एमाले फुटाउनमा हात चाहिँ कसको त !

एमाले फुटाउनमा हात चाहिँ कसको त !

नेपालीमा एउटा उखान छ ‘नाच्न जान्दैन,आँगन टेढो’ । अन्यत्रजस्तै राजनीतिमा पनि यो उखान मेल खान्छ । नेताहरु आपसमा विवाद गर्छन्,एकले अर्कालाई धारे हात लगाएर तथानाम भन्छन् अनि पार्टीलाई दुई चिरा बनाउँछन् । तर, फुटको दोष चैं अरुलाई दिन्छन् । त्यसरी अरुलाई दोष दिनेमा कम्युनिष्टहरु अझै अगाडि छन् ।

हालैका दिनमा नेकपा एमालेको विभाजनलाई पनि त्यसैगरी प्रचार गरिएको छ । एमालेभित्रको झण्डै ५ महिना लामो अन्तरकलह बिष्फोट हुँदा अस्ति माधवकुमार नेपालले विधिवत रुपमा नयाँ पार्टी दर्ता गराउनुभयो । एमालेभित्रैको आन्तरिक कारणले अन्तरकलह बढेको देख्नेहरु अहिले एमाले फुटाउनमा ‘फलानाको हात छ’ भन्दै प्रचारमा रमाइरहेका छन् ।

मार्क्सवादले भन्छ,कुनै पनि वस्तुको विकास र विनाश हुनुमा त्यसमा अन्तर्निहित गुण प्रधान हुन्छ भने बाहिरी परिस्थिति सहायक कारण हुन्छ । मार्क्सवाद भन्ने नेपालका कम्युनिष्टहरु चैं ठ्याक्कै यसको विपरित छन् । उनीहरुका अनुसार कुनैपनि बस्तुको विकास र विनास हुनुमा बाहिरी परिस्थिति प्रधान कारण हो भने वस्तुको अन्तर्निहित गुण चैं सहायक हो । त्यसैले त उनीहरु आफ्नो पार्टीको अन्तरसंघर्ष र त्यसले उत्पन्न गर्ने परिस्थितिमा बाहिरी कारणलाई मुख्य देख्ने गर्छन् ।

एमाले र माओवादी मिलेर नेकपा गठन हुँदा पनि उत्तरी छिमेकीलाई चर्चामा ल्याइएको थियो । त्यो पार्टी फुट्दा दक्षिणी छिमेकीमाथि आरोप लगाइयो ।

केही अनलाइनले एमाले फुटाउन चन्द्र ढकालको हात रहेको समाचार लेखे । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका कारण एमाले विभाजनमा पुगेको आरोप लगाइन् । १० बुँदेमा टेकेर एमालेमै अडिएका घनश्याम भुसालहरु यो बिभाजनमा युरोपियन युनियनको हात देख्छन् तर माधव नेपाल भन्छन्,पार्टी विभाजन हुनुमा ओली जिम्मेवार छन् । एमाले फुट्नुमा माधव नेपालको मात्रै हात रहेको ओलीको पनि जिकिर छ ।

माधव नेपालहरु चन्द्र ढकालको रिसोर्टमा बसेकै कारण उनले पार्टी फुटाइदिएको हो भने त्यसको दुई दिनअघि नै त्यहीँ पुगेर केपी ओलीले कविता लेख्दा किन नफुटेको हो ! कि ओली चन्द्रागिरी पुगेका कारण माधव समूह फुटेको हो ?

तत्कालीन नेकपाको विवादमा निर्वाचन आयोग अनिर्णित बनेकाले अहिले एमाले विभाजनमा सघाउ पुगेको भन्नेहरुले दलको परिभाषा नबुझेको हो कि ? समान विचार, सिद्धान्त,नीति,कार्यक्रम, राजनीतिक लक्ष्यका आधारमा निर्मित संगठन राजनीतिक दल हो । जब विचार,उद्धेश्य र नीति कार्यक्रममै फरक भएकाले पार्टी फुट्यो भनिन्छ भने प्राविधिक कुरालाई किन दोष दिनु ! राजनीति नमिल्दासम्म कानूनी बाध्यताले मात्रै दल विभाजन रोक्न सक्दैन भन्ने सर्वमान्य कुरा बुझ्दाबुझ्दै निर्वाचन आयोगलाई किन विवादमा मुछ्नु ?

“माधव नेपालहरु चन्द्र ढकालको रिसोर्टमा बसेकै कारण उनले पार्टी फुटाइदिएको हो भने त्यसको दुई दिनअघि नै त्यहीँ पुगेर केपी ओलीले कविता लेख्दा किन नफुटेको हो ! कि ओली चन्द्रागिरी पुगेका कारण माधव समूह फुटेको हो ?”

कोही चैं एमाले फुट्नुमा विदेशीको भूमिकालाई अन्दाज लगाइरहेका छन् । कोही अमूर्त ढंगले प्रतिक्रियावादीको हात देखिरहेका छन् । कोही प्रचण्डका कारण एमाले फुटेको दाबी गरिरहेका छन् । हुन त,कम्युनिष्टहरु यस्ता आरोप लगाउनमा अग्रगामी नै छन् । फुट्दा होस् या जुट्दा विदेशी प्रभावको चर्चा गरिहाल्छन् । एमाले र माओवादी मिलेर नेकपा गठन हुँदा पनि उत्तरी छिमेकीलाई चर्चामा ल्याइएको थियो । त्यो पार्टी फुट्दा दक्षिणी छिमेकीमाथि आरोप लगाइयो ।

मार्क्सवादले पार्टी फुट्नु र जुट्नुमा आन्तरिक कारणलाई नै प्रधान मानेको छ । त्यसैले पार्टीहरुमा हुने अन्तरसंघर्ष र त्यसबाट उत्पन्न परिणाममा पनि आन्तरिक कारण नै प्रधान हुनुपर्ने हो । तर, प्रधान कुरालाई गौण र गौणलाई प्रधान बनाएर अहिले एमाले विभाजनमा विभिन्न पात्र र प्रवृत्तिलाई दोष थोपर्ने काम भैरहेको छ ।

यदि एमाले विभाजनमा अमुक पात्रको हात छ भने त्यो केपी ओली,माधव नेपाललाई उत्प्रेरित गर्ने १० भाइ र केपी ओलीलाई उचालेर उग्र बनाउनेहरु नै दोषी होलान् । दोषी ती पनि होलान्, जसले पार्टीको अन्तरसंघर्षमा आफूलाई सही भूमिकामा खरो उतार्न सकेनन् । नेताको ढाकछोपमा उत्रने कार्यकर्ता पंक्ति पनि उत्तिकै दोषी होला । तर, साइनो न सम्बन्धका मान्छेलाई पार्टी फुटको दोष लगाएर ‘पानी माथिको ओभानो’ बन्नु चैं आफ्ना कमजोरी लुकाउने प्रयास हो । हैन भने एमाले फुटाउन क-कसको हात छ सप्रमाण सार्वजनिक गर्ने हिम्मत छ ?

टिप्पणीहरू