेखन तथा निजी पेशामा छु’ भन्ने जवाफ दिएँ । त्यसपछि हार्दिकतापूर्वक आफ्नो बैठकमा लग्नुभयो । अनि उद्देश्यअनुसार केही ‘एकेडेमिक’ सन्दर्भको कुराकानी भयो ।

उहाँको पहिलो सवाल, ‘तपाईं के काम गर्नुहुन्छ ?’ भित्र धेरै विषय लुकेको अनुभूति गरेँ । सम्भवतः मानिस नेता वा शासककोमा जागिरको प्रस्ताव लिएर जान्छन् । सरुवा–बढुवाको प्रस्ताव राख्दछन् । ठेक्का, पेशा–व्यापार मिलाइदिनुप¥यो भन्छन् । चन्दा–सहयोग माग्छन् । र, यस्तै यस्तै । त्यस्तै कुनै आशाले केही माग्न आएको हुनुपर्छ भन्ने सोच तथा मनोविज्ञानले त्यतिबेला मलाई त्यस्तो प्रश्न राख्नुभएको हुनुपर्छ । तर, त्यस्तो कुनै कुरै थिएन । मेरो कुरा सुनेपछि बडो हार्दिकतासहित निकटबाट कुराकानी भयो । त्यो उहाँ बिरामी पर्नुअघि नेकपा बच्दैको कुरा थियो ।

एमाले फुटिसकेपछि र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ‘अब समाजवाद ल्याउने’ भन्दै निर्वाचन आयोग पुगिसकेपछि एकजना नेताले भेटका लागि बोलाउनुभयो । उहाँ र म लामो समयदेखि चिनजान तथा निकट भएका मान्छे । एउटा कार्यालयमा चियानास्ता खाइसकेपछि उहाँले मलाई उही पहिले झलनाथ खनालले जस्तो सवाल सोध्नुभयो । ‘तपाईं आजकल के गर्दै हुनुहुन्छ ?’ मैले फेरि उस्तै जे हो त्यही जवाफ दिएँ । उहाँको प्रश्नमा भने अर्कै भाव, नियत र सोच झल्कन्थ्यो । उहाँ कुनै ‘मालदार’ पेशा वा ‘जमेको पेशाकर्मी’ को खोजीमा भएजस्तै देखिन्थ्यो । उहाँले फेरि भनिहाल्नुभयो पनि– आजकल आर्थिकले धान्नै कठिन पो पर्न थाल्यो । कुरो बुझिहालियो ।

अनि फेरि यसै साता एउटा पार्टीमा पहिले सँगै काम गरेको साथीको फोन आयो । फेरि प्रश्न उही । ‘कमरेड के गर्दै हुनुहुन्छ ?’ मेरो जवाफ फेरि पनि उही । साथीले आफ्नो प्रस्ताव राखिहाले, ‘हामीले एउटा समूह बनाएका छौं । महिनाको निश्चित रकम उठाउने र प्रोजेक्टमा लगानी गर्ने, राम्रो नाफा हुन्छ । तपाईंजस्तो साथी छुट्नुहुन्न ।’ उनले अगाडि भने, ‘समूहमा म तपाईंको नाम राखिदिन्छु ।’ म हाँसे । निरन्तर एउटै जस्तो प्रश्नको पछाडि भिन्दाभिन्दै गुह्य र स्वार्थ लुक्ने रहेछ ।

साथीको सो प्रस्तावले रनभुल्लमा परेँ । शहरबजारमा कस्ता–कस्ता मान्छेहरू बस्दा रहेछन् र आफ्नो आर्थिक व्यवहार सञ्चालन गर्दा रहेछन् । न कुनै विधि–विधान, न दर्ता, न कतैको अनुमति । बस् हामी मिल्यौं र समूह बनाएर पैसा उठायौं । हाकाहाकी भन्दै थिए साथीले । दिमागै रननन भयो मेरो । आफूखुशी समूह भन्ने र महिनाको लाखौं उठाउने ? न कुनै बिल । न कुनै रसिद । बस् साथीभाइ, आफन्त, जाति, क्षेत्र, भूगोल, धर्म, पार्टी आदिका नाम र नातामा पैसा उठाउने धन्दा । पहिले ह्वात्तै बढेको थियो–ढकुटी र ढुकुटीकै जस्ता अन्य विभिन्न नाममा बटुल्ने । समाजमा भित्रभित्रै नराम्रोसँग यस खाले सामाजिक तथा आर्थिक अपराधले कतिलाई रूवाएको होला ? अलिअलि बुझेको र कानुन क्षेत्रको मानिसलाई त यस्ता प्रस्ताव आउँछन् भने सामान्य नागरिकलाई ठगहरूले के भन्लान् ?

यो श्रृंखला यतिमै कहाँ रोकियो र ? फेरि हिजो बिहान एउटा नाम चलेको लेखक र कविको फोन आयो । उनले पनि सोधे, ‘के गर्दै हुनुहुन्छ ?’ मैले केही जवाफ नदि“दै उनले थपे, ‘मलाई अलिकति कानुनी सल्लाह र सहयोग चाहियो । मैले एक जनालाई ब्याज दिन्छु भनी केही पैसा सापट दिएको थिएँ । उसले एक वर्षपछि ब्याज भनेर एभरेष्ट बैंक न्युरोड शाखाको चेक दिएको थियो । त्यो चेकमा न ब्यालेन्स छ न उसले फोन नै रिसिभ गर्छ । कसरी मैले पैसा उठाउने होला ?’

किन र कसरी शहर बजारमा यस्ता सामाजिक–आर्थिक अपराध बढे होलान् ? भन्ने विभिन्न तर्क र वितर्क मनमस्तिष्कमा खेल्यो । सायद यो कोरोनाको कहरबाट सिर्जित आर्थिक–सामाजिक समस्याको कारण पनि मानिस यसखाले आर्थिक अनियमिततासँग जोडिँदै छन् । र, अनेक तर्क, कुतर्क–वितर्क एवं बहानाबाजीले फसाउँदै छन् । निरन्तरको सवाल ‘तपाईं के गर्नुहुन्छ ?’ मा अनेकौं अपेक्षा र स्वार्थ लुकेको हुने रहेछ । ‘तपाईं के गर्नुहुन्छ ?’ प्रश्नको उत्तर दिन बडो कठिन हुन थाल्यो । मान्छेहरू के सोच्दारहेछन् भने ‘यसले के पेशा, क्षेत्र वा कार्यालयमा रहेको छ सोहीबमोजिमको ‘जाल हान्नुपर्छ’ ।

नेताले तपाईं के गर्नुहुन्छ ? भन्यो भने पनि धेरै अर्थ लाग्ने रहेछ । उसले पनि के गरेको छ सोहीबमोजिम र हैसियतको सहयोग माग्ने–सोच्ने । अर्काे केहीेले चाहिँ आफूसँग पो केही माग्न आयो कि भन्ने सोच्ने । अब अहिलेको एमाले र तत्कालीन एमालेका नेताले ‘तपाईं के गर्दै हुनुहुन्छ ?’ भने भने फेरि त्यसको अर्कै अर्थ पनि लाग्ने अवस्था बन्यो । अर्थात् आफूतर्फ आऊ भन्ने हुने भो । एकथरीलाई अब ‘समाजवादमा जाने सोच पलाएको’ देखिन्छ । नेता विशेषको ‘तपाईं के गर्नुहुन्छ’ भन्ने प्रश्नमा उसले मेरो समूहमा आउनू भन्ने चाहना पनि राख्ने गरेको प्रष्टै देख्न थालियो । हल्ला सुनिँदै छ– ‘ठूलो पार्टी बनाउने ।’ अर्काेतर्फबाट फेरि प्रतिहल्ला आउँछ–‘बल्ल पार्टी बन्ने भयो ।’

केही समय फेरि पुराना मान्छे र कमरेडहरूले सम्झनेछन् र भन्नेछन्–‘तपाईं के गर्दै हुनुहुन्छ ? कता हुनुहुन्छ ? ‘आउनुहोस् ।’ भन्नेछन्, ‘अब नयाँ ढंगले पार्टी सञ्चालन गर्ने हो ।’ हुन पनि हो जस्तै लाग्न थाल्यो । यो ‘समाजवाद’ भन्ने ‘जिनिस’ वा ‘मन्त्र’ पनि कस्तो भने जबजब आफूलाई संकट पर्छ, अनि त्यो शब्दजाल ‘झ्याप्पै हान्न’ मिल्ने । ‘समाजवादमा जाने यात्रा शुरु भयो..।’ वा, क्या गजब । ‘खुट्टी हेर्दै समाजवादमा जाला जस्तो’ देखिँदैन ?

केही मान्छे फेरि भ्रममा पर्छन् । हो कि क्या हो भन्ठान्छन् । र, झण्डा बोकेर पछि कुद्छन् । हात लाग्यो शून्य । फेरि उही खेल शुरु हुन्छ । कमरेड र साथीको नाममा अनि पार्टी र समाजवादको नाममा अनेकथरी धन्दा । धन्दाबाजी । नारा उही । प्रवृत्ति उही । केवल पात्र फरक । समय फरक । गर्ने उही, भन्ने उही । ‘हामी एउटै पार्टीका सदस्य हौं ।’ ‘हामीले एउटा समूह बनाएका छौं ।’ ‘समूहले निश्चित सदस्यबाट निश्चित रकम उठाउने र पछि नाफा बाँड्ने ।’ फेरि अर्काे आउँछ र भन्छ, ‘साथी, तपाईं के गर्दै हुनुहुन्छ ?’

एमालेका तत्कालीन नेता कमरेड झलनाथ खनालले त्यतिबेला भनेको ‘तपाईं के गर्नुहुन्छ ?’ र अहिले ‘समाजवादमा जाने’ नारा लगाउने कुनै नेताले सोधेको ‘तपाईं के गर्नुहुन्छ ?’ ‘भेटौं न कमरेड ।’ शाब्दिक हिसाबले प्रश्न त उही छ । तर, दुवैको नियत, सोच, चिन्तन र विचार भने भिन्न छ । आजभोलि कुनै नेताले ‘तपाईं के गर्दै हुनुहुन्छ ?’ भन्यो भने त्यसको धेरै खाले अर्थ लाग्ने भयो । विचार गरेर मात्र उत्तर दिनुपर्ने समय आयो । समय बडो कठिन छ । एकथरी ‘समाजवादमा जान सहयोगी यात्री’ खोज्दै छन् । र साथीभाइलाई फोन गर्दै भन्न थालिसकेका छन्, ‘साथी, तपाईं के गर्दै हुनुहुन्छ ?’ ‘कमरेड भेटौं न ।’ मलाई त अब फेरि झलनाथ खनाल दिल्लीबाट फर्केपछि पुनः सोध्नुहुन्छ कि जस्तो पो लाग्न थाल्यो, ‘प्रेमजी, तपाईं के गर्दै हुनुहुन्छ ?’

टिप्पणीहरू